भद्रपुर, १ असोज (रासस) ः बिगत ३ वर्षमा झापामा लागू औषधको ओसारपसार विरुद्ध प्रहरीको कार्वाहीमा पाँच सय ५४ जना पक्राउ परेका छन् ।
भारतसँगको खुला सीमा र लागू पदार्थ प्रयोगकर्ताको फैलदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतिपूर्ण बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार आव २०७३÷०७४ मा १६५ जना, आव २०७४÷०७५ मा १८९ जना र आव २०७५÷०७६ २०० जना लागू औषधको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् ।
पक्राउ परेका ५५४ जनामध्ये २४ जना विदेशी नागरिक थिए । तीन वर्षमा लागू औषध सम्बन्धी ३५४ वटा मुद्धा प्रहरीमा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले लागू औषध नियन्त्रणका लागि विशेष अभियान चलाएको जनाउँदै आव २०७५÷०७६ मा प्रहरीले १९ केजी चरेश, २ केजी गाँजा र ७६८ ग्राम ब्राउन सुगर वरामद गरेको जानकारी दिनुभयो ।
सीमावर्ती काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज र टाघनडुब्बा क्षेत्रमा प्रहरीले भारतीय सीमापारिबाट हुनसक्ने लागू औषधको कारोवारलाई सुक्ष्म निगरानी राख्न थालेपछि हाल कारोवारीहरु धमाधम पक्राउ पर्न थालेको प्रहरी उपरीक्षक मैनाली बताउनुहुन्छ ।
झापाको प्रहरीले विद्यालयहरुमा पुगी लागू औषधबाट बच्न विद्यार्थीहलाई आग्रह गर्दै सचेतना कक्षा सञ्चालन गरिरहेको छ । विभिन्न विद्यालयहरुमा प्रदेश सरकारको अभियान अन्तर्गत सगरमाथा टिन्स क्लव गठन कार्य समेत तीब्र रुपमा अघि बढाइएको छ । अभियानले पनि लागू औषधलाई निरुत्साहित गर्ने बताइएको छ ।
‘बिगतमा सामान वरामद हुने तर अभियुक्तहरु पक्राउ नपर्ने गरेको देखिएको छ’, प्रहरी उपरीक्षक मैनाली भन्नुहुन्छ, ‘यसपटक हामीले सामान बरामदसँगै अभियुक्तलाई फुत्किन नदिने अभियान चलाएका छौं ।’