झापामा मापसेको अप्रेसन

  प्रकाशित मिति
५ आश्विन २०७३, बुधबार १४:१०


trafic

विर्तामोड । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउन पाइँदैन । यदि सवारी चलाए ट्राफिक प्रहरीले कारवाही गर्छ । यो जान्दाजान्दै पनि चालकले मापसे गर्न छाडेका छैनन् । मापसे गरेर सवारी चलाए ट्राफिक प्रहरीले एक हजार जरिवानासहित लाइसेन्स प्वाल पार्ने र एकरात सवारी नियन्त्रणमा लिई छाडिदिने गरेको छ ।

मापसे गरेर सवारी चलाउने चालक कारवाहीमा पर्छन् । तर, जरिवाना तिरेर उनीहरु फुत्किने गरेका छन् । पछिल्लो समय झापामा मापसे गरेर सवारी चलाउने बढिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडको तथ्याङ्क हेर्दा जिल्लामा मापसे गरेर सवारी चलाउनेको अवस्था भयावह देखिन्छ ।

चाडपर्व नजिकिएसँगै चेकजाँचमा कडाई गरेपछि मापसे गर्ने चालक ट्राफिकको फन्दामा परेका छन् । नियम फितलो हुँदा मापसे गरी सवारी चलाउने बढेका हुन् । दुई महिनायता जिल्लामा मापसे गरी सवारी चलाउने २ सय ३५ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । गत साउनमा ९४ जना, भदौमा १ सय ३५ र असोजको ४ गतेसम्म ७ जना मापसे कारवाहीमा परेका छन् । जसमध्ये मोटरसाइकल चालक बढी छन् । जिल्लामा मापसे गरी सवारी चलाउने बढेपछि दैनिकजसो बेलुकी समयमा चेकजाँचमा कडाई गरिएको छ ।

जिल्लाका १४ स्थानमा साँझ ६ बजेदेखि राति १० बजेसम्म नियमित सवारी चेकजाँच भइरहेको ट्राफिक प्रहरी कार्यालयका असई याम खड्काले जानकारी दिए । विशेषगरी ट्राफिकले रातको समयमा मापसेको जाँच गर्ने गरेको छ । जिल्लाको काँकरभिट्टा, धुलावारी, चारआली, वुट्टावारी, विर्तामोड बसपार्क, चारपाने, शनिश्चरे, विर्ताबजार, चन्द्रगढी, भद्रपुर, सुरुङ्गाा, झिलझिले, केरखा, पाडाजुँगी, गौरादह र दमकमा नियमित सवारी चेकजाँच हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ढुण्डीराज गिरीले बताए । ‘चाडपर्वको समयमा मापसे गर्ने चालक अधिक भेटिएको छ,’ उनले भने, ‘अरुबेला भन्दा यो बेला विशेष कारवाही अभियान चलाउन बाध्य भएका हौँ ।’

मापसेमा कडाइ गरेपछि सवारी दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीले दाबी गरेको छ । जिल्लामा सवारी दुर्घटना र मृत्युको सङ्ख्या घटेको कार्यालयको तथ्याङ्कमै उल्लेख छ । साउनमा २८ वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । भदौमा दुर्घटनाको सङ्ख्या घटेको छ । यो महिना १२ वटा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

त्यस्तै, जिल्लामा एउटा र्याडर गन (गति मापन यन्त्र) छ । त्यसैको भरमा सवारी गति मापन गरिँदै आएको छ । ठूलो यन्त्र नहुँदा सवारी गति मापन गर्न समस्या भएको ट्राफिकले जनाएको छ । सडकको हिसाबले सवारी प्रतिघण्टा अधिकतम् ६० किलोमिटरको स्पीडभन्दा बढी कुदाउन पाइँदैन । न्यूनतम् मापदण्ड भने ४० देखि ५० को स्पीडलाई मानिएको छ । तर, सडकमा गुड्ने अधिकांश सवारीले यो नियम उल्लङ्घन गरेका छन् । सडकमा सयभन्दा बढी स्पीडमा सवारी हुईंकिने गरेको ट्राफिक प्रहरीले जनाएको छ । पूर्वाञ्चलमा एउटा मात्र र्याडर गन भएकाले सवारीको गति मापन हुन नसकेको हो । पछिल्लो समय जिल्ला ट्राफिक प्रहरीले गति उल्लङ्घन गर्ने ३५ वटा सवारीलाई कारवाही गरेको छ । कारवाहीमा परेका मध्ये बढी साना कार छन् । त्यस्तै बस र मोटरसाइकल पनि अन्यत्रित रुपमा सडकमा हुईंकिने गरेका छन् । यसले पनि दुर्घटनाको जोखिम बढाएको ट्राफिक प्रहरीको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: