झापा, २८ असार । झापामा आएको बाढीले एकको मृत्यु, एक वेपत्ता र ७४९ जना विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको पछिल्लो जानकारी अनुसार कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका ७४९ जना घर डुबानमा परेको कारण विस्थापित भएका हुन् ।
हिजो बिरिङ नदीमा नुहाउन पसेका झापा गाउँपालिकाका वडा नं. ५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको थियो भने भद्रपुर–३ का ३३ वर्षीय हिरण राई हिजो मेची नदीमा नुहाउँदा बगेर वेपत्ता भएका छन् ।
अबिरल वर्षाका कारण कनकाई नदीमा जलसतह बढेर आज सतर्कता नजिक पुगेको छ भने अरु नदीमा पनि बाढी आएको छ ।
प्रहरीका जिल्ला प्रवक्ता राजेश थापाका अनुसार झापा गापाको कुमरखोदमा कनकाईको बाढीले ११४ घर डुबानमा परेका छन् ।
डुबानमा परेर विस्थापित ५५० जनालाई नेपाल रेडक्रस, गाउँपालिका र प्रहरीको सहयोगमा उद्धार गरी शितुमारी प्रावि र जुडो प्राविमा सेल्टर बनाएर सुरक्षित रुपमा राखिएको छ ।
यसैगरी, गौरीगञ्ज गाउँपालिकामा कनकाईको बाढी ओभरफ्लो भई झिलझिलेमा ४३ घरका १५० जना विस्थापित भएका छन् ।
शिवसताक्षीको शिवगञ्जका ७ घरका २९ जना र झोडावस्तीका २ घरका १४ जनालाई उद्धार गरी स्थानीय सेल्टरमा सारिएको छ । ती सबै घर कनकाईको डुबानमा परेका हुन् ।
मेचीनगरको पालिया खोलाको बाढी घरभित्रै पसेपछि मेचीनगर ७ प्यारीभिट्टाका ९ घरका ४२ जनालाई सुरक्षित स्थानमा सारिएको छ । प्यारीभिट्टास्थित बसपार्कको कोठाहरुमा उनीहरुलाई बस्ने व्यवस्था मिलाइएको छ ।
बाढीको कहर सुरु भएपछि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहहरु उद्धारमा जुटेका छन् ।