मेचीनगर । झापामा थप १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा.संगीता मिश्राले एकैदिन झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइन् ।
संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरादह नगरपालिकाका २ जना छन् ।
गौरादह–५ र ७ को सीमानामा रहेको जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
उनीहरु ३ दिन अघिमात्र भारतको मुम्वईबाट सीमानाका हुँदै मेचीपुल आएका थिए ।
मेचीपुल आएका उनीहरुलाई गौरादह नगरपालिकाले आफ्नै वडाको क्वारेन्टाइनमा राख्ने गरी लगेको थियो ।
संक्रमित दुवै जना वडा नम्बर ९ का स्थानीयबासी हुन् । उनीहरुलाई बुधबारै कोशी अस्पताल विराटनगर लगिएको गौरादहका मेयर रोहितकुमार शाहले जानकारी दिए ।
त्यस्तै कचनकवलका १५ जना पुरुष पनि भारतको मुम्वईबाट आएर पाठामारी र पथरियाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई पनि विराटनगर लाने तयारी गरिएको छ ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।