मेचीनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंंकामा झापाका विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा बसेका व्यक्तिहरुको आरडीटी र स्वाबको परिक्षण धमाधम भइरहेको छ ।
स्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका क्वारेन्टाइन र आइसोलेसनमा बसेका व्यक्तिहरुको आरडीटी र स्वाबको परिक्षण धमाधम गरिरहेको छ ।
स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौलागाईले झापाको १५ वटै स्थानीय तहको २२ वटा क्वारेन्टाइन र १० वटा आइसोलेसनमा बसेका व्यक्तिहरुको आरडीटी र स्वाबको परिक्षण लिने कार्यक्र धमाधम भइरहेको बताए ।
स्थानीय सरकारमार्फत जिल्लाका विभिन्न ठाउँमा क्वारेन्टाइन तथा दमक अस्पतालमा २ वटा र मेची अञ्चल अस्पतालमा ८ वटा आइसोलेसन कक्ष राखिएको छ ।
जिल्ला विपद व्यवस्थापन सहयता कक्षका सचिव समेत रहेका चौँलागाईले चैत २७ गतेदेखि मङ्गलबारसम्म झापामा १३८ जनाको आरडीटीको टेष्ट गरिएको उनले बताए ।
उनका अनुसार ११७ पुरुष र २१ जना महिलाको आरडीटी टेष्ट गरिएको छ । उनिहरुको आरडीटी किटबाट परीक्षण गरिएकाहरुको सबैको रिपोर्ट नेगेटिभ आएको चौलागाईले जानकारी दिए ।
‘आरडीटी किटबाट परीक्षण गरिएकाहरुको रिपोर्ट नेगेटिभ आएको भए तापनि विदेशबाट आएका, धेरै उमेरका र केही मिल्दोजुल्दो लक्षण भएका ४४ जना छानेर उनीहरुको थ्रोट स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो’ उनले भने ।
३ महिला र ४१ जना पुरुषको स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए ।
आरडीटीको रिपोर्ट तत्कालै आएपनि थ्रोट स्वाबको जाँच प्रदेश नं.१ को विराटनगर प्रादेशिक अस्पतालको प्रयोगशालामा हुने गरेको बताइएको छ ।
।। अर्जुन कार्की ।।