झापा, इलाम र पाँचथर जोड्ने ‘फाल्गुनन्द सर्किट’को अवधारणा

  प्रकाशित मिति
२५ बैशाख २०७६, बुधबार ०७:१८


अम्बिका भण्डारी
भद्रपुर (रासस) । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले जन्म लिएको, ज्ञान प्राप्त गरेको र समाधि लिएको ऐतिहासिक स्थानहरुलाई धार्मिक मार्गमा समेटेर ‘फाल्गुनन्द सर्किट’ बनाउन सके विश्वभरिका पर्यटकहरुको आकर्षण बढ्ने सम्भावना छ ।

किरात धर्मावलम्बीहरुको महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने २००५ साल चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए ।

झापा, इलाम र पाँचथर जिल्लाका स्थानीय तहहरु मिलेर ‘फाल्गुनन्द सर्किट’को निर्माण र प्रचारप्रसार गर्नु पर्ने संविधानसभा सदस्य प्रेम गिरीको धारणा छ । यदि यो अवधारणामा जाने हो भने विश्वभरिका किरातहरुको धार्मिक केन्द्र बन्ने र यसबाट नेपालको धार्मिक पर्यटनमा नयाँ आयाम थपिने उनको भनाई छ ।

राष्ट्रिय विभूति फाल्गुनन्दले दश थुमका लिम्बु र १७ थुमका किरातीहरुलाई आजभन्दा ८८ वर्ष अघि पाँचथरको लब्रेकुटीमा वृहत चुम्लुङ (भेला) गराई तत्कालीन समाजमा भएका विकृति, विसङ्गति र कुसंस्कारहरुलाई हटाउन सत्यधर्म मुचुल्कामा सहीछाप गराएको घटना चर्चित रहेको छ ।

किरात समुदायमा मासांहार, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिनु भएको सन्देशका कारण उनलाई महान समाज सुधारक मानिएको छ । उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको छ भने हुलाक टिकट प्रकाशित गरेको छ ।

इलामको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोका अनुसार ‘फाल्गुनन्द सर्किट’को प्रस्ताव सङ्घीय र प्रदेश सरकारसमक्ष औपचारिक रुपमै पेश भइसकेको छ । यस अवधारणामा झापाको अर्जुनधारा नगरपालिका, इलामको माई नगरपालिका, इलामकै माङ्सेबुङ गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई समेट्ने प्रस्ताव गरिएको छ ।
किरात धर्म र संस्कृतिका अध्येता भगिहाङ नेम्वाङ महागुरु फाल्गुनन्दको जन्मस्थल चुक्चिनाम्बा र समाधिस्थल सिलौटीको धार्मिक विकास तथा प्रचारप्रसारमा सरकारको ध्यान नपुगेको बताउँछन् । त्यहाँ स्थानीय तहमा केही विकासको प्रयास भए तापनि बजेट अभावमा उल्लेख्य काम हुन सकेको छैन ।

महागुरु फाल्गुनन्दले जन्म लिएको चुक्चिनाम्बामा भत्किएका पर्खालहरु बाँकी रहेका छन् । विगतमा निजी स्वामित्वमा रहेको सो पर्खाल भएको ऐतिहासिक जग्गालाई संरक्षण गर्ने गरी हाल लारुम्बास्थित धार्मिक संस्थामा स्वामित्व सारिएको छ । सडक पुगेको भए तापनि त्यहाँ सामान्य मन्दिर मात्र रहेको छ ।

‘फाल्गुनन्द सर्किट’को प्रवेश विन्दु झापाको अर्जुनधारा नगरपालिकालाई बनाउन सकिने र इलामको माई नगरपालिकाको दानावारी, माङ्सेबुङ गाउँपालिकाको लारुम्बा, रवि, राँके हुँदै पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित लेब्रेकुटी र सिलौटीलाई महत्वपूर्ण धार्मिक करिडरको रुपमा विकसित गर्न सकिने संविधानसभा सदस्य गिरीको प्रस्ताव छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा पहिल्यैदेखि चिनिएको झापाको अर्जुनधारामा फाल्गुनन्दको पूर्णकदको शालिक, फाल्गुनन्द शान्ति वाटिका, किरात माङहिम लगायतका धार्मिक महत्वका स्थलहरु निर्माण भइसकेको छ ।

भूटानी शरणार्थीहरुले आश्रय लिएको अर्जुनधारा–३ कैदलेस्थित शिविरस्थलमा फाल्गुनन्द शान्ति बाटिका, फाल्गुनन्द मिङसो माङहिम र फाल्गुनन्द पोखरी निर्माण भइसकेको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्य बताउछन् । ‘फाल्गुनन्द सर्किट’को विकास र प्रबर्धनमा सघाउन अर्जुनधारा नगरपालिका इच्छुक रहेको उनले बताइन् ।
अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ को सीमामा पर्ने खुदुनावारी बजारको चोकमा साढे सात फिट अग्लो र करीव ६ सय किलोग्राम तौलको फाल्गुनन्दको शालिक स्थापना गरिएको छ ।

स्थानीय मूर्तिकार भक्तबहादुर राईले कुँदेको सो शालिक स्थापना गर्न रु. १२ लाख ७५ हजार खर्च भएको किरात याकथुङ चुम्लुङ खुदुनावारीका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
‘फाल्गुनन्द सर्किट’को सबैभन्दा महत्वपूर्ण स्थान इलामको माङ्सेबुङ–५ स्थित लारुम्बा धार्मिकस्थल हो । जहाँ किरात धर्मका गुरु आत्मानन्द लिङ्देनको आश्रम रहेको छ । विश्वभरिका किरातहरुको धार्मिक केन्द्रको रुपमा विकास भइरहेको लारुम्बामा गुरु आश्रमसहित विश्व किरात मुन्धुम पाठशाला, सेवा सावा (पुजारी) प्रशिक्षण केन्द्र, किरात लिपी पाठशाला आदि रहेको छ ।

अर्जुनधाराबाट ३५ किलोमिटर उत्तरमा लारुम्बा धार्मिक स्थल छ भने त्यहाँबाट रवि हुँदै पाँचथरको लेबे्रकुटी र सिलौटी पुग्न करीव ६० किलोमिटर सडक मार्ग छिचोल्नु पर्दछ । झापाको दमक हुँदै इलामको रवि चिसापानी र पाँचथरको लेब्रेकुटी–सिलौटी जोड्ने सडकको नाम फाल्गुनन्द मार्ग प्रस्ताव गरिएको छ भने झापाकै विर्तामोडदेखि अर्जुनधारा, इलामको माई र माङ्सेबुङ जोड्ने सडकमार्गलाई ‘आत्मानन्द मार्ग’ नामाकरण गर्नु पर्ने प्रस्ताव गरिएको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष इधिङ्गो बताउँछन् ।

किराती धार्मिक स्थलकै नामबाट बनेको इलामको माङ्सेबुङ गाउँपालिकाले यो वर्ष लारुम्बा धार्मिक स्थलको विकास र संरक्षणका लागि रु. १ करोड ५० लाखभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए । उनका अनुसार प्रदेश र सङ्घीय सरकारबाट प्राप्त बजेट जोड्ने हो भने बिनियोजित बजेट रु. ५ करोड पुग्नेछ ।

लारुम्बा धार्मिक स्थललाई नेपाल सरकारले मुलुकको सय वटा पर्यटकीय गन्तब्यको सूचीमा राखेको छ । प्राप्त भएको बजेटबाट लारुम्बा क्षेत्रमा चक्र पथ, विद्यालय भवन र मन्दिर बनिरहेका छन् । ‘फाल्गुनन्द सर्किट’को अवधारणालाई सरकारले स्वीकृत गरेमा धार्मिक विकासका लागि अझ धेरै बजेट आउने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष इधिङ्गो बताउँछन् ।

झापाको काँकरभिट्टा स्थल नाका र चन्द्रगढी विमानस्थल भएर भित्रिने पर्यटकहरुलाई ‘फाल्गुनन्द सर्किट’ले आकर्षण गर्ने भएकाले सरकारले यसको विकासका लागि ठोस अध्ययन र योजना ल्याउनु पर्ने आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का १ नं. प्रदेश अध्यक्ष दिपीन राईको धारणा छ ।

अर्जुनधारादेखि नै शालिक, मठमन्दिर र स्मारकहरु बनाउँदै लगियो भने लारुम्बा, सिलौटी र लेबे्रकुटी जाने धार्मिक पर्यटकहरुले तीर्थयात्राको सार्थक अनुभूति गर्ने पत्रकार राई बताउँछन् ।  यसैविच, अर्जुनधाराको खुदुनाबारी चोकमा नवनिर्मित महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक अनावरण समेत भइसकेको छ । लारुम्बास्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनले शालिकको अनावरण मङ्गलबार गरेका छन् ।

अनावरण कार्यक्रममा एक नम्बर प्रदेशका प्रमुख प्रा.डा. गोविन्द तुम्याहाङ अतिथिको रुपमा सहभागी भएको निर्माण समितिका अध्यक्ष महेन्द्र आङ्देम्बेले बताए ।
८९ औं किरात समाज सुधार दिवस पारेर शालिक अनावरण गरिएको शालिक साढे सात फिट अग्लो र करीव ६ सय किलोग्राम तौलको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: