झापा, ७ जेठ । भारतको पश्चिम बङ्गाल र विहारसँग खुला सीमा जोडिएको मुलुककै ठूलोमध्येको जिल्ला झापा अब प्रदेश नं. १ मा कोभिड १९ को इपिसेन्टर बन्ने सम्भावना बढेको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधवार झापाका विभिन्न कार्यक्रममा बोल्ने क्रममा झापामा खतराको घण्टी बजेको सङ्केत गरे ।
विर्तामोडमा पत्रकारहरुको स्वाव संकलनमा छोटो मन्तब्य दिएर भद्रपुरको कोरोना रोकथामका लागि गठित जिल्लास्तरीय नियन्त्रण तथा अनुगमन समितिको बैठकमा पुगेका मन्त्री घिमिरेले झापा ‘डेन्जर जोन’मा परेको दोहोर्याए ।
संक्रमितको बढ्दो तथ्याङ्कले पनि झापा इपिसेन्टर बन्ने सम्भावना देखिएको छ ।
बु्धवारसम्ममा प्रदेशभरमा उदयपुरमा कोरोनाका सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यहाँ ३३ जना संक्रमित छन् ।
त्यसपछि झापामा १७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना र सुनसरीमा ३ जना संक्रमित भइसकेका छन् । खोटाङ र भोजपुरमा एक एक जना संक्रमित छन् ।
झापाको काँकरभिट्टा, कचनकबल, टाघनडुब्बा र गौरीगञ्जबाट सयौंको संख्यामा भित्रिरहेका नेपालीहरुका कारण समेत झापा प्रदेशको ‘डेन्जर जोन’मा परेको हो ।
भारतबाट चार दिन अघि नेपाल आएका ११ जनामध्ये कचनकबलका १० जनामा कोरोना पोजेटिभ नतिजा आएपछि त्रास उत्पन्न भएको छ ।
स्रोतका अनुसार कचनकबलमा भारतबाट हालै आएका ६५ जना सबैको नतिजा आइसकेको छैन । उनीहरुको के नतिजा आउने हो भन्न सकिने अवस्था छैन ।
यसैगरी, भारतलगायत विदेशबाट धेरै अघि आएर होम क्वारेन्टाइनमा बसेका मेचीनगरका २६ जनाको पीसीआर जाँचका लागि स्वाव पठाइएको छ । यसको पनि नतिजा आइसकेको छैन ।
दुई दिनयता भारतबाट आएका ३०० देखि ५०० सम्म नेपालीलाई विभिन्न होल्डिङ सेन्टर र क्वारेन्टाइनमा राखिएको छ । उनीहरुमध्ये धेरैको आरडीटी परीक्षण गरिएको छ भने कतिपयको पीसीआरका लागि स्वाव पठाइएको छ ।
पछिल्लो समय भारतबाट आउनेमा कोभिड संक्रमण बाक्लै देखिन थालेकाले झापामा उच्च सतर्कताको जरुरी देखिएको छ ।
बुधवार रातिदेखि विर्तामोडका चारै सडक सिल गरिने कारण पनि कोरोनाको संख्या बढ्दै गएकाले नै हो ।
(यो पनि पढ्नुहोस् -झापाका आज ५ थपिए)
(यो पनि पढ्नुहोस् – अब झापामै कोभिड अस्पताल र पीसीआर प्रयोगशाला बन्ने भो)