टीका विनाको दसैँ

  प्रकाशित मिति
१ कार्तिक २०७३, सोमबार २०:२४


dashain-ko-tika

म २० वर्षको थिएँ, मेरो हजुरबुबाको देहवासन हुँदा । २०३८ सालको कुरा हो यो । त्यसवर्ष हजुरबुबाको निधनका कारण दसैँमा टीका लगाइएन । बिसवर्षे उमेर भनेको साँच्चै रहर लाग्दो उमेर । त्यस वर्षका चाडपर्वहरुमा कुनै रसरमाइलो भएन घरमा । एक वर्षसम्म जुठो बार्नु पर्ने, चोखोनितोमा बस्नु पर्ने । हाम्रो धार्मिक एवम् सामाजिक संस्कार । दसैँमा निधारभरि रातो टीका र कानमा जमरा नहुँदा निकै विरसिलो लागेको थियो । तिहारमा पनि सप्तरङ्गी टीका र सयपत्री, मखमली आदि फुलको माला अरुको निधार र गलामा सजिएको देख्ता निकै नरमाइलो महसुस भएको थियो त्यसबेला । सायद उमेरमा परिपक्वता नभएर पनि त्यस्तो लागेको हुनुपर्छ  । अहिलेको ठम्याइ हो यो मेरो ।

२०३८ सालपछि यसपटक २०७३ सालको दसैँ टीका बिनाको दसैँ बन्न पुग्यो हाम्रा लागि । ३५ वर्षपछि यसपटक हाम्रा निधार रातो अक्षताको टीकाले खुल्न पाएनन् अनि कानमा जमराले पनि अडिने मौका पाएनन् । कारण गएको २०७३ साल जेठ–४ गते हाम्री ममतामयी माताको निधन भएको थियो । विधिको विधान भनौँ या समयको खेल हो, हामी त्यस्ता अभागी छोरा रहेछौँ, जसले अरुका छोराहरुले जसरी वर्षदिन सम्म आशोच बारेर बस्नु परेन । त्यसभित्र आफ्नै रहस्य, आफ्नै पीडा र वास्तिवकता लुकेका छन् । छोटकरीमा यति मात्र भनौँ जन्मदिने आमाको निधन हुँदा पनि हाम्रो सनातन धर्मशास्त्र र सामाजिक परम्पराले आमाको १३ दिनको काम सकिएपछि वर्ष दिनसम्म बार्नु नपर्ने र दसैँ, तिहार लगायत सवै चाडपर्व मनाउन, धार्मिक वा सांस्कृतिक कार्य गर्न, सहभागी हुन कुनै बाधा अवरोध नगर्ने कुरा बताउँछन् गुरु पुरोहितहरु । तर, हाम्रो आफ्नै मनले मानेन । जे भए पनि जन्मदिने आमा हुन्, यो वर्ष टीका नलगाउँदा के नै पो बिग्रन्छ र ! लोकले देख्ता पनि के भन्ला ? यस्तै सोचाइ आयो हामी तिनजना दाजु, भाइ र भाउजु, बुहारीका मनमा । एकमतले निर्णय गर्यौँ, यसवर्षको दसैँ तिहारमा टीका, जमरा र तिहारमा सप्तरङ्गी टीका र सयपत्री, मखमली आदि फुलका माला नलगाउने भनेर । सोही निर्णय अनुसार यसपटक हामी तिन दाजुभाइहरु व्रmमशः मुक्तिप्रसाद, भुपाकुमारी, गोपाल देवी र देवीचरण गीताकुमारी भण्डारीले टीका लगाएनौँ ।

टीका लगाउने कार्य नभएपछि हाम्रो मूलघर भाउन्ने, मोरङ पनि गएनौँ । यद्यपि भेटघाटको लागि जाँदा कुनै बाधा पर्ने थिएन । बाध्यात्मक अवस्था नभएपछि अरुबेलै अनुकूलता मिलाएर जाने विचारले म र गीता मूलघर गएनौँ माइलो दाजु, भाउजु, पनि जानु भएन रे । सायद ठूल्दाजु भाउजू पनि जानु भएन होला । ठूलीभाउजुकी आमा निकै गम्भीर बिमारी भएकाले छोडेर हिँडी हाल्ने अवस्था पनि थिएन । एक हप्ता अघि बिमारी सासुआमालाई हेरेर आएको थिएँ म । यो त भयो सामुहिक गन्थनको कुरा । अब नितान्त मेरो कुरा गर्छु । बिना टीकाको दसैँ खासगरी टीकाको दिन कस्तो भयो त यसपालि ?

हामी तिन दाजुभाइको घरमा टीका लगाउने अवस्था नरहेपछि मेरी जीवनसाथी गीताजी महाष्टमीको दिन माइतीघर गौरादहतिर प्रस्थान गरिन् । टीका नलगाए पनि माइती मामलीहरुसँग भेटघाट गर्न त के ले रोक्ने र ! रोक्ता मैले रोक्ने हो । मैले नै नजाउ भन्ने हो । मलाई कस्ले खाना बनाएर ख्वाउँछ भन्ने हो । तर, मेरो त्यस्तो स्वभावै छैन । अघिपछि पनि उनलाई कतै जान मन लाग्दा सकेसम्म मैले पुर्याई दिने गरेकै छु । उनले ‘जान्छु’ भनेका ठाउँमा मैले कैले नजाउ भनेको छैन र कहिल्यै रोकेको छैन । उनलाई पनि त घुमफिर गर्न मलाई जस्तै मन लाग्दो हो भन्ने सोच्दछु । त्यसो त प्रायः हामी दुई जोइपोइ जता जाँदा पनि सँगसँगै जाने गर्छौँ । चाहे छरछिमेकमा कसैको वैवाहिक कार्यव्रmम होस, व्रतवन्ध होस् या पुजाआजा होस् । हामी पतिपत्नी साथसाथै हुन्छौँ । यसपटक भने दुईतिन दिन बस्ने गरी गीताजी जाने भएकाले घर छोडेर मैले हिँड्न नमिल्ने भयो र उनी एक्लै गइन्। टीका लगाउनु पर्ने भएको भए बाध्यता नै हुन्थ्यो होला जानु पर्ने । गए पनि विहान गयो, टीका लगायो आयो गरिन्थ्यो होला । यता आफ्नो घरमा पनि टीका लगाउन आफन्तहरू आउने हुँदा रात बस्ने अवस्था हुँदैनथ्यो । तर, टीका लगाउनु नपर्ने भएकाले ज्वाइँले ससुराली पुग्नैपर्ने बाध्यता पनि भएन । त्यसो त मलाई पनि ससुरालीले नबोलाएका कहाँ हुन् र !. नबोलाएकै भए पनि आफ्नो ससुराली जाँदा के पो बिग्रन्थ्यो र ! उहिले दक्षप्रजापतिले आफ्ना छोरीज्वाइँ पार्वती र शिवलाई यज्ञमा नबोलाएको र पछि पार्वतीले यज्ञकुण्डमा देह त्याग गरे पश्चात्को अवस्था यो कलीकालमा पक्कै आउने थिएन होला । अहिलेका पार्वतीहरु त्यसबेलाका पार्वती जस्ता अग्निकुण्डमा हाम फालीहाल्ने साहसी कहाँ छन् र ! सतिदेवी जस्तो कायर कहाँ छन् र ! फेरि नेपालको कानुनले पनि त दिँदैन नि । उहिलेकी पार्वतीले जसरी अग्निकुण्डमा हामफाल्न । अनि अहिलेका ज्वाइँसाहेवहरु पनि उहिलेका शिवजी जस्ता शक्तिशाली र अलौकिक कहाँ छन् र ! तर गाँजा, भाङ, धतुरो तान्ने कलामा भने अहिलेका कुनैकुनै ज्वाइँ साहेवहरुले भने उहिलेका शिवजीलाई पनि उछिनी सकेका छन् । वास्तवमै ससुरालीले मलाई पनि बोलाएकै हो । नबोलाउन् पनि किन र ! आफ्नो जेठोबाठो ज्वाइँ साहेवलाई । कान्छो ससुराली ( कान्छो सालो) त झन् हामीसँगै बस्छ, यतै जागिरे छ । उ घटस्थापनाको दिन गएको हो गौरादह घरमा । जाँदाजाँदै उसले पनि हामी दिदीभिनाजुलाई निम्तो गर्न भ्याएकै हो । फेरि ससुराली घरबाट छोरीलाई बोलाउँदा ज्वाइँसाहेव छुट्ने कुरै भएन । ज्वाइँसाहेव मात्र हैन, घरमा भएको कान्छो भान्जो छुट्ने त कल्पना भन्दा बाहिरकै कुरा थियो । भान्जालाई त एकभाइ मामा मोटरगाडी र तिनै मामाको एकमात्र सुपुत्र निकै महँगो दुइपाङ्ग्रे सानो गाडी लिएर घरैमा सुआगमन भयो । कत्रो मानसम्मान दिनु भयो कान्छो भान्जालाई । अनि कत्रो सान कान्छो भान्जाको ? घरमा म कहिलेकाहीँ सम्झाउने गर्छु मेरो कान्छोलाई । बाटो बिराउँछ कि भनेर । तर, कान्छो त साँच्चै पत्यारिलो पो भैसकेको रहेछ । मैले पो उसको गलत मूल्याङ्कन गरेको रहेछु कि जस्तो लाग्यो । मामाजीले कान्छो भान्जो लिन दुईदुईवटा सवारी साधन लिएर घरैमा आएपछि मात्र पो थाहा भयो कान्छो त लरतरो रहेनछ । कान्छो छोरोलाई लिन यसरी घरैमा आएपछि कान्छाको बाउको पनि सानो इज्जत भयो त ! म त गर्वले ढुस्स फुलेँ, ग्याँस भरिएर डम्म फुलेको पेट झैँ । कान्छो भान्जो लिन दुईदुईवटा सवारी साधन लिएर आएपछि कान्छो भान्जो पनि एकछिन त कन्फ्युजमा पर्यो, बडो दुविधामा पर्यो । निकैवेर छट्पटिँदै घरि कोठाभित्र, घरि कोठा बाहिर जान्छ, घरि बाथरुमतिर जान्छ । घरि मोवाइल हातमा लिएर खुइखुइ गर्छ । त्यसैत्यसै छट्पटिन्छ । के भो मेरो कान्छोलाई आज ? भनेर प्रेमपूर्वक सोधेको त उसको जवाफ यस्त पो आयो– खै केमा जाउँजाउँ भयो बाबा मलाई त ! सोच्नै सकेको छैन मैले । निर्णयमा पुग्नै सकिरहेको छैन । चारपाङ्ग्रेमा जाउँ कि दुईपाङ्ग्रेमा जाउँ ? बडो सकसमा परेँ है बाबा म । कान्छो छोराको यो मनोदशा बुझेपछि उसलाई तनावमा आउन त दिनु भएन मैले । मैले ढाडस दिँदै दुईटा विकल्प तिम्रा सामु विद्यमान छन् । दुईटै हातमा लड्डु छ । किन चिन्ता लिन्छौ बाबु ! तिम्रो मामाको छोरो दुईपाङ्ग्रेमा एक्लै होला । उसलाई साथी पनि हुने, त्यो दामी वाइकमा गुड्दा कस्तो हुँदो रहेछ अनुभव पनि हुने, त्यसैमा जाउ न त भनेर अथ्र्याइदिएँ कान्छोलाई । फेरि कुनै दिन मेरो जस्तो फेद न टुप्पोको साहित्यकार बन्ने लहड जाग्यो भने संस्मरणात्क निबन्ध लेख्ने विषय पनि त गतिलो हुन सक्छ भनेपछि मात्र उसले दुईपाङ्ग्रेमा चढ्ने मनस्थिति बनायो र अन्ततः दुईपाङ्ग्रेमै मामाघरतिर लाग्यो ।

अब भने म विल्कुल एक्लै भएँ घरमा । एक्लो भएपछि मलाई पनि कता जाउँ ? के गरौँ ? एक किसिमको हलचल हुन थाल्यो भित्रभित्रै । सोचेँ चारपाने माइलो दाजुकोमा जानु पर्यो र बिहानको खाना उतै खानु पर्यो । अन्ततः यही निष्कर्षमा पुगेँ र दशमीको टीकाको दिन बिहान मेरो माइलो दाजुलाई फोन गरेँ । माल्दाजुभाउजु चारपाने चोकमा बस्नु हुन्छ । दाजु मोहन माया माविमा अध्यापन गर्नु हुन्छ । दाजुभाउजुकोमा खाना खाएर सुरुङ्गातिर घुमघाम गर्नु पर्ला भनेर फोन गरेको त दाजुको मोवाइलै उठेन । मलाई लाग्यो सायद मूलघर भाउन्नेतिर लाग्नुभो होला, गाडीको आवाजले मोवाइलको रिङ्टन सुन्नु भएन होला । तुरुन्तै सानो केर्खाबाट फोन आयो । नातिनी सिर्जना भण्डारीले फोन गरेकी रहिछन् । सन्चोविसन्चो लगायतका सबै औपचारिकता पूरा गरिन्,नातिनी सिर्जनाले र भनिन्–बेलुका बस्नेगरी बिहानको खाना पनि यहीँ खानेगरी छिट्टै आउनु है हजुरबा ।

नातिनीले आग्रह गरिन् । एकछिन सोचेर हुन्छ । बिहानको खाना त खाउँला तर बेलुका बस्न त मैले घरै आइपुग्नु पर्छ भन्दै फोन राखिदिएँ । मैले दिएकै समयमा त्यहाँ पुगेँ । घरका सबैजनाले टीका लगाइसकेका रहेछन् । आफन्तहरुको आउनेव्रmम पनि जारी नै थियो । एकछिनको भलाकुसारी पछि खाना खाइयो । खाना खाए पश्चात् १५–२० मिनेट बसेर त्यहाँबाट बिदा भएँ म । बाटामा २०४४–४६ मा महेन्द्र बहुमुखी कलेज धरानमा आइए पढ्दाका सहपाठी मित्र पवन राईलाई फोन गरेँ । उहाँको घर मोरङको पथरी शनिश्चरे । उहाँको घरमा पुगेको छैन म र भेट नभएको पनि निकै वर्ष भयो । यसपटक भने घरैमा गएर भेट्न मन लाग्यो र फोन गरेँ । दशमीको दिन परेकाले उहाँको अनुकूलता नभएका कारण बाटैबाट फर्किएँ । सुरुङ्गामा आइपुगेपछि वाइक रोकेर मेरा बालसखा, तिघ्रा बजाएर लाप्पा खेलेका मेरा प्रिय मित्र डम्बर फूयलजीलाई फोन गरेँ । उहाँहरुको पनि हाम्रो जस्तै आमा खसेकाले दसैँ थिएन उहाँहरुको घरमा । घरैमा हुनुहुँदो रहेछ डम्बरजी । सुरुङ्गा क्याम्पसको दक्षिणतर्फ बाटा पश्चिम दक्षिण पर्दोरहेछ घर । डम्बरजी बाहेक उहाँको परिवार कसैलाई देखेको र चिनेको पनि थिइनँ । परिवारजनसँग चिनाजान भयो । अन्तरङ्ग कुराकानी भए । श्रीमती शोभा, छोरो आशिष र छोरी आस्माका साथ सुरुङ्गामा रमेर, जमेर बस्नु भएको रहेछ डम्बरजी । छोरो आइटीमा व्याचलर गर्दै गरेको, छोरी नर्सिङमा डिप्लोमा गर्ने अवस्थामा पुगेकी, सुरुङ्गाको ठाउँमा खेतीपाती, घरजग्गा, सिंहदेवी आधारभूत विद्यालयको प्रधानाध्यापक (कक्षा १–८, टेव्रmा भन्ने स्थानमा) । चिटिक्क परेको घर । राम्रो प्रगति गरेर बस्नु भएको देखेर अत्यन्तै खुसी लाग्यो मलाई । वेटिङ रुमको भित्ताभरी प्रमाणपत्रहरु, शिक्षा मन्त्रालयले २०६८ सालमा र जिल्ला शिक्षा कार्यालय झापाले २०६५ सालमा सम्मान गरेको रहेछ । सम्मान पत्रहरु आफैँ बोलिरहेका थिए । लगभग आधा घण्टाको भलाकुसारी र चिया चमेना पश्चात् डम्बरजीको साइँलो दाजु बाबुरामको घरमा हामी दुवै आयौँ । मैले घर देखेको थिइनँ र डम्बरजीलाई घर देखाई दिन अनुरोध गरेको थिएँ । त्यहाँ पनि १०–१५ मिनेट कुराकानी हार्दिकतापूर्ण कुराकानी भयो हाम्रो । २०७० सालमा जिल्ला वन कार्यालय झापाबाट सेवा निवृत्त हुनु भएको रहेछ उहाँ । सेवन निवृत्त जीवनलाई रचनात्मक कार्यमा लगाएर सामाजिक प्रतिष्ठा कमाउनु पर्छ है दाइ भनी दिएँ । कागती पनि पिएर त्यहाँबाट पनि विदा मागेर निस्किएँ । डम्बरजीलाई त्यहीँबाट बाइबाइ गरेँ । त्यहाँबाट सुरुङ्गा बजारमा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलको घरमा पसेर कोमल सरसँग भेटघाट गरेँ । कोमल सरकी धर्मपत्नी हालसालै उपचारको व्रmममा नोवल हस्पिटल विराटनगरमा डाक्टरको लापरवाहीका कारण अल्पायुमै बित्नु भयो । यस घटनाले कोमल सरलाई ठूलो मानसिक आघात परेको छ । पत्नी वियोगको पीडालाई जवरजस्ती भुल्ने प्रयास गर्दै हुनु हुन्छ । विस्तारै–विस्तारै साहित्यिक कार्यव्रmमहरुमा पनि निस्कन थाल्नु भएको छ । बुढेसकालमा पत्नी विनाको एकल जीवन कति निस्सार र कहालीलाग्दो हुँदोहो हामी कल्पना मात्र गर्न सक्छौँ । जसले बेहोर्नु भएको छ, त्यसको पीडा उहाँहरुले मात्र अनुभूत गर्नु भएको छ । कोमल सरलाई अत्यन्तै सम्मान गर्छु म । सुरुङ्गा जाँदा अथवा सुरुङ्गा भएर कतै जाँदा आउँदा निस्कने गर्छु म कोमल सरकोमा र कोमल सरलाई भेटेर सन्चो विसन्चो सोधखोज गरेर फर्कन्छु । कोमल सरले मलाई पढाउनु भएको हैन । हाम्रो घर पनि नजिकै होइन, मात्र साहित्यिक नाता हो । तर, यो साहित्यिक नाता यति प्रगाढ भयो कि उहाँले पनि मलाई धेरै माया गर्नु हुन्छ । सधैँ मलाई आशिर्वचन प्रदान गर्नु हुन्छ र म पनि उहाँलाई हृदयदेखि नै उच्च सम्मान गर्छु । उहाँप्रतिको यही सम्बन्धले उहाँसँग भेट गर्न मन लाग्छ । यसपटक पनि उहाँको घर पसेँ । उहाँको फोटो खिचेँ । एकछिनको कुराकानी पछि त्यहाँबाट निस्किएँ र सुरुङ्गाका अर्का अग्रज स्रष्टा मित्रप्रसाद दाहालको घरमा पुगेँ । बाथको विमारले ग्रस्त मित्र सर मलाई लिन सकिनसकी दुईतला माथिबाट भुइँतलामा झर्नु भयो । दुई छोरामध्ये जेठो छोरो इजरायलमा रहेछन् । जेठा छोरा बुहारीले भव्य घर बनाएर आफ्ना पिताजीलाई थन्क्याएका रहेछन् । जेठी बुहारीको आत्मीय स्याहार सुसारमा रहनु भएको रहेछ मित्र सर । मित्र सरको कान्छा छोरा– बुहारीको घर पनि नजिकै रहेछ । तर, दसैँमा वाहेक अघिपछि कहिल्यै नआउने कुराले भने मलाई नमिठो लाग्यो । मित्र सरले पनि २०६६ सालमा आफ्नी जीवन सङ्गीलाई गुमाउनु भएको रहेछ । पत्नीको वियोगमा उहाँको स्मृतिमा मित्र सरले तारा शोक काव्य लेखेर २०७३ साल जेठमा प्रकाशन गर्नु भएको रहेछ । मलाई उक्त शोककाव्य एकप्रति दिनु पनि भो । निकैवेरको कुराकानी पछि विदा मागेँ मैले मित्र सरसँग । मैले तल नझर्न अनुरोध गर्दागर्दै पनि मलाई छोड्न फेरी पनि सकी नसकी तलै झर्नुभो । कत्रो हार्दिकता उहाँको मप्रति । त्यहाँबाट म फेरि सुरुङ्गाकै अर्का कवि तथा साहित्यकार ज्ञानराज सुवेदीको घर गएँ । वाइकबाट नउत्री स्टार्ट बन्द गरेर सोधेँ– सर हुनु हुन्छ भनेर । उहाँ त बिहानै सपत्नी विराटनगरतिर लाग्नु भएको रहेछ । विराटनगर निवासी साहित्यकार तथा समालोचक दधिराज सुवेदी दाजु हुनुहँुदो रहेछ ज्ञानराज सरको । टीका लगाउन विहानै जानु भएको रहेछ । घरमा उहाँका एकमात्र छोराबुहारी, नातिनातिना सँगभेट भयो । छोरा विनोद र बुहारी कविताले ठूलो हार्दिकताका साथ मलाई घरैमा आउन र एकछिन बस्न आग्रह गर्नु भयो । उहाँहरुको आग्रहलाई अस्वीकार गर्न सकिन र गएर बसेँ थ्याच्च कुर्सीमा । मजाले खुलेर कुराकानी गर्यौँ हामीले । छोरा विनोद नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखामा र बुहारी कविता सुरुङ्गा शाखामा काम गर्नु हुँदो रहेछ । सर्वत पानी र स्याउ खाएर उहाँहरुको एक स्न्याप फोटो खिचेर निस्किएँ त्यहाँबाट । ज्ञानराज सरका छोराबुहारीको हार्दिकतापूर्ण व्यवहारप्रति अनगृहित छु म । त्यहाँबाट विदा भए पश्चात् सुरुङ्गा पुल नजिक आइपुगेपछि पानी पर्न थाल्यो । वाइक रोकेर रेनकोट लगाएँ । सिधैँ चारपाने मेरो माइलो दाजुकोमा गएँ । पानी वेजोडसँग दर्किन थाल्यो । लगभग दुईघण्टा बस्ता पनि पानी कम नभएपछि रेनकोट भिरेर जुत्ता वाइकको डिकीमा राखेर दाजुको चप्पल लगाएर हुइँकिएँ चन्द्रगढीतर्फ ।

विर्तामोड दक्षिणको बाटो, पानी नै पानी, खाल्डाखुल्डीको हिसावै छैन । अन्दाजको भरमा वाइक चलाएर बेलुका ६ बजे मुसो भएर घर आइपुगेँ । यो बाटो बन्ने कुरा पनि एकादेशको कथा भएको छ । विकास निर्माणप्रति कसैको चासो छैन । चासो छ त केवल सत्ता र कुर्सीको मात्र । खै ! यो पाराले कहिले हुने हो देशको विकास । मैले चिन्ता गरेर के पो हुन्छ र ! चिन्ता गर्नेले नगरे पछि ।

जेहोस् , दशमीको दिन मजाले घुमफिर भयो, भेटघाट भयो । बाल्यकालका साथीदेखि अग्रज साहित्यकारसँगको साक्षात्कार । आफैँमा महत्वपूर्ण क्षण रह्यो । यसरी वडादसैँको खासगरी टीकाको दिन रमाइलोसँग व्यतित भयो मेरो । यो दिन निसन्देह मेरा लागि अविस्मरणीय बनेर रहनेछ । बिना टीकाको दशमीको दिन, घरमा नितान्त एक्लै । तर, यो घुमफिर र भेटघाटले एक्लोपनको महसुस हुन पाएन । रमाइलैसँग व्यतित भएकोमा खुसी मानेको छु मैले ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: