टिपेक्स

  प्रकाशित मिति
१८ पुष २०७८, आईतवार १०:५७


।। गगन ढकाल ।।

मिति ठ्याक्कै याद भएन तर सन्दर्भ राम्रोसँग याद छ । दुई वर्ष लामो अन्तरालपछि बल्लतल्ल हाम्रो स्नातक तह प्रथम वर्षको परीक्षा फारम खुलेको थियो । हामी मानविकी संकायको १५ जना दौतरीहरु बढो उत्साहको साथ फारम खुलेकै दिन फारम भर्न अध्ययनरत क्याम्पस मेची बहुमुखी क्याम्पसको प्राङ्गणमा पुगेका थियौँ । कोरोनाको महामारीले हाम्रो एक वर्षको समय पूरै खर्लप्प पारेको कारण हुन सक्छ हामीमा परीक्षाप्रति औधी उत्साह जागेको थियो । हामीमा बढेको उत्साह हाम्रो मुहारमा प्रष्टसँग देख्न सकिन्थ्यो ।

सधैं क्याम्पस पुगेसी चौरको चौतारामा आधा घण्टा गफिएपछि मात्रै आफ्नो कर्ममा लाग्ने हामीलाई त्यस दिन गफको कुनै वास्तै थिएन । हामी सरासर क्याम्पस प्रशासनतिर लाग्यौँ । प्रशासनमा आवश्यक शुल्क तिरेर हामीले फारम लिई त्यसलाई भर्नका निम्ति सरासर पुनः चौतारातिरै लाग्यौँ । कस्तो अचम्म त्यहाँ उपस्थित पन्ध्रै जनासँग कक्षा आठदेखि नै फारम भर्दै आएको अनुभव थियो अनि त्यसै कक्षादेखि सुरु भएको फारम भर्दा छलफल गर्ने बानी पनि । छलफलले सबैको एकमत तयार पार्यो कहाँ के लेख्ने भन्ने बारे । मलाई चाहिँ यस्तो किसिमको धेरै जनाले गर्ने सल्लाहमा सानैदेखि खासै भाग लिन मन नपर्ने भएकाले आफ्नो फारम भर्न सुरु गरिहाले । हतारिदै फारम भर्दै जाँदा मैले जन्म मिति २०५७÷१०÷२९ गते लेख्नु पर्ने ठाउँमा २०५७÷०१÷२९ गते लेखेछु । लौ अब परो फसाद !

मैले आत्तिदै नजिकैको साथी कुमारलाई भने “मेरो फारम बिग्रियो यार जौँ अफिस अर्को माग्न” । उसले मेरो बोली टार्न सकेन । हामी अफिस गयौं । अफिसमा बस्नु भएकी गुरुआमाले अर्को फारम नपाइने बरु टिपेक्स लगाएर सच्याउन पाइने जानकारी दिनुभयो । हामीले गुरुआमाबाट टिपेक्स लिएर सरासर पुनः चौतारातिर लाग्यौँ ।

चौतारामा पुगेर टिपेक्स लगाउन मात्र के थालेको थिएँ विकास नाम गरेको साथीले व्यङ्ग्यात्मक भावमा भन्यो “कास जिन्दगीको सबै गल्तीमा टिपेक्स लगाई सच्याउन पाइने भए !” साथीको कुरा सुनेर म अक्क न बक्क भए । एकछिन सोचेर हाँस्दै उत्तर दिए “अरु गल्ती नमिले के भयो त साथी जे मिल्छ त्यसलाई त मिलाउनु परो नि हैन र ? कि कसो ?”

उ– हो तर..

म– तर ! तर के ?

उ– हामीले जे काम गर्दा पनि ध्यानपूर्वक बेलैमा बुद्धि पुर्याएर गर्न पर्छ भन्ने हो ।

म– मतलब ! मैले जानिजानी बिगारे ?

उ– त्यस्तो हैन । फारम भर्दा तिम्रो तन यहाँ थियो तर मन अन्तै कतै ।

म– कस्तो वाहियात कुरा गर्या तन यहाँ हुने मन नहुने ?

उ– तिमी साहित्यको विद्यार्थी हौँ लाग्या थियो । यत्तिको अलङ्कार बुझ्छौँ तर.. खैर छाड्देउ यो कुरा ।

म– छाड्देउ ! किन छाड्ने ? कुरा बुझाउ अनि छाड्ने ।

उ– कुरा त्यत्रो केही हैन । आफै सोच त तिमीलाई तिम्रो जन्म मिति नआउने होर ? तर त्यति जाबो कुरा पनि तिमीले बिगारेउ ।

त्यति मात्र हैन गगन ! आफैं हेर तिमीले आज भेस्ट उल्टो लगाएको छौँ, चप्पल दुई रङको लगाएको छौं । अनि बाइकको चाबी पनि बाइकमै छाडेका छौं । यो तन मन एकै ठाउँमा नभएको परिणाम हैन भने के हो त ? लु अब तिमी आफैं भन त तिम्रो होश छ कि छैन ?

उसको कुरा सुनेर मैले हतार हतार आफ्नो भेस्ट, चप्पल र चाबी हेरे । सबै कुरा उसले भने बमोजिम नै पाएँ । जब मैले भेस्ट, चप्पल र बाइक मै छाडेको चाबी देखे, म निस्तेज भए । मेरो हातखुट्टा गलेर आयो, लड्छु लड्छु जस्तो भयो र एक्कासी मुटुको धड्कन बढेको अनुभूति भयो । सायद मेरो अवस्था बुझेर होला विकासले मलाई एक बोतल पानी दिदै भन्यो “पानी खाउँ त अलिक आराम हुन्छ ।”

एक बोतल पानी घटघट पुरै पिएपछि हातमा भएको फारम विकासलाई नै जिम्मा लगाएर म त्यहाँबाट निस्किए । म त्यहाँबाट निस्तेज भएर निस्किएको थिएँ । मलाई कहाँ जानु कसो गर्नु भएको थियो । त्यसैले म सरासर बाइक चढी घरतिर हान्निए ।
घर जाने क्रममा मेरो मस्तिष्कमा चौतारामा भएको घटना आइरहेको थियो । साधारण रुपमा त मेरो आँखामा बाटो, त्यहाँ हिडेका गाडी र मानिसहरु आउनु पर्ने हो तर ती केही पनि आइरहेका थिएनन् बरु चौतारामा भएकै घटना बारम्बार आइरहेको थियो । मलाई त्यस घटनाले कतिसम्म बेचैन बनाइरहेको थियो मेरो बाइक एउटा ट्रकमा गएर ठोक्कियो । ड्याम्म….. ! !

मेरो बाइक ट्रकमुनी छिरेको थियो भने मेरो शिर ट्रकको दायाँ टायरमुनी । कृपया टायरमुनीको शिरको कल्पना नगर्नुहोला त्यो ज्यादै बिभत्स हुन्छ । आङ सिरिङ पार्ने किसिमको हुन्छ, कसै कसैलाई त दुईदिन खाना पनि नरुच्न सक्छ । त्यसैले पुनः अनुरोध गर्छु त्यो बिभत्स शिरको कल्पना नगर्नुहोस् ।

मेरो एउटा हात शरीरबाट छुट्टिएर सडकमा लडेको थियो भने नलीखुट्टा भाँचिएको थियो । तर कस्तो निर्दयी ठाउँमा मेरो दुर्घटना भएको थियो भने त्यहाँ वरिपरीका मान्छेहरुले मेरो बिभत्स पार्थिव देहलाई समाल्नुको साटो निर्दोष ट्रक चालकलाई पिट्न थाले । मलाई अझै दुःख लाग्छ बिचरो चालकले मेरो गल्तिको कारण पिटाई खायो । मरणासन्न हुने गरी । दुर्घटना भएको लगभग बीस मिनेटपछि प्रहरीको टोली आएर त्यस चालकको उद्दार गर्यो । प्रहरीले मेरो पार्थिव शरीर मेरो परिवारजनलाई जिम्मा लगाई मेरो पनि उद्दार गर्यो ।

मेरो बिभत्स पार्थिव शरीर देखेर मेरी आमा मुर्छा पर्नुभयो भने मेरा बा पागल झैं यतउता भौतारिनु भयो । मेरो त्यस्तो अवस्था देखेर मेरो बा कतिसम्म पागल हुनुभयो भने उहाँले मेरो छोरो उठ्छ यसले हामीलाई छाडेर यसरी जानै मिल्दैन भन्दै एक मग पानी ल्याएर ममाथि खन्याउनु भयो ।

कस्तो आश्चर्य ! बाले खन्याउनु भएको पानीले म उठेँ । म उठ्नुको कारण बारे तपाईलाई जिज्ञासा लाग्न सक्छ । कृपया ध्यान दिएर सुन्नुहोस् । मैले माथि वर्णन गरेको सम्पूर्ण कुराहरु स्वपनील रहेछन् (चौतारा, गल्ती, विकास, दुर्घटना र प्रहरी) । तर बाले पानी खन्याउनु भएको कुरा भने वास्तविक थियो । म किँम्कर्तव्यविमुढ भएर बिहानीको पौने नौ बजेसम्म सुतिरहेको रहेछु । त्यसैले बाले पानी खन्याउँदा म उठ्न सके ।

बाले खन्याउनु भएको पानीको कारण म उठे तापनि सपनाले मलाई एक दिव्य चेत भने दिएको थियो । जिन्दगीको टिपेक्स भनेको आफूले गरेको गल्तीबाट पाठ सिकेर आगामी दिनमा नदोहोर्याउनु र आफ्नो गल्तीलाई स्वीकार गरी क्षमायचनाका साथ अगाडि बढ्नु भन्ने रहेछ । तर सबै कुरामा टिपेक्स लगाउन नसकिने रहेछ । यदि सकिने थियो भने कोरोना महामारीकाल पनि त मेटाउन सकिन्थ्यो । त्यसैले हरेक कार्य तन मन लगाएर ध्यानपूर्वक गर्नु पर्ने रहेछ । गल्ती गरी टिपेक्स खोज्नु भन्दा पहिलै गल्ती नगर्नु उचित रहेछ । तपाईंले टिपेक्स लगाएर सुधार्न नसकिने कति गल्तीहरु गर्नु भएको छ हँ ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: