झुपडीमा अझै आइपुगेन गणतन्त्र

  प्रकाशित मिति
१६ जेष्ठ २०७६, बिहीबार २०:५१


भद्रपुर (रासस) ः मुलुकमा गणतन्त्र आएको डेढ दशक पुग्न लागेको छ । जनताको ठूलो सङ्घर्ष र बलिदानको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने क्रममा छ ।

संविधानसभाबाट नयाँ संविधान जारी हुनु, सङ्घीय राज्य व्यवस्था बन्नु र सरकारको तीनै तहको निर्वाचन सम्पन्न भएर ४० प्रतिशत महिला स्थानीय तहमा नै निर्वाचित हुनु गणतन्त्रको उपलब्धि हुन् ।

अढाई सय वर्षदेखिको राजतन्त्रलाई अवशेष नै नरहने गरी फालेर जनतामा सार्वभौमसत्ता स्थापित भएको हुँदा गणतन्त्रमा जनताको सर्वोच्चता कायम भएको छ । तैपनि गणतन्त्रप्रति नागरिकका अपेक्षा धेरै भएको हुँदा ती पूरा हुन अझै बाँकी छन् ।

रेणुका डाँगी

सञ्जीवनी महिला विकास समूह झापाकी अध्यक्ष रेणुका डाँगीले गणतन्त्रमा नागरिक खुशी र सुखी हुँदै गएको बताइन् । उनले झुपडीका नागरिकले पनि परिवर्तनको अनुभूति हुने काम गर्न भने सरकारले अझै बाँकी रहेको बताइन् ।

‘नाराले मात्र गणतन्त्र आएको महसूस गर्न सकिदैन’, उनी भन्छिन्–‘समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन महिला हिंसा शुन्यमा ल्याउनु पर्छ, महिलाले समान अधिकारको उपभोग गर्न सहयोग पुर्याउने कानुनहरु कार्यान्वयन गर्नुपर्छ ।’

आदिवासी जनजाति महिला महासङ्घ झापाकी अध्यक्ष माया गुरुङ गणतन्त्रमा महिलामाथिको विभेदकारी कानुन संविधान र कानूनका किताबमा हटे पनि व्यवहारमा अझै कायम रहेको गुनासो सुनाउँछिन् । उनी ग्रामीण क्षेत्रका बासिन्दाले सम्मानित र आत्मनिर्भर अनुभूति गर्न नपाइरहेको बताउँछिन् ।

उनी सरकारले पछाडि परेका विभिन्न उत्पीडित समुदाय र विपन्न वर्गको आयस्तर बढ्ने खालका जनमुखी कार्यक्रम लिएर ग्रामीण क्षेत्रमा जानुपर्ने धारणा सुनाउँछिन् ।

मेनुका काफ्ले

कमल गाउँपालिकी अध्यक्ष मेनुका काफ्लेले जनताले ठूलो सङ्घर्षपछि ल्याएको गणतन्त्र फल्ने फुल्ने क्रममा रहेको बताइन् । उनले गाउँमै सरकार चलाउन पाउनु पनि गणतन्त्रकै उपलब्धि भएको बताउँदै भनिन्–‘गणतन्त्रकै कारण आज महिलाहरु हामी यो ठाउँमा छौं ।’

उनले गणतन्त्रकै कारण महिलाहरुको स्थानीय तहदेखि केन्द्रीय तहसम्म पहुँच पुगेको बताउँदै भनिन्–‘गणतन्त्रको सुन्दर पक्ष यो भन्दा के हुन सक्छ, बजेट, योजना बनाउनेदेखि ऐन कानुन बनाउने र कार्यान्वयनसम्म सबै काम स्थानीय तहमै महिलाले गरिरहेका छन् ।’

दीपक तामाङ

नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन भयो भने मजदूरका लागि गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि हुने बताए ।

उनले मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तन भए पनि मजदूरको जीवन परिवर्तन हुन नसकेको बताउँदै भने–‘गणतन्त्र मालिकले मात्र होइन मजदूरले पनि उपभोग गर्न पाउनुपर्छ ।’

गणतन्त्र प्राप्तिपछि गाउँगाउँमा सडक पुगेको, शिक्षा र स्वास्थ्य क्षेत्रमा ग्रामीण क्षेत्रका बासिन्दाको पहुँच पुगे पनि ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन आउन थालेको ज्येष्ठ नागरिक संघ झापाका सदस्य कृष्णप्रसाद उप्रेती बताउँछन् ।

कृष्णप्रसाद उप्रेती

‘बजेटमा भत्ता बढाएर राम्रै गरेको छ सरकारले’, उनले ज्येष्ठ नागरिकको अवस्था दयनीय बन्दै गएको हुँदा सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै भने–‘बैङ्कबाट पैसा दिने हुँदा अधिकांश बृद्धाबृद्धा लाइन बस्न नसकेर भत्ता बुझ्न आउँदैनन्, उनीहरुलाई स्थानीय सरकारले घरघरमा भत्ता पुर्याइदियोस् । अनि मात्र ज्येष्ठ नागरिकले गणतन्त्र आएको महसूस गर्नेछन् ।’

उनले गणतन्त्रको उपलब्धि भनेको स्वास्थ्य विमा कार्यक्रममार्फत सरकारले ७० बर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तरगत गरिने एक लाखसम्मको निःशुल्क विमा रहेको बताए ।

कृष्णकुमारी बानियाँ

मेचीनगर–१५ स्थित डिगेन आधारभूत विद्यालयकी प्रधानाध्यापक कृष्णकुमारी बानियाँले गणतन्त्रपछि सामुदायिक विद्यालयहरुमा उल्लेख्य सुधार भएको बताए । उनले तल्लो तह र ग्रामीण क्षेत्रका बासिन्दासम्म शिक्षाको पहुँच पुगेको बताउँदै भने, ‘मुलुकमा तीनै तहमा स्थिर सरकार छ तर नीति, कार्यक्रम, कार्यशैलीमा गणतन्त्रको अनुभूति झल्कनुपर्छ ।’

-अम्बिका भण्डारी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: