झापा गापाको सभापतिमा सागिरथ चुनाव अघि नै निर्विरोध

  प्रकाशित मिति
४ आश्विन २०७८, सोमबार १०:२८


झापा, ४ असोज । पन्ध्र वटा पालिका रहेको झापा जिल्लामा गाउँ सभापति नै सर्वसम्मत चयन गर्नेमा पहिलो बनेको छ झापा गाउँपालिका ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गाउँ नगरस्तरीय निर्वाचनको चुनावी सरगर्मी बढिरहेको बेला झापा गाउँपालिकाको सभापतिमा ५५ बर्षीय सागिरथ गणेश सर्वसम्मत भइसकेका छन् ।

नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले उनलाई निर्विरोध सभापति चयन भएको घोषणा गर्न मात्र बाँकी रहेको बताए ।

“सर्वसम्मत सभापतिमा सागिरथजीलाई चयन गरियो”, उनले भने, “तर हाम्रो विधि र प्रक्रिया बाँकी छ । असोज ९ गते उहाँलाई आधिकारिक सभापति भएको घोषणा गर्छौ ।”

झापा गाउँपालिकाको सबै ७ वटा वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ ।

आदिवासी मधेशी समुदायको बाहुल्य सो पालिकामा गणेशको नेतृत्वमा गाउँ कार्य समिति नै सर्वसम्मत भएको नेपाली कांग्र्रेसका क्षेत्रीय सभापति समेत रहेका झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

गणेशको नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल, सचिवमा संजय गणेश र प्रताप विश्वकर्मा र सहसचिवमा सफिउल्ला अन्सारी छन् ।

पार्टीका जिल्ला सभापति थापाले अन्य पालिकाले नेतृत्व चयनका लागि झापा गाउँपालिकाबाट शिक्षा लिनुपर्ने बताए । गाउँ सभापति सर्वसम्मत गणेश यसअघि क्षेत्रीय सदस्य थिए । पालिकामा २५६ जना कांग्रेसका क्रियाशील सदस्य छन् ।

झापामा १५ पालिका छन् । अरु गाउँ तथा नगर सभापतिका लागि हरेक पालिकामा तीन जनाभन्दा बढी आकांक्षीले उम्मेद्वारी घोषणा गर्दै मत मागिरहेका छन् । तर झापा गाउँपालिकामा वडा तहको निर्वाचनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाका सभापतिहरुको संयुक्त भेलामा गाउँ सभापति पदमा गणेशको एक मात्र नाम आएको थियो ।

“उहाँ जुझारु, इमानदार र सबैका प्रिय नेता हुनुहुन्छ,” गाउँपालिकाका अध्यक्ष साहले सर्वसम्मत चयनका बारेमा भने–“सबै क्षेत्रीय प्रतिनिधि र अरु साथीहरुले उहाँलाई सर्वसम्मत सभापति बनाउने विषयमा निर्णय नै गरिसक्नु भयो ।”

पार्टीको निर्वाचन कार्यतालिका अनुसार नगर तथा गाउँको अधिवेशन यही असोज ९ गते हुँदैछ । झापा गाउँपालिकाको सभापतिसहित कार्य समितिका सबै पदमा सर्वसम्मत उम्मेद्वारी दर्ता गरेर निर्विरोध निर्वाचित गराउने स्थानीय पार्टी कार्यकर्ताहरुको सहमति भएको छ ।

सर्वसम्मत गाउँ सभापति चयन हुनुभएको गणेशले २०४६ सालदेखि पार्टीमा क्रियाशील भएको र २०४८ सालमा क्रियाशील सदस्यता पाएको बताए । उनले आफु कुनै गुटमा नलागेको जनाउँदै आम कार्यकर्ताले सर्वसम्मत गाउँ कार्य समिति चयन गरेर पार्टी एकढिक्का भएर सहमतिमा अघि बढेको सन्देश दिन चाहेको बताए ।

गुट र विवादबाट टाढा रहेर सबैको भावना बमोजिम पार्टीलाई एकढिक्का र बलियो बनाएर लैजाने आफुले सोचेको उनले बताए ।

झापा गाउँपालिकाबाट उत्साहित जिल्लास्तरीय नेताहरु अन्य नगर तथा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न सकिन्छ कि भनेर दौडधुप गरिरहेका छन् ।

झापामा १३१ वटा वडामा एक जना पनि महिला सभापति पार्टीले निर्वाचित गराउन सकेन । हालसम्म गाउँ तथा नगरस्तरमा समेत पुरुषहरुले आकांक्षा देखाइरहँदा एकजना महिलाले पनि सभापतिमा दाबी गरेको देखिदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: