झापा जागेको दिन

  प्रकाशित मिति
६ बैशाख २०७४, बुधबार १२:१६


rajanलोकतन्त्र प्राप्तिका खातिर नेपाली नागरिकले जति सङ्घर्ष गर्नु परेको इतिहास विश्वमा अन्यत्र शायदै पाइएला । जहाँनिया राणाशासन ढालेर २००७ सालमा ल्याएको प्रजातन्त्र २०१७ सालमा राजा महेन्द्रबाट अपहरण भयो । प्रजाबाट नागरिक बन्न नेपालीले २००७, २०४६ र २०६२ सालमा भीषण जनाआन्दोलन गर्नु पर्यो । २०५२ देखि २०६२ सम्म त राजतन्त्रविरुद्ध नागरिकले सशस्त्र सङ्घर्ष नै गरे । आफु मरेर भए पनि भावी पुस्तालाई लोकतान्त्रिक शासन भएको समृद्ध नेपाल हस्तान्तरण गर्ने सपना बोकेर हजारौ सपुतहरुले बलिदान गरेका छन् । यही सिलसिलामा २०६३ साल बैशाख ६ गते (आजकै मिति)मा झापाको चन्द्रगढीमा सुरज विश्वास र राजन गिरीले शहादत प्राप्त गरेका थिए । शाही सत्ताविरुद्ध सिङ्गो झापा जुरुक्कै उठेको त्यो दिनलाई लोकतान्त्रिक आन्दोलनको इतिहासमा अविस्मरणीय दिनको रुपमा सम्झना गरिने छ ।

शान्तिपूर्ण रुपमा निस्किएको विशाल जनसमुदायको जुलुसमाथि तत्कालीन शाही सत्ताको आदेशमा बर्बरतापूर्वक गोली बर्षाइएको कारण नेपाली आमाका होनहार सन्तानहरु सुरज र राजनले जीवन गुमाउनु पर्यो । लोकतन्त्र माग्दा कलिला युवाले गोली थाप्नु पर्ने बिडम्बना त्यसबेला थियो । आज सहादतको स्मृतिमा दुबै जना झापाली सपुतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ र फेरि त्यस्तो कालो दिन कहिल्यै नदोहोरियोस् भन्ने विषयमा चनाखो बन्न समस्त लोकतन्त्रप्रेमीहरुलाई आह्वान पनि गर्दछौँ । स्व. सुरज र राजनको परिवारमा हार्दिक समवेदना समेत व्यक्त गर्दछौँ ।

आज नेपालीहरुले लोकतन्त्रको नाममा जेजति स्वतन्त्रता, अधिकार र सुविधा भोग्न पाएका छौँ, त्यसको जगमा तिनै सहिदहरुको बलिदानको बलियो पृष्ठपोभूमि छ । हिजो जङ्गलमा बसेर बन्दुक बोक्नेहरु आज प्रधानमन्त्री र उपराष्ट्र«पतिको गरिमामय कुर्सीमा आसिन छन् । जनआन्दोलनको नेतृत्व गर्ने दलका प्रतिनिधिहरु कोही राष्ट्रपति छन्, पटक पटक मन्त्री भएका छन् । जनआन्दोलनको पछिल्लो उतकर्षको रुपमा संसारले चिनेको २०६२ साललाई विर्सने हो भने मुलुकले अग्रगति लिन सक्दैन । सहिदले त्यसबेला केही नेताले मात्र मोजमस्ती गर्न पाउने लोकतन्त्र ल्याउनका लागि जीवनको आहुती दिएका थिएनन् । सीमान्त वर्गको झुपडीहरुमा आजसम्म लोकतन्त्रको आलोक झल्मलाउन सकेको छैन । तसर्थ, सहिदको सपना र जनताको भावनालाई आत्मसात गर्दै लोकतन्त्रको सुन्दर आभाले हरेक नेपालीको मुहार हँसिलो तुल्याउन हिजोको परिवर्तनकारी राजनीतिक शक्तिविच एकता र सहकार्यको यात्रा अझै पनि आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: