झापामा पहिलोपटक जामुनखाडीमा कोशेली घर

  प्रकाशित मिति
३ श्रावण २०७७, शनिबार २०:५७


भद्रपुर, ३ साउन । झापामा पहिलोपटक कनकाई नगरपालिकामा रहेको जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिले कोसेली घर निर्माण गरेको छ ।

पर्यापर्यटनको क्षेत्रमा प्रदेश नम्बर १ मै अग्रणी स्थानमा रहेको वनले स्थानीय क्षेत्रमा घरेलु तथा साना उद्यमीले हातले उत्पादन गरेका वस्तुलाई प्रवद्र्धन गर्ने उद्देश्यले कोसेली घरको निर्माण गरेको हो ।

कोसेली घरमा जिल्लामा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका क्रिष्टलका माला, हातले बुनेका झोला, डोको, डालो, डाकीलगायतका विभिन्न घरेलु उत्पादन राखिने जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिकी सचिव मनिता राईले बताइन् ।

उनका अनुसार सो कोसेली घर निर्माणका लागि कनकाई नगरपालिकाले रु. १० लाख, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु. पाँच लाख र वनले रु. एक लाख ५० हजार लगानी गरेको छ ।

लकडाउनकै अवधिमा निर्माण गरिएको कोसेली घर जिल्लामै पहिलो भएको दाबी गर्दै उनले भनिन्, ‘सहज अवस्था हुँदा यहाँ दैनिक पाँच सयदेखि एक हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । उनीहरुलाई यहाँबाट कोसेलीको रुपमा स्थानीय उत्पादन सस्तो मूल्यमा उपलब्ध गराइन्छ ।’

कोसेली घरको निर्माणसँगै स्थानीयस्तरमा रहेका उद्यमीहरुको जीवनस्तरमा समेत परिवर्तन आउने उनको भनाई छ । कोेसेली घर सञ्चालनको लागि कार्यविधि समेत बनाइसकिएको छ । कोभिड १९ को महामारीबाट जनजीवन सहज अवस्थामा आउने वित्तिकै कोसेली घर सञ्चालनमा ल्याइने सचिव राईले जानकारी दिइन् ।

यस सामुदायिक वनमा जरायो, भालु, चितुवा, अजिंगर, हरिण, मृग, अस्ट्रेरिज, निलगाईलगायत दर्जनौं जीवजन्तु पालिएको छ ।

सामुदायिक वन भित्रै बाल उद्यान, दुई वटा ठूला बोटिङ गर्ने पोखरी, पोखरीमाथि बनाइएको झोलुङे पुललगायत पर्यटकलाई आकर्षण गर्न बनाइएको सुन्दर बगैचाले जोसुकैलाई आकर्षित गर्ने गरेको छ ।

जिल्लामा मेची उद्योग बाणिज्य संघले धुलाबारीमा कोसेली घर निर्माण गरेर भारतलगायत तेस्रो देशबाट आउने पर्यटकलाई घरेलु नेपाली उत्पादन सहज रुपमा उपलब्ध गराउने भनिए तापनि हालसम्म बनाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: