झापामा १६ सय परिवार विस्थापित

  प्रकाशित मिति
७ असार २०७३, मंगलवार १७:४८


lakhanpur

विर्तामोड । झापाका विभिन्न खोलामा आएको बाढी र सहरी क्षेत्रमा पानीको सतह बढेपछि मंगलबार १६ सय परिवार विस्थापित भएका छन् ।
सोमवार रातिदेखिको अविरल वर्षाले मुख्य नदीहरू रतुवा, कनकाई, विरिङ, हँडिया, निन्दा र मेचीमा पानीको बहाव अत्यधिक बढेसँगै नदी किनारमा बसोवास गर्ने १६ सय परिवार विस्तापित भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

बाढीले कतिपय वस्तीलाई बगाउने खतरा छ भने डुबानले सयौँ परिवार अलपत्र परेका छन् । सदरमुकाम भद्रपुर, दमक र लखनपुर क्षेत्रमा अव्यवस्थित प्लटिङ तथा साँघुरा ढलको कारण आवास क्षेत्र जलमग्न भएका छन् ।

विरिङ, कनकाई र रतुवा नदीको बाढीले आसपासको क्षेत्रमा क्षति निम्त्याउने अनुमान गरिएको हुँदा सतर्कता अपनाउन प्रशासनले उद्धार टोलीलाई निर्देशन दिएको बुझिएको छ ।

भद्रपुर नगरपालिकाका डुबानमा परेका बस्तीबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको भद्रपुर नगरपालिका कार्यालयले जनाएको छ ।

लगातारको बर्षाले मेची, हँडिया, देउनिया नदी तथा झिल्मिलिया पैनीमा पानीको बहाव बढेपछि भद्रपुर नगरपालिकाको विभिन्न भाग डुबानमा परेको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताए ।

डुबान क्षेत्रमा परेका स्थानीयबासीलाई नजिकैका विद्यालयमा स्थानान्तरण गर्न प्रहरी तथा नगरपालिकाका कर्मचारीहरू परिचालित भएको कार्यकारी अधिकृत घिमिरेले बताए ।

देउनिया खोला आएको बाढीका कारण उक्त खोलाको पुल बगाएको छ । पुल भत्केपछि हल्दिबारीबाट भद्रपुर नगरपालिकाको लेखनाथ चोक आउन र लेखनाथ चोकबाट हल्दिबारी जाने मार्ग अवरुद्ध भएको छ ।

सुरक्षित स्थानमा आउने सर्वसाधारणका लागि सुख्खा खानेकुरा बाँड्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
प्रजिअ भुजेलले बाढी तथा डुवान क्षेत्रको विहानैदेखि अवलोकन गरिरहेका छन् । उनले भद्रपुर क्षेत्र सकेर दमक क्षेत्रको आगलागी र बाढी प्रकोपको अवलोकन गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार भद्रपुर नगरपालिकाका वडा नं ५ र १० मा गरी करीब ३५ घर डुवानमा परेका छन् । गरामनी बजार पश्चिमपट्टि करीब १० घर डुबानमा परेको रेडक्रसले जानकारी दिएको छ ।

झापाको दक्षिणी गाविस राजगढको जनता चोकमा ४ घर डुबानमा परेका छन् । सुरुङ्गा खोलामा आएको बाढीले सुरुङ्गा उत्तरपट्टि रहेको बस्तीका करीब २५ घर डुबानमा परेका छन् । खुदुनाबारी–९ का कुबेर गिरीको घरमा बाढी पसेपछि घरमा भएका भाँडाकुँडा अन्नबाली सबै बगाएको रेडक्रसले जानकारी दिएको छ ।

यसैगरी, रतुवा खोलामा आएको बाढीले दमक–१ का राजकुमार राईलाई बगाएकोमा स्थानीयवासी र प्रहरीले उनलाई उद्धार गरेर आम्दा अस्पताल दमकमा पुर्याएको प्रहरीले जनाएको छ ।

बाढीले २ किलोमिटरसम्म बगाउँदै गर्दा प्रहरीसहितको टोलीले राईलाई उद्धार गरेको थियो । त्यसैगरी दमक–९ लखनपुरमा पनि रतुवा खोलाको पानी बसेर ६ वटा घर जोखिममा परेको प्रहरीले जनाएको छ ।

दुहागढी–धाइजन जोड्ने व्यस्त सडकको पुल नबन्दा दुहागढीबासीलाई असुविधा भएको स्थानीय शिक्षक टेकेन्द्र ढकालले जनाएका छन् ।
ठेकेदारले पुल बनाउन ढिलासुस्ती गरेको र स्थानीय गाविसले निर्माणमा भइरहेको ढिलाइप्रति वेवास्ता दर्शाउँदा मङ्गलवार बाढी आउँदा सो सडकमा आवागमन ठप्प भएकोमा स्थानीयबासी आक्रोशित भएको ढकालले जनाए ।

धाइजन–९ गोजावस्तीका ५ घरमा टिमाइको बाढी पसेको स्थानीय मानबहादुर साँवाले जनाए । बाढी ती घरभित्र पसेपछि बासिन्दा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: