भद्रपुर । झापा कारागारका कैदी बन्दीका लागि औषधि खरिदमा पर्याप्त बजेट नहुँदा समस्या भएको कारागार प्रमुख राजेन्द्र निरौलाले बताउनुभयो ।
उहाँका अनुसार अढाई सय अट्ने क्षमता भएको कारागारमा हाल पुरुष एक हजार २८ र महिला ९२ जना गरी एक हजार १२० कैदीबन्दी रहेका छन् । सानो ठाउँमा खचाखच कैदी बन्दी बस्नुपर्ने बाध्यताले प्रायः दैनिक १० जना भन्दा बढी विरामी हुने गरेका छन् ।
कारागारमा दमका रोगी, मुटु रोगी, एचआइभीका विरामी पनि छन् । यति धेरै कैदी बन्दी रहेको कारागारमा सरकारले औषधि उपचार खर्चका लागि चालु आर्थिकमा रु. १३ लाख मात्र बजेट विनियोजन गरेको प्रमुख निरौलाको भनाई छ । ‘यो बजेटले ६ महिना पनि धान्दैन’, उहाँ भन्नुहुन्छ, ‘साँघुरो बसाई, फोहोर मैलालगायतका कारण उनीहरु विरामी नभएको दिन नै हुँदैन । बाँकी छ महिना उपचारका लागि सहयोग गरिदिने दाताको खोजीमा छौं ।’
उहाँले गत बर्ष सरकारले रु. १८ लाख बजेट विनियोजन गरे तापनि खर्च रु. २० लाख भएको बताउनुभयो । चालु आर्थिक बर्ष २०७६÷०७७ मा पठाएको रु. १३ लाख खर्चबाट गत बर्षको दुई लाख औषधिको बक्यौता तिरेको र बाँकी रहेको रु. ११ लाखले मुश्किले छ महिना मात्र पुग्ने उहाँले बताउनुभयो ।
उहाँले कैदी बन्दीमा प्रायः जसो छाला र भाइरल फिबरको समस्या भएको बताउँदै भन्नुभयो, ‘दुई सय बढीमा यो समस्या थियो स्वास्थ्य कार्यालय झापा, भद्रपुर नगरपालिकाको औषधि सहयोग र ओमसाइ पाथीभरा हस्पिटलको प्र्राविधिक सहयोगमा केही न्यूनीकरण भएको छ ।’
विभिन्न परिबन्दमा परेर कैदी जीवन विताइरहेकाहरुलाई पाथीभरा हस्पिटलको विशेषज्ञ डाक्टरको टोलीले महिनामा एकपटक कारागारमा आएर निःशुल्क स्वास्थ्य जाँच गरेर सहयोग गरिरहेको उहाँले बताउनुभयो ।
प्रमुख निरौलाले अब तीन महिना जतिलाई मात्र औषधि खरिद गर्ने बजेट रहेको हुँदा मानवीय नाताले कारागारमा थप औषधि खरिदमा समस्या हुन नदिन सरकारी तथा गैर सरकारी र सामाजिक संघसंस्थाहरुसँग सहयोगको अपील गर्नुभएको छ ।