मेचीनगर, १ असोज । झापामा आज १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
विहीबार झापामा थपिने संक्रमितमा ५ महिलासहित १० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिका–५, ८ र ९ नम्बर वडाका ५ महिला र १ जना पुरुष तथा मेचीनगरपालिका–११ का १ जना र ३ जना काठमाडौँ जिल्लाका छन् ।
दमकका २०, २०, ४३, ४७, ४९ र ८४ वर्ष उमेरका ६ जना स्थानीय हुन् भने मेचीनगरका ४३, ४८, ५६ र ५६ वर्ष उमेरका ४ जना कोरोना संक्रमित भारतबाट आएका स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
मेचीनगरका संक्रमित चारै जना काँकरभिट्टाको विभिन्न होटल क्वारेन्टिनमा बसेका हुन् ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ७७० पुगेको छ भने निको भएर घर फर्किएका ६३४ जना छन् ।
हालसम्म २४ हजार १७५ जनाको पीसीआर गरिएको छ भने १३३ जना सकृय संक्रमित रहेका छन् । अहिलेसम्म झापामा ३ जनाको मृत्यु भएको छ ।