झापामा प्लेन कुर्छन् भीआइपीहरु

  प्रकाशित मिति
१ आश्विन २०७६, बुधबार १४:३९


 अर्जुन कार्की

झापा । अति विशिष्ट (भीभीआइपी) र विशिष्ट व्यक्ति (भीआइपी) हरुका कारण झापामा विमान उडानमा विलम्ब नभएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय झापाले दावी गरेको छ ।

आइतबार नेपालगञ्जबाट काठमाडौँ आउनेक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण बुद्ध एयरको उडानमा १५ मिनेट ढिला भएपछि अरु विमानस्थलहरुमा समेत भीआइपीहरुको विलम्ब प्रवृत्ति बारे जनचासो बढेको छ ।

प्रधानमन्त्रीको जिल्ला भएकाले झापामा भीआइपीहरुको आवतजावत बाक्लै भइरहन्छ । तर, उनीहरुलाई कुुर्नु परेका कारण प्लेन डिले भएको घटना वितेको दुई वर्षमा नभएको विमानस्थलका अधिकारीहरु बताउँछन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय झापाका प्रमुख पूर्णप्रसाद चुडालले झापामा आफु कार्यरत भएदेखि त्यस्तो एउटा पनि घटना नभएको दावी गरे ।

‘झापा एयरपोर्टमा भीभीआइपी र भीआइपी व्यक्तिहरु आइरहनु हुन्छ’, कार्यालयमा अढाई वर्षदेखि कार्यरत प्रमुख चुडालले भने, ‘तर अहिलेसम्म उहाँहरुका कारण फ्लाइट डिले भएको छैन, जहाज उड्नु भन्दा आधा घण्टा अघि नै उहाँहरु विमानस्थलमा आउने गर्नु भएको छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पछिल्लोपटक भदौ ४ गते काठमाडौँबाट बुद्ध एयरलायन्सको पहिलो जहाजबाट विहान ९ बजेर ५० मिनेट चन्द्रगढी विमानस्थल आउनु भएको उनले जानकारी दिए ।

तीन दिनपछि अर्थात भदौ ७ गते मन्त्री भट्टराई विराटनगर हुँदै काठमाडौँ फर्किए । ‘उहाँ झापा आउँदा र यहाँबाट काठमाडौँ फर्किदा कहिल्यै प्लेन डिले गराउनु भएको छैन,’ प्रमुख चुडालले भने ।

पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यही भदौ २८ गते चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरलायन्सको जहाजबाट दिउँसो २ बजेर १७ मिनेटमा काठमाडौँ प्रस्थान गरेका थिए । चन्द्रगढी विमानस्थलका प्रमुख चुडालले उनी सही समयमा विमानस्थल आइपुगेको र प्लेन डिले नभएको जानकारी दिए ।

त्यस्तै, पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भदौ २९ गते २ बजेर १२ मिनेटमा चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरलायन्सको जहाज चढेर काठमाडौँ प्रस्थान गरेको कार्यालयले जनाएको छ । उनी त्यसबेला आधा घण्टा अघि नै विमानस्थलमा आइपुगेका थिए ।

पूर्व सभामुख एवम् नेकपाका नेता सुभासचन्द्र नेम्वाङ पनि भदौ २९ गते बुद्ध एयरलायन्सको जहाजबाट दिउँसो काठमाडौँ प्रस्थान गरेको चन्द्रगढी विमानस्थलले जनाएको छ । बिर्तामोडमा नेकपाको प्रशिक्षण तथा गौरीशङ्कर प्रतिष्ठानको विशेष कार्यक्रमलाई प्रमुख अतिथिभन्दा अघि नै सम्बोधन गरेर समयमै नेम्वाङ एयरपोर्ट पुगेका थिए ।

यसैगरी, भदौ १५ गते महान्यायाधिवक्ता एवम् पूर्व कानुन मन्त्री अग्नि खरेल पनि यति एयरलायन्सबाट चन्द्रगढी आएका थिए । उनी भदौ १७ गते बुद्ध एयरलायन्सको जहाजबाट काठमाडौँ फर्किदा ठिक समयमै एयरपोर्ट आइपुगेको कार्यालयले जानकारी दिएको छ ।

यी अति विशिष्ट र विशिष्ट व्यक्तिहरु काठमाडौँबाट झापा आउँदा कुनै बेला पनि विमान उडानमा विलम्ब नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले समेत दावी गरेका छन् । ‘यही भदौ महिनामा जति पनि भीइआपीहरु झापा आउनु भएको थियो, उहाँहरु सबै चन्द्रगढी विमानस्थलमा आधा घण्टा अघि भीआइपी कक्षमा आएर जहाज पर्खनु भएको थियो,’ डीएसपी श्रेष्ठले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय झापाका प्रमुख चुडालले काठमाडौँ वा चन्द्रगढीबाट जहाज आउन तथा जान कुनै बेला ढिलो हुने गरेको भएपनि त्यस्तो अवस्था जहाजको आफ्नै कारणले हुने गरेको जानकारी दिए । उनका अनुसार अति विशिष्ट र विशिष्ट व्यक्तिहरुकै कारण झापामा विमान उडानमा ढिला अथवा विलम्ब भएको छैन ।

बुद्ध एयरलायन्स भद्रपुरका स्टेसन मेनेजर ओम प्रधानले प्रधानमन्त्री, पार्टी अध्यक्ष, मन्त्री वा अन्य विशिष्ट व्यक्तिहरु आउँदा तथा जाँदा विमान उडानमा विलम्ब नहुने गरेको दाबी गरे ।

सीडीओ कार्यालय र आर्मी ब्यारेक हटाइने

नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय झापाका प्रमुख चुडालले विमानस्थलको पश्चिम तर्फको रनवे बढाउनु पर्ने भएकाले जिल्ला प्रशासन कार्यालयको भवन र नजिकैको आर्मी व्यारेक हटाउने बताएका छन् ।

१ हजार ५ सय मिटरको रनवेलाई १ हजार ८ सय मिटरको बनाउनु पर्ने भएकोले ती भवन र व्यारेक भत्काउन आवश्यक भएको उनले बताए । रनवे बढाउन आवश्यक भएकाले जिल्ला प्रशासन कार्यालयको भवन र आर्मी व्यारेक हटाउन पहल गरिदिन सम्बन्धित मन्त्रालयहरुमा लिखित प्रतिवेदन पेश गरिएको प्राधिकरण कार्यालयले जनाएको छ ।

काठमाडौँबाट झापा आएका अति विशिष्ट र विशिष्ट व्यक्तिहरुलाई चन्द्रगढी विमानस्थलको भीआइपी कक्षमा यस विषयमा ध्यानाकर्षणसमेत गरिएको कार्यालय प्रमुख चुडालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको भवन र आर्मी व्यारेकका लागि भद्रपुर नगरपालिकाले जग्गाको खोजी गरिदिनेसमेत आश्वासन दिएको उनले बताए ।

रात्रीकालीन उडान बन्द

नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय भद्रपुरद्वारा सञ्चालित रात्रीकालीन उडान हाललाई बन्द भएको छ । उड्डयन कार्यालयका अनुसार विमानस्थलको रनवे मर्मत कार्य भइरहेकाले रात्रीकालीन उडान हाललाई बन्द भएको हो । यही भदौ २० देखि आगामी असोज ४ गतेसम्मलाई रात्रीकालीन उडान बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय भद्रपुरका प्रमुख चुडालले बताए ।

बुद्ध एयरलायन्सको जहाजले यसअघि चन्द्रगढी एयरपोर्टबाट रात्रीकालीन सेवा दिइरहेको थियो । हाल झापाबाट काठमाडौँ श्री एयरलायन्सको २, बुद्ध एयरलायन्सको ३, यति एयरलायन्सको २, सौर्य एयरलायन्सको १ र नेपाल एयरलायन्सको एउटा जहाजले विहान ७ बजेदखि दिउँसो २ बजेसम्म उडान भरिरहेको कार्यालयले जनाएको छ ।

रात्रीकालीन उडानमा १५ हजार लिए सेवा

नेपाल नागरिक उड्डयन कार्यालय भद्रपुरद्वारा सञ्चालित रात्रीकालीन उडानबाट करिव १५ हजार यात्रुले सेवा लिएको पाइएको छ । नागरिक उड्डयन कार्यालयका अनुसार करिव सात महिनामा १५ हजार यात्रुले सेवा लिएको पाइएको हो ।

चन्द्रगढी हवाइ मैदानबाट काठमाडौँका लागि बुद्ध एयरले रात्रीकालीन सेवा सञ्चालन गरेको थियो । बुद्ध एयरले फ्रेबुअरी ३ तारिक अर्थात २०७५ माघ २० गतेदेखि चन्द्रगढी एयरपोर्टबाट रात्रीकालीन सेवा सुरु गरेको थियो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रगढी हवाई मैदानबाट दिइने रात्रीकालीन सेवाको उद्घाटन गरेका थिए ।

उद्घाटन भएको चौथो दिनदेखि नै बुद्ध एयरले सेवा सञ्चालन गरेको कार्यालय प्रमुख चुडालले जानकारी दिए । बुद्ध एयरले ३० जनवरी बेलुकादेखि काठमाडौँका लागि परीक्षण उडान गरेको थियो । बेलुका ६ः१० बजेदेखि चन्द्रगढी–काठमाडौँको सेवा सञ्चालन भइरहेको बुद्ध एयर चन्द्रगढीका स्टेसन मेनेजर प्रधानले बताए ।

७० सिट क्षमता भएको बुद्ध एयरको एटिआर–७२ ले चन्द्रगढीबाट काठमाडौँका लागि दैनिक रात्रीकालीन उडान भर्ने गरेको उनले बताए । पहिलो दिन ४९ जना यात्रु लगेको बुद्ध एयरले हाल दैनिक ६० देखि ७० जनासम्म यात्रु भद्रपुर–काठमाडौँ तथा काठमाडौँ–भद्रपुर उडान भर्ने गरेको प्रधानले जानकारी दिए । मौसमको प्रतिकूलता बाहेक बुद्ध एयरले रात्रीकालीन उडान नियमित गरिरहेको उनको भनाइ छ । रात्रीकालीन उडानको टिकटको मूल्य ३ हजार ३ सयदेखि ९ हजार रुपैयाँसम्म पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: