झापामा ‘विपदमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय

  प्रकाशित मिति
३ असार २०७८, बिहीबार २०:१६


झापा, ३ असार । नेपाली कांग्रेस झापाले ‘विपदमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीले भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग विहीबार आयोजना गरेको भर्चुअल बैठकमा कांग्रेस झापाका सभापति उद्वव थापाले राखेको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘विपदमा कांग्रेस’ अभियान मार्फत नेपाली कांग्रेसका वडादेखि गाउँ÷नगर, प्रदेश क्षेत्र, क्षेत्र तथा जिल्लास्तरका कार्यकर्ता कोरोना तथा अन्य महामारी, प्राकृतिक प्रकोपमा उद्धार, राहत र पुनस्र्थापनाका कार्यक्रम लिएर महामारी प्रभावित तथा प्रकोप पीडितको घरदैलोमा पुग्नेछन् ।

सरकारले कोरोना प्रभावितका उपचार, खोप आयात, तथा राहत वितरणको कुनै कार्यक्रम सञ्चालन गर्न नसकिरहेका बेला कांग्रेस अभियान सञ्चालनको तयारीमा लागेको हो । बैठकले काठमाडौं–झापा सम्पर्क समितिका प्रवीन निरौलालाई पार्टीको प्रचार–प्रसार विभागको सदस्यमा मनोनयन पनि गरेको छ ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रविधिको उच्चतम प्रयोग गरेर तोकिएको समयमा पार्टीको चौधौं महाधिवेशन गर्न सकिने बताए ।
प्रवक्ता शर्माले कांग्रेसले प्रविधिको प्रयोगमार्फत ७७ वटै जिल्ला र सबै निर्वाचन क्षेत्रमार्फत क्रियाशील सदस्यको तथ्यांक अध्यावधि गरिसकेको जानकारी दिदै भर्चुअल प्रविधिमार्फत मनोनयन दर्ता तथा ७७ जिल्लाबाटै मतदान गर्न सकिने जानकारी दिएको होे ।

‘भदौमा महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यतामा हामी छौं तर कोरोना भाइरसका कारण सबै एकैठाउँ उपस्थित हुने अवस्था छैन’–प्रवक्ता शर्माले भने–‘वडा, गाउँ र नगरको अधिवेशन वडा–वडाका मतदान केन्द्रबाट, प्रदेश क्षेत्र, क्षेत्र र जिल्ला अधिवेशन प्रदेश क्षेत्रका मतदान केन्द्रमार्फत र प्रदेश तथा केन्द्रको महाधिवेशन जिल्ला–जिल्लाबाट भर्चुअल प्रविधिमार्फत गर्न सकिन्छ ।’ यो प्रविधि पूर्ण गोपनीय तथा विश्वसनीय हुने उनको दावी छ ।

पहिलाको भन्दा अहिलेको संसद विघटन फरक तरिकाले भएको उल्लेख गर्दै उनले सर्वोच्च अदालतले संवैधानिक ब्यवस्थाकै आधारमा संसद पुनस्र्थापना हुने विश्वास प्रवक्ता शर्माको थियो । कोरोना खोप खरिद प्रकृयामा सरकार प्रवेश नै नगरेकोप्रति आपत्ति प्रकट गर्दै प्रवक्ता शर्माले अनुदानमा हात पसार्ने प्रबृत्तिकै कारण खोप नआएको धारणा राखे ।

गृहजिल्ला झापामा रहेका प्रवक्ता शर्माले काठमाडौँ फर्किएपछि यी विषयमा केन्द्रीय नेतासँग थप छलफल गरेर निष्कर्षमा पुगिने जानकारी दिए । जिल्लाका नेता कार्यकर्ताले समयमानै महाधिवेशन हुन नसक्ने चिन्ता जाहेर गरेपछि प्रवक्ता शर्माले आस्वस्त पार्दै भने, ‘कांग्रेस संवैधानिक बाध्यताबाटपछि नहटी राजनीति जिम्मेवारी पूरा गर्नेमा दृढ छ, हरहालतमा पार्टीको महाधिवेशन हुन्छ ।’

महाधिवेशन नहोला कि भन्ने चिन्ताबाट मुक्त देखिनुभएका शर्माले प्रविधिमार्फत पार्टीको डेटा राख्ने कुरामा कांग्रेस अरु पार्टीभन्दा अब्बल र अगाडि रहेको दावी समेत गरे । केन्द्रमा क्रियाशील सदस्यको फायल थुपारेर कागजको थुप्रो लगाउने परम्पराको अन्त्य भएको जिकिर गर्दै उनले अहिले अनलाइनबाटै क्रियाशील सदस्यता सम्बन्धि सबै काम भइरहेको समेत बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो ? भनेर गरेको टिप्पणीलाई ठाडो भाषाको संज्ञा समेत उनले दिए ।

कार्यक्रममा कांग्रेसका अग्रज नेता डिल्लीप्रसाद सिटौलाले मुलुकका सामु कोरोना नियन्त्रण, सरकारद्वारा नै संविधान समाप्त पार्ने षडयन्त्रको अन्त्य, पार्टीको महाधिवेशन र प्रकोपको पीडा समाधान मुख्य चुनौति रहेको बताउँदै यसको समाधानमा पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस झापाका कोषाध्यक्ष केशवराज पाण्डे, प्रवक्ता लोकराज ढकाल, नेपाल महिला संघ केन्द्रीय सदस्य गोमा भटराई, झापा सभापति सुशिला ढकाल, सचिव उर्मिला पोखरेल, कांग्रेस झापाका सदस्य पुष्पराज पौडेल, गोपाल उप्रेती, विजय रिजाल, तेजप्रसाद चौलागाई, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारी, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नेपाल शिक्षक संघ झापाका सभापति नेत्र खरेल, नेपाल चिया बगान श्रमीक संघका अध्यक्ष दीपक तामाङ, नेविसंघका पूर्व सहमहामन्त्री उमा शिवाकोटी, दीपक प्रधान, ओम विमली लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले आगामी महाधिवेशनबाट पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने, नेकपा नेतृत्वको सरकारले गरेका गलत कामको भण्डाफोर गर्नुपर्ने, मजदुर तथा अत्यन्तै न्युन आर्थिक अवस्था भएका नागरिकलाई राहत वितरण गर्नुपर्ने, मजदुरको तलब बृद्धि, सामाजिक सुरक्षा लगायतका मुद्धामा सरकारको ध्यानाकर्षण गर्नुपर्ने, खोप आयातका लागि सरकारलाई दवाव दिनुपर्ने, आगामी महाधिवेशनमा संसदीय क्षेत्र र पार्टी संगठन छुट्याएर सक्रियताको आधारमा एक क्षेत्रमा मात्रै जिम्मेवारी दिनुपर्ने सवाल व्यापक रुपमा उठाएका थिए ।

कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहजीकरण प्रचार–प्रसार विभाग प्रमुख कृष्ण हुमागाईले र प्राविधिक सहयोग प्रवीन निरौलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज