झापामा युवा सम्मेलन सुरु

  प्रकाशित मिति
१० फाल्गुन २०७६, शनिबार १६:०१


बिर्तामोड । झापामा पहिलो पटक रुपान्तरणका लागि युवा सम्मेलन शनिबारदेखि सुरु भएको छ ।

जिल्ला समन्वय समिति र कारितास नेपाल झापाको संयुक्त आयोजना बिर्तामोडमा दुई दिने जिल्ला सम्मेलनमा ७० जना युवाहरु सहभागी भएका छन् ।

झापा जिल्ला युवा सम्मेलनमा जिल्लाका १५ वटै स्थानीय तहबाट युवा उमेर समूहका जनप्रतिनिधि, सामाजिक क्षेत्रमा क्रियाशिल युवा, युवा उद्यमी व्यवसायी, विभिन्न संघ–संस्थामा आवद्ध युवा, राजनीतिक दलका युवा र विद्यार्थी सहभागी भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

सामाजिक, सांस्कृतिक रुपान्तरण र समृद्धिका लागि युवा अग्रसरता भन्ने नारा सहित शुरु भएको युवा सम्मेलनको आज प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले उद्घाटन गरेकी छन् ।

उनले युवा नै राष्ट्रको शक्ति भएकाले सचेत र सजग बन्नुपर्ने बताइन् । सांसद खरेलले रुपान्तरणमा युवाको भूमिका महत्वपूर्ण भएकाले सोहि अनुसार परिचाल हुन आग्रह गरेकी छन् ।

कार्यक्रममा पहिलो चरणमा इन्द्रप्रसाद ओलीले लागु औषध दुव्र्यसन विरुद्ध युवाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यपत्रमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइराला र गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले टिप्पणी गरेका छन् । सोहि विषयमा सहभागीले सूझावसहित जिज्ञासा राखेका छन् ।

दोस्रो चरणमा कमल कोइरालाले दिगो विकास लक्ष्यमा युवाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । उनको कार्यपत्रमा युवा नेता सिपि कडरिया र एसएनजेडीका कुमार चुडालले टिप्पणी गर्ने प्रमुख पोर्तेलले बताए ।

उनका अनुसार पहिलो दिनको अन्तिम कार्यपत्र सञ्जय चौधरीले युवा परिचालन (स्वयमसेवा, विपत जोखिम न्यूनिकरण र विकास निर्माण) विषयक प्रस्तुत गर्नेछन् । त्यसको टिप्पणीकारको रुपमा युवा नेता शिव ढुङ्गेल र जिल्ला युवा समिति झापाका अध्यक्ष छवि चुडाल छन् ।

दोस्रो दिन आइतवार राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवा स्वरोजगार र उद्यमशिलता, जिल्ला युवा समिति इलामका अध्यक्ष एवम् युवा नेता नवराज शंकरले सामाजिक सांस्कृतिक रुपान्तरणमा युवा अग्रसरता र अन्तिममा पूर्वमन्त्री एवम् सांसद् महेश बस्नेत र नेपाली काङ्ग्रेसका नेता बद्री पाण्डेबीच राज्यको नीति निर्माण र कार्यान्वयनमा युवा सहभागिता विषयक प्यानल डिस्कशन हुने कारितास नेपालका दमक प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए ।

सम्मेलनले झापा घोषणा पत्रसमेत सार्वजनिक गर्ने प्रमुख पोर्तेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: