२०७१ मङ्सिर १० गतेदेखि झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रही २०७२ माघ ४ गतेदेखि सोही जिम्मेवीमा भक्तपुर जिल्लामा सरुवा भई जाँदैछु ।
मैले यहाँ पुग अपुग १४ महिना राष्ट्र सेवा गरेँ । यो अवधि सामान्य भने थिएन । संविधान निर्माण अघि–पछिका आन्दोलन र गत बैशाख १२ गतेको विध्वंशकारी भूकम्पले गर्दा मेरो कार्यकाल अत्यन्त व्यस्त, चुनौतीपूर्ण र जिम्मेवारीयुक्त रहेको अनुभूति गरेको छु ।
यस असहज परिस्थितिमा समेत मेरो मुख्य जिम्मेवारीभित्र पर्ने शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा गम्भीर अप्रिय घटनाहरू भएनन् । भूकम्प पीडितहरूको लागि राहत व्यवस्थापन गर्ने कार्यमा समेत हामी अग्रणी रह्यौँ ।
तीन करोड बढी नगद हामीले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सक्यौँ भने छिमेकी मुलुक तथा झापावासीहरूको सहयोगमा प्राप्त झण्डै एक अरव बरावरको जिन्सी खाद्यान्न भूकम्प अति प्रभावित जिल्लाहरूमा पठाउन सक्यौँ ।
यसैगरी, सबैको सहयोग, सद्भाव र प्रेरणा प्राप्त गरेर जिल्लाका र नागरिकका समस्या समाधान गर्ने प्रयत्न गर्यौँ । मूलतः यस अवधिमा स्थानीय प्रशासन र जिल्लावासीविचको दूरी कम गर्ने, सेवाग्राहीका समस्यालाई आफ्नो समस्या ठानेर निकास खोज्ने प्रयत्नहरू पनि भए ।
संविधान निर्माण पश्चात छिमेकी मुलुकबाट भएको अघोषित नाकाबन्दीबाट सिङ्गो झापावासी पनि मर्माहत, पीडित भएको यथार्थ हामीसँग छ । यस सङ्कटको घडीमा समेत कत्ति पनि विचलित नभई राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरताको पक्षमा खडा हुने झापावासीलाई हार्दिक सम्मान नगरी रहन सक्दिन ।
मैले जिल्लामा जे जति गर्न सके झापावासीकै सहयोगबाट गर्न सकेँ र जे सकिन मेरै कमजोरीले गर्न सकिन । हरेक क्षेत्रमा झापाको बेग्लै र अग्रणी पहिचान छ । अरुले झापाबाट धेरै सिक्न बाँकी छ । झापा मेरो सपनाको जिल्ला पनि हो । यसँग सान्निध्यता गाँस्न म अत्यन्त लालायित पनि थिएँ । संयोगले यो अवसर प्राप्त भयो । धेरै कुरा यहाँबाट सिके । यहाँको सकारात्मक र सिर्जनशिल व्रिmयाकलाप, गुणग्राहिता, जातीय, क्षेत्रीय सद्भाव, दलीय समन्वय, देशका हेरक भेगमा रहेका नागरिकप्रतिको बराबर स्नेह, दुःख पीडामा रहेका सबैसँग सहभाव, कसरी अरुलाई सहयोग पुर्याउन सकिन्छ भन्ने हतारो इत्यादि । यी झापाका सम्पत्ति केही न केही रुपमा खुसुक्क पोल्टोमा हालेर कोशी तर्दैछु ।
मेरो १४ महिने कार्यकालमा मैले झापामा हरेक व्यक्तिबाट सहयोग प्राप्त गरेको छु । माननीय सांसद्ज्यूहरू, राजनीतिक दलका व्यक्तित्वहरू, सञ्चारकर्मी मित्रहरू, विभिन्न सङ्घ संस्थाका अग्रणी एवम् सम्वद्ध महानुभावहरू, उद्योगी, व्यवसायी, समाजसेवी, शैक्षिक क्षेत्रका विद्वत्गण, धार्मिक व्यक्तित्व, कार्यालय प्रमुख, राष्ट्रसेवक साथीहरू, टेड युनियन आवद्ध मित्रहरू, समस्त झापाली आम नागरिक समाज समेतबाट मैले यथेष्ट प्रेरणा, सद्भाव, स्नेह र सहयोग प्राप्त गरेको छु ।
यहाँहरू सबैप्रति ऋणि रहेको अनुभूति गर्दै सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । काम गर्ने सिलसिलामा जान–अन्जानमा कसैको चित्त दुखाएको वा त्रुटी गरेको भएमा मेरो कमजोरी ठानी क्षमा दिनु हुन पनि अनुरोध गर्दछु । स्थानीय प्रशासनप्रतिको यहाँहरूको स्नेह सदा कायम रहिरहोस् भन्ने कामना पनि गर्दछु । धन्यवाद ।
(प्रजिअ पौडेलले झापामा कार्यरत रहेको अन्तिम दिन हिजो जिल्लावासीलाई सम्बोधन गर्दै जारी गरेको विदाई मन्तव्यको पूर्ण विवरण)
………………