अम्बिका भण्डारी
भद्रपुर (रासस) : कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकाले यो वर्षदेखि झापा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेल बताउँछन् ।
पौडेलका अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा झापामा २ हजार ६४० हेक्टरमा तोरी खेती गरिएको थियो । सो वर्ष २ हजार ६०० मेट्रिक टन तोरी उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०७५÷०७६ मा ३ हजार हेक्टरमा लगाइएको तोरी खेतीबाट ४ हजार ५०० मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्रको प्रक्षेपण रहेको छ ।
चार हजारभन्दा बढी मेट्रिक टन तोरीले जिल्लालाई आत्मनिर्भर बनाउने भएकोले यसबाट अर्थतन्त्रमा अत्यन्त सकारात्मक योगदान पुग्ने प्राविधिक पौडेलको भनाई छ । झापाको १५ वटै स्थानीय तहमा तोरीको खेती हुँदै आएको छ । त्यसमध्ये मेचीनगर, हल्दिबारी, अर्जुनधारा, केचना, शिवसताक्षी र कनकाईमा प्राय सबै गाउँवस्तीमा तोरी खेती लगाइने गरिन्छ ।
नेपाल सरकारको नीति अनुसार झापाको ज्ञान केन्द्रले हल्दिबारी गाउँपालिका र कनकाई नगरपालिकालाई तोरीको पकेट क्षेत्र घोषणा गरेको छ । त्यहाँका किसानलाई सङ्गठित गरेर तोरीखेतीमा प्रोत्साहित गर्न ज्ञान केन्द्रबाट रु. ८ लाखका दरले अनुदान दिइएको प्राविधिक पौडेलले जानकारी दिए ।
कृषि प्राविधिक खिरबहादुर श्रेष्ठका अनुसार बलौटे र दोमट माटोमा तोरी खेती फष्टाउँछ । श्रेष्ठ आफैंले शिवसताक्षी नगरपालिका–२ धरमपुरमा दुई विघा जमिनमा विगत पाँचबर्षदेखि तोरी खेती गर्दै आएको बताए ।
अर्जुनधारा निवासी संविधानसभा सदस्य प्रेम गिरीले आफुलाई वर्षभरि पुग्नेगरी तोरीखेती गर्दै आएका छन् । बुद्धशान्ति–७ का किसान खगेन्द्र उप्रेतीले सुपारी बारी भित्र समेत तोरी खेती गरेका छन् । विगतमा बाँझो रहने गरेका खेतमा किसानहरुले उन्नत प्रविधि प्रयोग गरेर खेती गर्न थालेपछि गाउँहरु यतिबेला तोरी फुलेर पहेलपुर भएको देखिन्छन् ।
‘पहिला बाँझो देखिने जमिनमा यतिबेला तोरी फुलेर पहेंलपुर छ,’ प्रविधिक श्रेष्ठ भन्छन्, ‘विगत १० बर्ष यता झापामा तोरी खेतीको व्यापक विस्तार भएको छ, अब भारतबाट तेल खरिद सायदै गर्नुपर्दैन ।’ सहकारी संस्थाहरु समेत तोरीखेतीतर्फ आकर्षित भएका छन् ।
गौरादह–६ मा महारानी झोडा कृषि सहकारी संस्थाले चार विघा जमिनमा तोरी खेती गरेको छ । महिलाहरुले मात्र सञ्चालन गरेको सो सहकारीले त्यहाँ उत्पादन सबै तोरी उन्नत विऊको लागि भएको संस्थाकी अध्यक्ष मिना ढकालले बताइन् ।
विगत तीनबर्षदेखि तोरीको विऊ उत्पादन गरिरहेको सहकारीको उत्पादित वस्तुको ग्रेडिङ उद्योेग पनि छ । ‘विऊको ग्रेडिङ गरेर बजार पठाउँछौं,’ उनले भनिन्, ‘यहाँ उत्पादित तोरीको विऊ इलाम, मोरङ, सुनसरी, सिरहा र सप्तरीसम्म माग हुने गरेको छ ।’