टरेको छैन मेयरमा महिला

  प्रकाशित मिति
२५ चैत्र २०७३, शुक्रबार ११:१३


अब दलहरुको परीक्षाको घडी नजिकै रहेको छ । सभा सम्मेलन र आन्दोलनमा मात्रै उलेख्य सहभागी गराउन लागि पर्ने दलहरुले उनीहरुको नेतृत्वलाई स्वीकार्छन् स्वकार्दैनन्, अब हेर्नु छ ।
……………..

ambikaझापामा स्थानीय तहको निर्वाचनको तयारीका लागि सबै राजनीतिक दलहरु आआफ्नै किसिमले जुटेका छन् । उनीहरु कार्यकर्तालाई जागरुक बनाउनका लागि वडादेखि नगर र जिल्लास्तरीय भेलाको आयोजनामा बढी केन्द्रित देखिन्छन् । सँगसँगै सबै राजनीतिक दलहरुले यतिबेला झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा बहस समेत गरिरहेका छन् । तर, हरेक चुनावको घोषणा पत्रमा महिलाको ५० प्रतिशत सिट सुनिश्चित गर्छौ भन्ने दलहरु चुनाव नजिकै जाँदा मुख्य पदमा महिलालाई उम्मेद्वार बनाउने कुरामा कञ्जुस्याई गरिरहेका छन् ।

झापाको मेचीनगरमा मेयर पदका आकांक्षीको रुपमा पुरुषहरु नै देखिएका छन् । एकाध महिलाले मेयर पदमा उम्मेद्वारी दिन्छु भनेर बोल्नु बाहेक दलहरुसँग समेत लभिङ गरेको पाइँदैन । साना राजनीतिक दललाई छाडेर हेर्ने हो भने ठूला भनिएका नेकपा एमाले, नेपाली काङ्ग्रेस र माओवादीका महिलाहरु उपमेयरमा चित्त बुझाउने निश्चित देखिन्छ । आजको मितिसम्म आइपुग्दा कुनै पनि महिलाले मेयर पदको आकांक्षा राखेर कतै निडर र आत्मविश्वासका साथ अघि बढेको पाइँदैन । यसले के देखाउँछ भने मेचीनगरका महिलाहरु दलहरुले लगाइदिएको भागमा चित्त बुझाउन मञ्जुर छन् ।

जनसङ्ख्या धेरै रहेको विर्तामोड नगरपालिकामा भने महिला मेयर बन्न सक्ने सम्भावना देखिन्छ । नेकपा एमालेकी पवित्रा खरेललाई यस नगरको मेयरको उम्मेद्वार बनाउने धेरै जनताको धोको भए पनि पार्टी भने चुप देखिन्छ । उनी गत संविधानसभामा समेत प्रत्यक्ष सांसदको उम्मेद्वार बनेकी थिइन् । थोरै मतले उपविजेता बनेकी खरेलले इच्छा देखाएर पार्टीमा लभिङ गर्ने हो भने टिकट पाउने सम्भावना बलियो छ । तर, खरेल भने यसबारे मौन छिन् । नेपाली काङ्ग्रेस, माओवादी र राप्रपामा भने महिलाहरु मेयरमा भन्दा उपमेयर बन्ने दौडधुपमा देखिन्छन् ।
भद्रपुर नगरपालिकामा नेपाली काङ्ग्रेसकी गोमा भट्टराई र नेकपा एमालेकी चन्द्रा श्रेष्ठको नाम मेयरको चर्चामा आएकै हो । तर उनीहरुलाई समेत पछिल्लो समय उपमेयरको आकांक्षीको रुपमा चर्चा गरिएपछि त्यहाँ पनि महिला मेयरको सम्भावनामाथि आघात परेको देखिन्छ ।

Mahila-Teacherत्यसैगरी, अर्जुनधारा नगरपालिकामा भने नेपाली काङ्ग्रेसकी सरस्वती सिटौलाको नाम मेयरको चर्चामा छ । उनी पार्टीभित्र समेत पुरुषहरु भन्दा सशक्त उम्मेद्वार देखिन्छन् । तर टिकट पाउन भने निकै पापड पेल्नुपर्ने देखिन्छ । अन्य पार्टीका महिलाहरु भने उपमेयरमै चित्त बुझाउने मनसायमा रहेको पाइन्छ । कनकाई नगरपालिका, शिवसताक्षी, गौरीगञ्ज र दमक नगरपालिकामा पनि उपमेयर मै महिलाहरु केन्द्रित भएको देखिन्छ ।

त्यसैगरी गाउँपालिकाको अवस्था पनि उस्तै छ । ७ वटा गाउँपालिका मध्ये कमल गाउँपालिका र हल्दिबारी गाउँपालिका भने महिलाले टिकट पाए जित्ने सुनिश्चित देखिन्छ । कमल गाउँपालिकामा नेकपा एमालेकी नेतृ मेनुका काफ्लेको चर्चा छ । तर उनले पनि इच्छाशक्ति भने देखाउन जरुरी छ । हल्दिबारी गाउँपालिकामा नेकपा एमालेकी मञ्जु सिटौला आफूले अध्यक्षको उम्मेद्वार बन्न पाउनुपर्छ भनेर पार्टी नेतृत्वमा लभिङ गर्न र कसै गरे पछि नहट्ने अडान राखेर अघि बढेको देखिन्छ । फुलमति राजबंशी र लक्की गणेश नेपाली काङ्ग्रेसबाट मेयरमा उम्मेद्वार बन्ने सम्भावना छ ।

यसरी सरसर्ती हेर्दा झापाका गाउँपालिका र नगरपालिकामा प्रमुख पदमा अडानका साथ महिला नेतृले पार्टीमा दबाब सिर्जना गर्न थाल्ने हो भने निश्चित जस्तै देखिन्छ । तर, कतिपय यस अघिका निर्वाचनमा हेर्ने हो भने जित्ने सुनिश्चित भएका स्थानमा कुनै पनि पार्टीले महिला उम्मेद्वार बनाएको पाइँदैन । बनाए पनि जिताउनका लागि पुरुषका तुलनामा कमै नै मिहेनत गरेको उदाहरण २०७० सालमा भएको दोस्रो संविधानसभा ताकाको छ । त्यसकारण अब दलहरुको परीक्षाको घडी नजिकै रहेको छ । सभा सम्मेलन र आन्दोलनमा मात्रै उलेख्य सहभागी गराउन लागि पर्ने दलहरुले उनीहरुको नेतृत्वलाई स्वीकार्छन् स्वकार्दैनन्, अब हेर्नु छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
………………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: