झापामा सुरु भयो ‘सुपारी जोन’

  प्रकाशित मिति
१ मंसिर २०७५, शनिबार १०:५५


भद्रपुर । कृषिलाई व्यावसायिकरण गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’को स्थापना गरिएको छ ।

नेपालमै सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्लाको रुपमा चिनिदै आए पनि झापामा सरकारले भर्खरै मात्र ‘सुपारी जोन’ घोषणा गरी छुट्टै बजेट पठाएको हो ।

मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकालाई समेटेर झापामा ‘सुपारी जोन’ कार्यक्रम लागू भएको जोनका प्रमुख राजेन्द्र खरेल बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत स्थापना भएको ‘सुपारी जोन’मा किसानलाई सुपारी खेतीतर्फ आकर्षित गर्नका लागि अनुदान तथा प्रोत्साहन दिन चालू आर्थिक बर्षमा रु. ३० लाख बजेट विनियोजन भएको खरेलले जानकारी दिए ।

उनका अनुसार झापामा हाल सुपारीको व्यावसायिक खेतीबाट २० हजार कृषक लाभान्वित भइरहेका छन् । दुई हजार ६३१ हेक्टर जग्गामा फैलिएको सुपारी खेतीबाट वार्षिक ९ हजार ७१० मेट्रिक टन सुख्खा सुपारी उत्पादन भइरहेको खरेलले बताए ।

सुपारी जोन सञ्चालन गरेपछि सुपारीको उत्पादन बढ्ने र यसमा आश्रित किसानहरुले नयाँ प्रविधि, सिञ्चाई, मल र कर्जा पाउने उनको भनाई छ ।

जिल्लामा सबैभन्दा बढी सुपारी उत्पादन हुने मेचीनगरका चारवटा वडा, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाको २ हजार हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको छ ।

हालसम्म किसानहरुले परम्परागत तरिकाले सुपारी खेती र उत्पादन गरिरहेकोमा अब जोनमार्फत प्राविधिक सेवा, प्रशोधन उद्योग, बजार र अनुदान बढी मात्रामा पाउने अपेक्षा गरिएको सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले बताए ।

परियोजना मार्फत सुपारी खेती गर्ने किसानलाई अब सरकारले प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिंचाई पूर्वाधारहरुमा ८५ प्रतिशत र कृषि व्यवस्थापन सेवा पूर्वाधारहरुमा ८५ प्रतिशत अनुदान प्रदान गरिने भएको छ ।

सुपारी खेती विकास संस्थाका अध्यक्ष खतिवडाले सरकारले किसानको चाहना अनुरुप नै जोन क्षेत्र निर्धारण गरेकोमा खुशी व्यक्त गर्दै बर्षौदेखि बजारीकरणमा भएको समस्या हल हुनेमा आशा व्यक्त गरे ।
सुपारी किसान विश्वनाथ ढकालले विगत ३ बर्षदेखि अढाई सय क्वीन्टल सुपारी निर्यात हुन नसक्दा गोदाममै थन्किएर बसेको बताउँदै सुपारी जोनले उत्पादनमा मात्र नभएर बजारिकरणमा समेत किसानलाई सघाउनु पर्ने सुझाव दिएका छन् ।

उहाँले विदेशबाट आयातित सुपारीलाई व्यापारीहरुले स्वदेशी सुपारीको कोटामा भारत निकासी गर्दै आएको हुँदा किसानले फलाएको सुपारीले बजार पाउन नसकेको गुनासो छ । तर जोन लागू भएपछि स्वदेशी उत्पादनले निकासीको अवसर पाउने किसानहरुले आशा गरेका छन् ।

झापामा धान जोनको स्थापना वि.सं. २०७२ सालमा भएको हो । तर रबर र सुपारी जोन भने चालू वर्षदेखि मात्र कार्यान्वयनमा आएको हो ।

१० बर्षे परियोजना अन्तरगत सुरु गरिएको कार्यक्रममा जोन सञ्चालन समिति गठनका लागि अभिमुखीकरण गोष्ठी धमाधम भइरहेको छ ।…

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: