झापामा राजमार्गको अतिक्रमण हटाइने

  प्रकाशित मिति
१ माघ २०७६, बुधबार १४:०९


भद्रपुर । झापामा पूर्वपश्चिम राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना हटाइने भएको छ । डिभिजन सडक कार्यालय दमकले झापाका स्थानीय तहलाई सडक अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन पत्राचार गरेको छ ।

पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि दमकसम्मको ५० किलोमिटर खण्डमा ६ वटा नगरपालिकाहरु क्रमशः मेचीनगर, विर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी र दमक पर्दछ भने एउटा कमल गाउँपालिका पर्दछ ।

सडकको सीमा मिचेर बनाइएका घर, टहरा लगायतका संरचना अबिलम्ब हटाएर सडकको जग्गा खाली गर्न सबै नगरपालिका तथा गाउँपालिकालाई पत्राचार गरिएको सडक कार्यालयले जनाएको छ । तर अहिलेसम्म स्थानीय तहले राजमार्गको अतिक्रमण हटाउने कदम चालेका छैनन् ।

एसियाली राजमार्ग समेत निकट भविष्यमा निर्माण हुने र अहिले अतिक्रमणका कारण सवारी दुर्घटनामा वृद्धि भएको कारण अतिक्रमण हटाउन निर्णायक पहल गरिएको डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले बताए ।

सार्वजनिक सडक ऐन २०३१ अनुसार स्थानीय तहले सम्झाउँदा बुझाउँदा हट्न नमानेमा प्रशासनको सहयोग लिएर जुनसुकै बेला बल प्रयोग गरेर अतिक्रमण हटाइने प्रमुख यादवले बताए ।

सबै सडकलाई अतिक्रमणबाट जोगाउने जिम्मेवारी स्थानीय सरकारको भए तापनि जनप्रतिनिधिहरुले बेवास्ता गरेको सडक कार्यालयका प्रमुख यादवको आरोप छ । उनले राजमार्ग ५० मिटरको हुने र छेउका नम्बरी जग्गाधनीले समेत क्रंक्रिटको संरचना बनाउँदा सडकको सीमाबाट ६ मिटर टाढा मात्र बनाउनु पर्ने नियम रहेको जानकारी दिए ।

झापामा दमक नगरपालिकामा सबैभन्दा बढी सडक अतिक्रमण गरेर बनाइएका टहरा तथा खुद्रे पसल रहेका छन् । उनले कनकाईको सुरुङ्गा बजार, विर्तामोडको बजार क्षेत्र र मेचीनगरको चारआली क्षेत्रमा अतिक्रमित संरचना छन् । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सडक कार्यालयबाट अनुरोध आएमा सुरक्षाकर्मी लगाएर अतिक्रमण हटाउन प्रशासन तयार रहेको बताए ।

-अम्बिका भण्डारी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: