काङ्ग्रेस मख्ख, एमालेलाई धक्का

  प्रकाशित मिति
२२ फाल्गुन २०७३, आईतवार २०:३२


भद्रपुर । नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा एमालेको लालकिल्ला भत्काउँदै झापामा आफ्नो वर्चस्व सावित गरेको छ ।

स्ववियूको चुनाव भएका झापाका १० वटा क्याम्पसमध्ये ७ वटामा नेविसङ्घ एक्लैले सभापति जितेको छ भने नेकपा एमाले निकट अनेरास्ववियूले २ वटा क्याम्पसमा र माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले एउटा स्थानमा मात्र जित हासिल गरेको छ ।

मेची अञ्चलकै सबैभन्दा ठूलो शिक्षण संस्था मेची बहुमुखी क्याम्पसमा इतिहासदेखिको वाम वर्चस्व तोड्दै नेविसङ्घले प्यानलै जितेको छ ।

झापाको काँकरभिट्टा, दमक बहुमुखी क्याम्पस, गौरीगञ्ज क्याम्पस, कनकाई आदर्श क्याम्पस, गरामनी क्याम्पस र शनिश्चरे क्याम्पसका नेविसङ्घले धेरैमा प्यानलै र सबैमा सभापति पद जितेको छ ।

एमाले निकट अनेरास्ववियूले गौरादह र चारआलीको त्रिदेव क्याम्पस मात्र जितेको छ । विर्तामोडको देवी क्याम्पसमा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापति मात्र जितेको छ ।

झापामा एमालेका प्रभावशाली नेताहरु केपी ओली र रविन कोइरालाको गृहनगरमा काङ्ग्रेस समर्थित नेविसङ्घको जितलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मेचीमा प्यानलै नेविसङ्घ
मेची वहुमुखी क्याम्पसमा गत बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावको परिणाम आइतवार विहानीपख सार्वजनिक भएको छ ।

जस अनुसार त्यहाँ नेविसङ्घको प्यानलै विजयी भएको छ । सभापतिमा नेविसङ्घका भुवन वुढाथोकी विजयी भएका छन् ।

उनले ३ सय ८३ मत प्राप्त गरे भने निकट्तम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका मनोज ताम्लीले २ सय ४६ मत ल्याए ।

सचिवमा ३ सय ५५ मत सहित नेविसङ्घकै मिराज पोख्रेल विजयी भएका छन् । सोही पदमा अनेरास्ववियुका विनोद भट्टराईले
३ सय ४ मत प्राप्त गरे ।

यस्तै कोषाध्यक्षमा नेविसङ्घकी सुहाङ्मा नेम्वाङ विजयी भएकी छन् । उनले ३ सय ४९ मत ल्याइन् भने अनेरास्ववियुका कृतिका कार्कीले २ सय ६९ मत प्राप्त गरिन् ।

सदस्यतर्फ नेवि सङ्घका नविन राजवंशी, सामिला सुव्वा, प्रविण ओझा, गोविन्द प्रसाद शिवाकोटी, कविता भण्डारी, दिपेश गुरुङ र प्रविण आचार्य विजयी भएका छन् ।

मेची बहुमुखी क्याम्पस भद्रपुरमा बुधवार मतदान भए पनि फर्जी मतको बिवादले मतगणना हुन सकेको थिएन । शनिबार साँझ ४ः३० बाट मात्र मतगणना सुरु भएको थियो ।

देशभरमा अनेरास्ववियू पहिलो

झापा । त्रिभुवन विश्वविद्यालयले यही फागुन १८ गते सञ्चालन गरेको स्ववियु निर्वाचन २०७३ को हालसम्म निर्वाचन भएका २ सय ५२ वटा क्याम्पसको पछिल्लो निर्वाचनको परिणाम सार्वजनिक गरेको छ ।

स्ववियु निर्वाचन २०७३ को पछिल्लो नतिजा देश भरीका क्याम्पसहरुबाट एमाले निकट अनेरास्ववियुले अग्रता कायम गरेको छ ।
हालसम्म अनेरास्ववियुले आङ्गिक क्याम्पस अन्तर्गत ९ वटा क्याम्पस र सामुदायिक क्याम्पस अन्तर्गत ९९ गरी १ सय ८ क्याम्पसमा बिजय हासिल गरी अग्रता कायम गरेको छ ।

त्यस्तैगरी, नेपाल बिद्यार्थी सङ्घले आङ्गिक क्याम्पस अन्तर्गत ९ र सामुदायिक क्याम्पस अन्तर्गत ७७ गरी ८६ क्याम्पसमा बिजय हासिल गरेको छ ।

माओबादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तीकारी)ले ४ आङ्गिक क्याम्पस र ४६ सामुदायिक क्याम्पसगरी ५० स्थानमा आफ्नो जित दर्ता गरेको छ ।

अन्य सङ्गठनहरुमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन ३ स्थानमा, नेपाल क्रान्तिकारी बिद्यार्थी सङ्घ १, सङ्घीय समाजबादी १, विप्लव १, नयाँ शक्ति १, अखिल छैटौँ १ स्थानमा बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: