झापामा भयावह बन्दै क्यान्सर : ६२३ बिरामी छ महिनामै थपिए

  प्रकाशित मिति
१६ मंसिर २०७८, बिहीबार १७:३६


दुर्गा प्रसाई : कार्यकारी निर्देशक

झापा, १६ मंसिर । झापामा विगत ६ महिनामा ६२३ जना क्यान्सरका बिमारी थपिएका छन् ।

विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले विहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले झापामा क्यान्सरका बिमारी बढिरहे पनि उनीहरुको पहिचान र उपचारमा सर्वसाधारण उदासिन रहेको भन्दै चिन्ता व्यक्त गरे ।

अस्पतालबाट विपन्न उपचार कोषमार्फत सरकारी सहयोग पाएकाहरुको तथ्यांक सुनाउँदै प्रसाईले कार्तिक मसान्तसम्ममा यस अस्पतालमा ६२३ जना नयाँ बिमारीले उपचार लिएको बताए ।

उनले गाउँ गाउँमा गरीवी र अज्ञानताका कारण धेरै क्यान्सर विमारीको पहिचान हुन नसकेको र उनीहरुलाई उपचारको पहुँचमा ल्याएर जीवन बचाउन मिडिया क्षेत्रले विशेष योगदान पुर्याउनु पर्ने धारणा व्यक्त गरे ।

‘राजनीतिका झगडा र विवादहरुमा मिडियाले ठूला ठूला हेडलाइन बनाउने गर्छन्,’ प्रसाईले भने–‘गाउँमा महिलाहरु चेतनाको अभावमा उपचार पाउनबाट वञ्चित भइरहेका छन् । रोग लुकाएर बस्न विवश छन् । मृत्युको मुखमा धकेलिइरहेका छन् । तर मिडियाले यस्तो सम्बेदनशील विषयमा पर्याप्त कलम चलाउन सकेका छैनन् ।’

उनले स्वास्थ्य जागरणमा मिडियाले स्थान दिन कञ्जुस्याई गरेको गुनासो समेत गरे । अर्कालाई बिगार्ने र धज्जी उडाउने खबर बढाइचढाइ गर्ने र तर आम नागरिकको स्वास्थ्य बचाउने समाचारलाई पानाको भित्र कुनामा सानो स्थान दिने मिडियाको प्रवृत्ति रहेको उनको आरोप थियो ।

सो अवसरमा क्यान्सर रोग विशेषज्ञद्वय डा. प्रियंका कटुवाल र डा. रीतु लामिछानेले अहिले बढी मात्रामा देखा परिरहेको क्यान्सर रोग र तिनको उपचारका बारेमा जानकारी दिएका थिए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा बालबालिकामा हुने क्यान्सर रोग र रगतमा हुने क्यान्सर रोगको उपचार गर्न भर्खरै नयाँ विभाग गठन भएको र त्यसको नेतृत्व डा. रीतु लामिछानेले गर्ने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

पत्रकारहरु सामु नवागन्तुक डा. लामिछानेले आफ्नो परिचय दिदै अब पूर्वाञ्चल क्यान्सर अस्पतालमा बालवालिकाको क्यान्सर रोगको उपचार सुरु भएको जानकारी दिएकी थिइन् ।

उनी फिलिपिन्सबाट बालरोगमा विशेषज्ञता (एमडी) गरेर भारतको प्रसिद्ध क्यान्सर हस्पिटल टाटा मेमोरियलमा २ वर्ष बालबालिकामा हुने क्यान्सर रोगको उपचार गरेर विर्तामोडमा आएकी हुन् ।

बालवालिकामा ब्लड क्यान्सर बढी मात्रामा देखा पर्ने गरेको र पूर्वाञ्चलमा त्यसको कम्प्लिट उपचार हुने डा. लामिछानेले बताइन् ।

स्त्रीरोग विशेषज्ञ तथा क्यान्सर रोगको सर्जन डा. प्रियंका कटुवालले झापाका महिलामा पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै फैलिएको पाइएको बताइन् ।

‘जति पनि मकहाँ महिला दिदीबहिनीहरु आउनु हुन्छ, उहाँहरु क्यान्सर लागेर उपचारमा ढिलो भइसकेपछि आउनुहुन्छ,’ डा. कटुवालले भनिन्–‘बेलैमा रोगको पहिचान र उपचार हुन सक्दा क्यान्सरको निदान सहज हुन्छ । तर, अन्यत्र अपरेशन गरिसकेर मात्र विरामी जटिल अवस्थामा आउँदा विरामीले आर्थिक रुपमा पनि धेरै खर्च गर्नुपर्छ र उपचारमा पनि जटिलता आउने गरेको छ ।’

हरेक ६ महिनामा महिलाले एकपटक क्यान्सर छ कि छैन भनेर परीक्षण गराउन जरुरी रहेको जनाउँदै यसबाट रोगको बेलैमा पहिचान र उपचार गर्न सहज हुने डा. कटुवालको सुझाव छ ।

पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडले नेपालभरिका महिलाका लागि आगामी ३ महिनासम्म पाठेघरको क्यान्सर जाँच निःशुल्क रुपमा गरिदिने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उक्त घोषणा गरेका हुन् ।

बिगतमा पनि ३ महिनासम्म अस्पतालले महिलाको पाठेघरको क्यान्सर पत्ता लगाउन निःशुल्क जाँच शिविर सञ्चालन गरेको थियो ।

शिविरबाट ६०० भन्दा बढी नयाँ क्यान्सर रोगीको पहिचान भएको उनले जानकारी दिए । सर्वसाधारणको माग अनुसार नै निःशुल्क जाँच शिविरको अवसर ३ महिना बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: