झापा, ५ भदौ । चीनले बङ्गलादेशलाई टिस्टा परियोजनाका लागि एक अरब डलर सहयोग दिने घोषणा गरेपछि भारतमा खैलाबैला मच्चिएको छ ।
कुम्भकर्ण हिमालको ७०९६ मिटरको उचाइबाट उत्पत्ति भएको ४४१ किलोमिटर लामो टिस्टा नदी भारतको सिक्किम र पश्चिम बङ्गाल हुँदै बङ्गलादेश पुगेर बङ्गालको खाडीमा मिसिन्छ ।
यो नदी सिक्किममा १५१ किलोमिटर, पश्चिम बंगालमा १४२ किलोमिटर र बंगलादेशमा १२१ किलोमिटर लामो छ ।
दुबै देशमा बग्ने भएकाले बङ्गलादेशले भारतसँग टिस्टाको पानी आधा आधा बाँड्नु पर्ने माग गर्दै आएको छ । तर नेपालको कोसी, गण्डकी, कर्णाली र महाकालीबाट अधिकांश पानी लैजाने भारतले बङ्गलादेशलाई आफ्नो भूभागको बाँधबाट पानी दिन आनाकानी गर्दै आएको छ ।
यसैबीच, चीनले टिस्टा परियोजनाका लागि भनेर एक अरब डलर बङ्गलादेशलाई सहयोग गरेपछि चीनले खेल्न थालेको भारतीय प्रतिक्रिया आएको छ ।
सन् १९८३ मा पहिलोपल्ट पानी वार्तामा बङ्गलादेशलाई टिस्टाको आधा पानी दिन भारतीय संस्थापन तयार देखिएको थियो । तर कुनै सम्झौता हुन सकेन ।
सन् २०११ मा ममता बेनर्जी सत्तामा आएपछि पश्चिम बङ्गालले टिस्टाको मामिलामा बङ्गलादेशलाई पानी बाड्न आनाकानी गर्दै आएको छ ।
कोलकाताका पत्रकार निर्माल्य मुखर्जीका अनुसार ममता बेनर्जीले ३७ दशमलब ५ प्रतिशत टिस्टाको पानी बङ्गलादेशलाई दिने आशयको प्रस्ताव केन्द्र सरकारमा पठाएकी छन् । उनले ४२.५ प्रतिशत पश्चिम बङ्गाललाई र २० प्रतिशत सिक्किमलाई दिनुपर्ने बताउँछिन् ।
टिस्टा प्रकारणमा चीनले सहयोगको ठूलो राशी खर्च गरेर भारतलाई चिढ्याउन र बङ्गलादेशप्रति सहानुभूति देखाउने कोसिस गरिरहेको पत्रकार निर्माल्य मुखर्जी बताउँछन् ।
अहिलेसम्म बङ्गलादेशसँग भारतले टिस्टाको पानी बाँड्ने बारेमा कुनै सम्झौता नगरी माछो माछो भ्यागुतो बनाएपछि चीन बङ्गलादेशलाई मदत अघि सरेको छ । यो विषय अहिले भारतमा टाउको दुखाई बनेको छ ।
चीनको सहयोगमा बङ्गलादेशले टिस्टा परियोजना कसरी अघि बढाउँछ, त्यस बारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर यति चाहिँ भन्न सकिन्छ कि अब बङ्गलादेश भारतको होइन, चीनको मुख हेर्ने निधोमा पुगिसकेको छ ।