झापामा रगतको अभाव, रक्तदानका लागि आह्वान

  प्रकाशित मिति
२० चैत्र २०७६, बिहीबार १०:२४


कोरोना कहरका कारण रगतको अभाव हुन नदिन स्वेच्छिक रक्तदान गर्दै प्रदेश सांसद बसन्त बानियाँ ।

भद्रपुर, २० चैत (रासस) । झापामा रगतको चरम अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आम मानिसलाई आह्वान गरेको छ ।

सरकारले कोभिड १९ (कोरोना भाइरस)को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदान समेत ठप्प भएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले तत्काल रक्तदान अभियान सञ्चालन नगरिने हो भने जिल्लामा रगतको हाहाकार हुनसक्ने बताए ।

सरकारले अस्पतालहरुको ओपीडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ ।

‘आइसीयुका एकै जना विरामीका लागि चार पिन्टसम्म रगत मागिरहनु भएको छ,’ विर्तामोड रेडक्रस सासाइटी उपशाखाका अध्यक्ष सजेश शिवाकोटी भने–‘विर्तामोडको ब्लडबैंकमा मागे जति रगतको स्टक नभएको हुँदा उहाँहरुलाई रक्तदान गर्ने आफन्त खोज्न आग्रह गरिरहेका छौं ।’

विर्तामोड ब्लड बैङ्कबाट बीएन्डसी हस्पिटल, विर्तासिटी हस्पिटल, कनकाई हस्प्टिल, कञ्चजनंघा हस्प्टिल, सञ्जीवनी हस्पिटल, मनमोहन सामुदायिक हस्पिटल लगायत ठूला अस्पतालमा रगतको आपूर्ति हुँदै आएको छ ।

विर्तामोड ब्लड बैंकमा विहीवार विहानसम्ममा जम्मा १२ पिन्ट मात्र रगत स्टकमा रहेको विर्तामोड रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष सजेश शिवोकोटीले बताए । रेडक्रस सोसाइटीले विर्तामोडको बीएन्डसी हस्पिटल परिसरमा सञ्चालन गरेको ब्लड बैंकमा पनि रगतको स्टक सकिएको छ ।

‘सुत्केरी र शल्यक्रियाका विरामीका लागि रगतको माग भइरहेको छ, हामीले दिनसक्ने अवस्था रहेन,’ प्राविधिक रेश्मा तामाङ भन्छिन्–‘बीएन्डसी हस्पिटलमा रहेको व्लडबैंकमा १५ युनिट मात्र स्टक छ, यति रगत एक दिनलाई पनि पुग्दैन ।’

भद्रपुरमा रेडक्रसले सञ्चालन गरेको ब्लड बैंकमा पनि रगतको अभाव भइसकेको छ । घरदैलो अभियान चलाएर रक्तदाता खोज्नुपर्ने बेला भइसकेको सोही ब्लड बैंकका प्राविधिक दिपक ओली बताउँछन् । ब्लड बैंकका कर्मचारीहरुले रक्तदाताको सूची हेरेर रक्तदानका लािग अनुरोध गरिरहेका छन् ।

झापामा मृर्गौलाको नियमित डायलासिस गराइरहेका ८० जना बिरामी छन् । रगत कम हुने एनिमियाका बिरामीको सङ्ख्या ७३ जनाभन्दा बढी छ । नियमित रगत उपलब्ध नगराए उनीहरुको जीवन जोखिममा पर्नसक्ने बताउँदै आफुले पनि भद्रपुरको ब्लड बैंकमै गएर रक्तदान गरेको प्रदेश सांसद बसन्त बानियाँले बताए । उनले भीडभाड नगरी नजिकको ब्लड बैंकमा गएर स्वेच्छिक रक्तदान गर्न जनसमुदायमा आह्वान गरेका छन् ।

।। अम्बिका भण्डारी ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: