झापाबाट आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा ५ लाख १८ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् ।
गत फागुन ९ गतेसम्ममा ५ लाख ८१ हजार ८५६ जना मतदाताको नामावली दर्ता भए पनि आगामी स्थानीय तहको निर्वाचनमा भने ५ लाख १८ हजारले मात्र मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।
उनले फागुन ९ गतेसम्ममा १८ बर्ष उमेर नपुगेका मतदाताले मतदान गर्न नपाउने भएको हुँदा मतदाता नामावली दर्ता धेरै भए पनि मतदान गर्नेको संख्या कम भएको बताए । उनले १६ बर्षपुगेपछि मतदाता नामावली दर्ता गर्न सकिने प्रवधान भए पनि १८ बर्ष पूरा नभई निर्वाचनमा मतदान गर्ने अधिकार नभएको बताए ।
झापामा २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनपछि ६३ हजार ५७६ जना मतदाता थपिएका छन् ।
निर्वाचन अधिकारी आचार्यले निर्वाचन आयोगले कुन नगरपालिका र गाउँपालिकामा कति मतदाता छन् भन्ने तथ्यांक भने चैत २० देखि २२ गतेभित्र मात्र जिल्लामा पठाउने जानकारी दिए ।
जिल्ला विकास समितिबाट जिल्ला समन्वय समितिमा रुपान्तरित भएपछि झापामा ८ नगरपालिका र ७ गाउँपालिका भएका छन् भने झापामा ३१ दल जिल्ला निर्वाचन कार्यालयमा सूचीकृत भएका छन् ।