झापा, १७ भदौ । शिवसताक्षी नगरपालिका वडा नं. ११ झिलझिलेस्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा एक युवाको हत्या भएको छ ।
आज विहान १० बजेतिर शब क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मृतक स्थानीय २८ वर्षीय गोमनसिंह मगर हुन् । उनी मंगलवार बेलुकादेखि हराइरहेका थिए ।
मृतकको शिर छेदन गरिएको पाइएको छ । घटनास्थल नजिकै एउटा मोटरसाइकल वेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
यो समाचार लेख्दासम्ममा प्रहरीको जिल्लाका प्रमुखसहित अनुसन्धान अधिकृतहरु घटनास्थलमा छन् । धरानबाट तालिमप्राप्त कुकुर मगाएर अभियुक्तको खोजी भइरहेको जनाइएको छ ।