मेचीनगर । झापामा कोरोना भाइरसको संक्रमण बढेसँगै शंका लागेका हालसम्म जिल्लाका ६०० जनाको स्वाब (पीसीआर) को परिक्षण गरिएको छ ।
जिल्लामा ६०० जनाको पीसीआर परिक्षण गरिएकोमा ३५ जना संक्रमित भएका छन् भने ५० जनाको रिर्पाट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागााईले जानकारी दिए ।
५० जनाको पीसीआर रिर्पाट दुई दिनभित्रमा आइपुग्ने उनले बताए । कचनकवल, बाह्रदशी गाउँपालिका, भद्रपुर, बिर्तामोड, मेचीनगर नगरपालिका लगायतका पालिकाहरु रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
३५ जना संक्रमितमा ३३ जना कचनकवल गाउँपालिकाका छन् भने २ जना बाह्रदशी र दमक नगरपालिकाका हुन् ।
बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका दुवै जना निको भएर घर फर्किइसकेका छन् ।
फोकल पर्सन चौलागााईका अनुसार झापामा १ हजार ८ सय जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएको छ ।
यसअघि आरडीटी टेष्टमा हल्दीबारी गाउँपालिकाका एक व्यक्तिमा एण्टीबढी पोजेटिभ आएको थियो ।
त्यस्तै भारतबाट लुकिछिपि काँकरभिट्टा आइपुगेका ३१५ जना मध्ये १५ जनामा एण्टीबढी पोजेटिभ भेटिएको छ ।
विहीबार आइपुगेका उनीहरु काँकरभिट्टा माविको होल्डिङ सेन्टर, धाइजनको स्वास्थ्य चौकी र इटाभट्टा स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका थिए ।
शुक्रबार १ नम्बर प्रदेश सरकारको पहलमा आरडीटी टेष्ट गर्दा एण्टीबढी पोजेटिभ भेटिएको चौलागाईले बताएका छन् ।
एण्टीबढी पोजेटिभ भेटिएकाको पीसीआरको टेष्ट गरेपछि मात्र कोरोना भाइरस लागेको होकी, होइन थाहा हुने उनको भनाई छ ।
एण्टीबढी पोजेटिभ भेटिएका मेचीनगरमा रहेका १५ जनाको शनिबार पीसीआर टेष्ट गरेर विराटनगरको प्रयोगशालामा पठाइने जनाएको छ ।
।। अर्जुन कार्की ।।