झापा गापामा भारतीय एसएसबीद्वारा २० विगाहा नेपाली भूमि अतिक्रमण

  प्रकाशित मिति
४ जेष्ठ २०७७, आईतवार ११:२५


सीमा क्षेत्रको अवस्थाबारे बैशाख १९, २२ र २३ गते अनुगमनमा निस्किएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिको टोली । तस्वीर ः लोकराज ढकालको फेसबुकबाट

 

भद्रपुर, ४ जेठ । ः झापा गाउँपालिका वडा नं. १ मा रहेको स्यालमारामा भारतले २० विगाहा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो ।

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत ७ वर्षदेखि भारतीय एसएसबीले सो जग्गामा नेपालीलाई भोगचलन गर्न नदिएको बताए । त्यसअघि नेपालीहरुले सो जग्गामा खेती गर्दै आएका थिए ।

भारतको विहार प्रान्तसँग सीमा जोडिएको सो स्थानमा रहेको १११ नं. सीमास्तम्भ माओबादी द्वन्द्वका बेला हराएको थियो । सीमास्तम्भ हराएपछि भारतीय एसएसबीले नेपालीलाई सीमास्तम्भ उखेलेर लगेको आरोप लगाउँदै २० विगाहा जग्गा कब्जा गरेको गाउँपालिकाका अध्यक्ष साहले बताए ।

‘नेपालको भूमि हो भनेर जानीजानी भारतीय एसएसबीले स्यालमाराको २० विगाहा नेपाली भूमि कब्जा गरेको छ,’ गाउँपालिकाका अध्यक्ष साहले भने–‘आफ्नो जग्गा खनजोत गर्न जाँदा हतियार देखाएर अवरोध पुर्याइने गरेको छ ।’

उनका अनुसार अतिक्रमित भूमि स्थानीय १२ जना नेपालीको नम्बरी जग्गा हो । जग्गाको धनीपूर्जा नेपालीहरुसँगै छ भने सोको मालपोत जग्गाधनीहरुले तिरिरहेका छन् । भारतीय सुरक्षाकर्मीले उक्त जग्गामा स्थानीय जग्गाधनीलाई भोगचलन गर्न निषेध गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाले भारतसँग जोडिएका सीमावर्ती स्थानका सुरक्षा पोस्टहरुको अनुगमन गरी पारित गरेको प्रतिवेदनमा समेत भारतद्वारा गरिएको भूमि अतिक्रमण बारे उल्लेख छ ।

सङ्घीय सांसद्, प्रदेश सांसद, पालिकाहरुका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितिमा समितिले यही बैशाख १९, २२ र २३ गते भारतसँग सीमा जोडिएको झापाको उत्तरी मेचीनगरको पाटापुरदेखि दक्षिणी गौरीगञ्जसम्मको १४४ दशमलव २ किलोमिटर लामो सीमाक्षेत्रको स्थलगत अनुगमन गरेको थियो । अनुगमनको प्रतिवेदन शनिवारको बैठकले पारित गरेको छ ।

अनुगमन प्रतिवेदनमा झापा गाउँपालिकाको वडा नं. १ स्यालमारा भन्ने सीमा क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको पाइएको हुँदा सो भूमि फिर्ता गराइनु पर्ने उल्लेख गरिएको छ ।

अनुगमन समितिले प्रतिवेदनमा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि बर्षायाम सुरु भएको हुँदा तत्काल रेनकोट, गमबुटको व्यवस्था गर्नुपर्ने, अस्थायी पोस्टहरुलाई हावापानीबाट सुरक्षित हुने गरी स्थायी संरचनामा बदल्नुपर्ने, पोस्टसम्म पुग्ने बाटो निर्माण गरिनुपर्ने, वाटरसिल शौचालय निर्माण गरिनुपर्ने, सशस्त्र प्रहरी गणलाई नयाँ सवारी साधन उपलब्ध गराइनु पर्ने, सशस्त्र प्रहरीको विओपीहरुमा चारचक्के सवारी साधन उपलब्ध गराइनुपर्ने लगायतको सुझाव दिइएको अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताए ।

उनका अनुसार प्रतिवेदनमा सीमा क्षेत्रमा दीर्घकालीन रुपमा सुरक्षा पोस्ट राखेर स्थायी संरचना निर्माण गर्न, जनशक्तिको थप व्यवस्थापन गर्न, सीमा क्षेत्र केन्द्रित मोवायल टावरहरु विस्तार गर्न, एक पोस्टबाट अर्को पोस्टसम्म निगरानी गर्न सीसी क्यामेरा जडान गर्न र मेचीपारीको नेपाली वस्तीसम्म पुग्न पुलको व्यवस्था गर्न सुझाव दिइएको छ ।

अम्बिका भण्डारी (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: