टिकाराम मग्रातीलाई खुलापत्र

  प्रकाशित मिति
३१ असार २०७५, आईतवार १०:५९



श्री टिकाराम मग्रातीज्यू,
संयोजक, दलित विद्यार्थी भर्ना सङ्घर्ष समिति झापा

जेठको पहिलो साता पुरै मुलुक हल्लिने गरी झापामा एउटा सामाजिक विभेदको घटना सार्वजनिक भयो । झापाको भद्रपुरस्थित श्रीकृष्ण द्वयपायन वेद विद्या आश्रमको गुरुकुलमा विकास दर्जी नामका ८ बर्षीय वालकलाई भर्ना नदिने कार्य भएसँगै पुरै झापा आन्दोलित भएको थियो ।
संविधानको धारा २४ मा भएको ब्यवस्था अनुसार छुवाछुत पूर्णरुपमा अन्त्य भएको हाम्रो देशमा अझै पनि गुरुकुल जस्ता संस्थाहरुमा परम्परागत सोच राखेर एउटा अबोध बालकलाई शिक्षा लिनबाट बञ्चित गर्ने कार्यको सर्वत्र बिरोध भयो र अन्ततः गुरुकुल सञ्चालक पक्ष वालक विकास दर्जीलाई भर्ना गराउन बाध्य भयो । भर्ना मात्र होइन आवासीय रुपमा नै राख्ने र अन्य सरह नै गुरुकुलीय पद्धति अनुसार शिक्षा दिन आश्रम राजी भए पछि त्यो बिषय शान्त भएको थियो । तर यहाँनेर बुझ्नु पर्ने कुरा के छ भने माथि उल्लेख गरिएको कुरा हुँदासम्म झापामा दुई ध्रुवको सङ्घर्ष सडकमा नै छताछुल्ल भएको थियो ।

दलित विद्यार्थीले भर्ना हुन पाउनु पर्छ भने तपाई नेतृत्वमा रहेको सङ्घर्ष समितिले विकास दर्जीको भर्नाका लागि सडक नै तताउनु पर्ने अवस्था आयो । सारा न्यायप्रेमी नागरिक तपाईको नेतृत्वमा लामबद्ध भए । झापाको सिङ्गो पत्रकारिता क्षेत्र नै तपाई नेतृत्वको सङ्घर्ष समितिको अभियानका पक्षमा मात्र उभिएन संवैधानिक ब्यवस्थामाथि नै प्रहार भयो भनेर झापाली सञ्चार गृहले गुरुकुल विरुद्ध धावा नै बोले ।

गुरुकुलका अध्यक्ष पक्राउ परे, झापाका केही धार्मिक गुरुहरुले भूमिगत हुनु पर्यो । सारा विश्वले यो घटनालाई नजिकबाट नियालेर अझै समाजमा पुरातन सोच र प्रबृत्तिको अवशेष रहेको रुपमा ब्याख्या समेत गरे । झापाको सिङ्गो दलित समाज एक ढिक्का भएर सडकमा उत्रियो । गुरुकुलका पर्खालहरु काला झण्डा, गुरुकुलमा तालाबन्दी भयो र ब्यानरले ढाकियो अनि मात्र भाइ विकास दर्जीलाई गुरुकुलले आवासीय ब्यवस्थासहित उपलब्ध गराउने भन्दै भर्ना लियो र ब्राह्मण विद्यार्थी सरह नै गुरुकुलमा पढाउन थाल्यो ।

तर यत्रो आन्दोलनको शक्तिमा भर्ना गरिएका भाइ विकास दर्जी करीब एक महिना पनि नबित्दै गुरुकुलबाट सुटुक्क निस्किएछन् । विकासका अभिभावकले नै गुरुकुलबाट लिएर गएको कुरा बाहिर आयो । मग्रातीज्यू, के यत्तिका लागि थियो त्यत्रो आन्दोलन ? विकास दर्जीलाई भर्ना गराउन मात्रै थियो त्यो आन्दोलन कि उनलाई गुरुकुलीय पद्धतिबाट शिक्षा दिलाउने प्रयास पनि थियो त्यो आन्दोलन । के ती वालक गुरुकुलमा नै पढ्न चाहन्थे कि उनलाई जबरजस्ती गरिएको थियो । त्यसबारेमा तपाईले बालकलाई एक पटक सोध्नु भएको थियो कि थिएन ? तपाईले हिजो आन्दोलनको अगुवाई गरिरहँदा, कालो झण्डा गाडिरहँदा र गुरुकुलमा तालाबन्दी गरिरहँदा मात्र होइन त्यसबेलाका घटनाबारेमा आमसञ्चार माध्यममा जानकारी दिँदै गर्दा जुन ऊर्जा देखाउनु भएको थियो या भनौ ती सङ्घर्षका दौरानका तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहँदा जुन उत्साह तपाईमा देखिन्थ्यो आज तपाई किन मौन हुनुहुन्छ ? ती बालक विकास दर्जी तपाईको अभियानको एउटा पात्र मात्र होइनन् सारा झापालीको साथ र समर्थन पाएर जातीय बिभेद बिरुद्धको एउटा महान अभियानका नायक थिए ।
आज ती भाइ बिकासले गुरुकुलबाट बिदा लिए भन्ने खबर पक्कै तपाईसंग पनि पुग्यो होला । त्यस पछि तपाईले केही प्रयास गर्नु भयो कि भएन ? यदि केही प्रयास भएकै भए त्यो सार्वजनिक हुनु पर्छ कि पर्दैन ? किनकि म फेरि पनि भन्छु विकास दर्जी कुनै समुदायगत पात्र मात्र होइन । संविधानले दिएको अधिकार स्थापित गराउँदै जाँदा परम्परागत सोच र प्रबृत्तिहरुलाई जरैदैखि उखालेर फाल्ने एउटा सुनामी नै हुन विकास दर्जी त्यसैले विकास दर्जीसंग जोडिएका हरेक क्रियाकलाप सार्वजनिक हुनु अत्यावश्यक छ ।

एउटा विकास दर्जीले गुरुकुल छोडे भन्दैमा कोही खुसी नभए हुन्छ । टिकाराम मग्रातीहरु चुपचाप बसे भन्दैमा अरु थुप्रै बिकास दर्जीहरुको गुरुकुलमा पढ्ने चाहना मर्न दिनु हुँदैन । यो मैले होइन नेपालको संविधानले भनिरहेको छ ।

विकास दर्जीको आन्दोलनमा तपाईसँगै उभिएको
ज्ञानेन्द्र निरौला

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: