झापा ‘ह्याट्रिक’ गर्ने दाउमा

  प्रकाशित मिति
१५ जेष्ठ २०७५, मंगलवार १०:४८


धुलाबारी । बिर्तामोडको महेन्द्ररत्न माविकी सन्ध्या तामाङ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जित्ने तयारीमा जुटेकी छिन् । उनी केही दिनदेखि धुलाबारी माविको खेल मैदानमा बन्द प्रशिक्षणमा छिन् ।

त्यस्तै, लक्ष्मीपुरको होलिबेसिल स्कुलकी गरिमा विसुङ्खे पनि तेक्वान्दोको कडा अभ्यास गरिरहेकी छिन् ।

कवडी विधाकी खेलाडी तामाङले यो पटकको राष्ट्रपति कपको उपाधि जितेरै आउने विश्वास दिलाइन् । उनले भनिन्, ‘हामी यो पटक पनि च्याम्पियन बन्नेछौँ ।’

तामाङ र विसुङ्खेसहित झापा जिल्लाबाट छनोट भएका १ सय खेलाडीहरु यतिखेर बन्द प्रशिक्षणमा छन् । जिल्लाका विभिन्न विद्यालयबाट ६ वटा विधामा छानिएका उत्कृष्ट विद्यार्थी (खेलाडी) हरुलाई १० जना प्रशिक्षकले खेल अभ्यास गराइरहेका छन् ।

बिहान र बेलुका गरी दुई सिफ्टमा उनीहरुलाई प्रशिक्षण गराउने काम भइरहेको छ । प्रशिक्षकहरु करातेका विष्णु नेम्वाङ, बद्री विष्ट र जीवन राई, तेक्वान्दोका कर्ण दाहाल र प्रदीप दनुवार, एथलेटिक्सका नर्वदा विष्ट र मेनुका राउत, कबड्डीका रतिया राजवंशी, सुष्मा राजवंशी, रमेश राजवंशी र अमृत मेचे, भलिबलका हेमा थापा र नविन रिजाल तथा उसुका रविन श्रेष्ठ र अरुण सापकोटाले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।

कवड्डीका राष्ट्रिय रेफ्री रतिया राजवंशी यो खालको अभ्यास हुनु एकदमै राम्रो भएको बताउँछन् । उनी पनि सबै कुरा छाडेर खेलाडीका लागि दिनरात नभनी अभ्यास गराइरहेका छन् । भन्छन्, ‘हामी आफै मेहनत गरेर खेलाडीलाई अनुशासनमा राखी अभ्यासमा केन्द्रित छौँ । पक्कै पनि यसबाट सफलता हात पार्नेमा हामी ढुक्क छौँ ।’

जिल्ला खेलकुद विकास समितिको संयोजनमा उनीहरुलाई अभ्यास गराउने काम भएको हो । अन्य जिल्लामा यसरी अभ्यास गराउने काम भएको छैन । तर, झापाले खेलाडीका लागि यो अवसर प्रदान गरेको समितिका अध्यक्ष शङ्कर थापाले बताए । उनले खेलाडीको आत्मबल बढाउन प्रशिक्षण प्रदान गरिएको बताए ।

‘हामी अरु जिल्लाभन्दा अलिक फरक पनि छौँ,’ धुलाबारी खेल मैदानमा भइरहेको खेलाडी बन्द प्रशिक्षणमा भेटिएका थापा भन्छन्, ‘एकत्रित भएर प्राटिक्स गराइयो भने उनीहरुमा थप हौसला र आत्मबल बढ्दो रहेछ ।’

विगतमा रचेको इतिहासलाई दोहोर्याउन झापा आतुर रहेको उनको भनाइ छ । झापाले यसअघि पूर्वाञ्चलस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि दुईपटक उचालिसकेको छ ।

लगातार च्याम्पियन बनेको झापा यो पटकको प्रदेशस्तरीय प्रतियोगिता पनि जितेर ह्याट्रिक गर्ने दाउमा छ । त्यही भएर पनि खेलाडीलाई खाने र बस्नेको व्यवस्था मिलाएर कडा अभ्यासमा जुटेको अध्यक्ष थापा बताउँछन् ।

जेठ १८ गतेसम्म सञ्चालन हुने खेलाडी प्रशिक्षणमा राम्रै रकम खर्च हुन्छ । तर, उक्त खर्च आफैले व्यहोर्नु पर्ने हुन्छ । खर्च व्यवस्थापनका लागि समितिका अध्यक्ष लगायत खेलप्रेमीहरु दिनरात नभनी लागि परिरहेका छन् । ‘समितिले आन्तरिक रुपमा निर्णय गरेर खेलाडीलाई प्रशिक्षण दिने निर्णय गरेको हो,’ अध्यक्ष थापा भन्छन, ‘खर्च जति लागे पनि हामी त्यो जुटाउने पक्षमा छौँ । यति हो यो पटक पनि झापा च्याम्पियन बन्न कसैले रोक्न सक्ने छैन ।’

खेलाडीका लागि बक्सिङ सङ्घका जिल्ला उपाध्यक्ष राजकुमार राई र एथलेटिक्स प्रशिक्षक नर्वदा विष्टले खानामा लाग्ने खर्च व्यहोरेका छन् । त्यस्तै, अन्य खेलप्रेमी दाताहरुले सहयोग गर्ने वचन दिएको अध्यक्ष थापा सुनाउँछन् ।

यो वर्षको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड जेठ १९ गतेदेखि विराटनगरमा हुँदैछ । सो प्रतियोगितामा भाग लिन झापाको टीम जेठ १८ गते त्यसतर्फ प्रस्थान गर्दैछ । त्यस दिन टोलीलाई काँकरभिट्टाबाट भव्य बिदाइ गरिने कार्यक्रम रहेको समितिका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: