झापा, ४ मङ्सिर । प्रदेश नं १ मा विद्यार्थीलाई निःशुल्क सिम दिएर अनलाइन कक्षा पढाउन ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु गरिने भएको छ ।
पहिलो चरणमा झापासहित ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम लागू गरिने प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताए ।
झापाको कमल र कचनकबल गाउँपालिकामा यो कार्यक्रम लागू हुनेछ । त्यसैगरी, धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, र मोरङको केराबारी गाउँपालिकामा ‘हेल्लो विद्यार्थी कार्यक्रम’को सम्झौता भइसकेको निर्देशक बुढाथोकीले बताए ।
मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उनले बताए ।
नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सियुभी सिम मार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको भनाइ छ ।
विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने सियुजी सिममा १ सय २९ रुपैयाँले एक महिना पुग्ने उनले बताए ।
निर्देशक बुढाथोकीका अनुसार विद्यार्थीका लागि सित्तैमा सिम दिइने र तीन महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा ब्यालेन्सको व्यवस्था गरिने छ ।
नेपाल सरकारको सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताइएको छ ।
स्थानीय तहका २५० शिक्षक र ५०० विद्यार्थीको कोटा निर्धारण गरिएको छ । रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार विद्यार्थी छनोट गर्दा गरिबभित्रको पनि गरिबलाई छनोट गर्नुपर्ने छ । विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोबाइलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ ।
अभिभावकको मोबाइल हुने हुँदा विद्यार्थीको पठन पाठनबारे अभिभावकसँग पनि जानकारी लिन सकिने बुढाथोकीले बताए ।
अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरी कार्यक्रम तयार गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन् ।
कोरोनाको सङ्क्रमण कहिलेसम्म भन्ने यकिन नभएकाले पठनपाठन कार्यलाई अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाइ शुरु गर्ने तयारी गरेको उनले बताए ।
‘हेल्लो विद्यार्थी कार्यक्रम’का लागि सामाजिक विकास मन्त्रालयले एक लाख ५० हजार रुपैयाँ र स्थानीय तहले एक लाख रुपैयाँ व्यहोर्ने छन् ।