‘टेस्टट्युब बेबी’का स्रष्टालाई घरै पुगेर सम्मान

  प्रकाशित मिति
२८ भाद्र २०७७, आईतवार ०९:२४


मेचीनगर, २८ भदौ । ‘टेस्टट्युब बेबी’ लगायतका दुई दर्जन कृतिका रचनाकार तेजराज खतिवडा (तेराख) दीर्घ साहित्य सेवाबाट सम्मानित भएका छन् ।

साहित्य चौतारी झापाले शनिवार तेराखको घरमै पुगेर सामाजिक दूरीको मापदण्ड पालना गर्दै सम्मान प्रदान गरेको हो ।

मेचीनगर–९ निवासी खतिवडा प्रसिद्ध प्रगतिशील साहित्यकार हुन् । उनले कथा, कविता, निबन्ध, उपन्यास जस्तै ‘मय’ बिधा पनि हुने दावी गर्दै आएका छन् ।

त्यसैले उनलाई मय विधाका प्रवत्र्तक पनि मानिन्छ । माक्र्सबादी राजनीतिक दर्शनबाट प्रभावित तेराखका कृतिले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेको छ ।

उनका ‘सर्वजा’ उपन्यास, ‘ढाडेको नाकमा घिउ’ कथामय निबन्ध, ‘अवस्थल’ उपन्यास, ‘अझै यहाँ उस्तै छ’ नाटक, ‘रातको बाह्र बजे’ उपन्यास, ‘अलपत्रे फूलहरु’ कविता संग्रह, ‘टेस्टट्युब बेबी’ उपन्यासमय नाटक, ‘सिमीको बोट’ कथा संग्रह, ‘प्रिय शान्तिनगर’ काब्यलगायत दुई दर्जन कृति प्रकाशित छन् ।

चौतारीका सल्लाहकार हस्त परियारको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल रहेकी थिइन् भने चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ, स्रष्टाहरु फुर्वा योञ्जन, विनोद खनाल, भानु ओली, कुमार श्रेष्ठ, अनिरुद्र सिटौला लगायतको सो अवसरमा उपस्थिति थियो ।

सम्मानित प्रतिभा तेराखलाई सो अवसरमा सम्मान पत्र प्रदान गरिनुका साथै खादा र अबिर अर्पण गरिएको थियो ।

कोभिड–१९ को कहरबीच घरसम्मै आएर सम्मान प्रकट गरेकोमा साहित्यकार तेराखले साहित्य चौतारी र स्रष्टाहरुप्रति आभार व्यक्त गर्दै नयाँ पुस्तलाई साहित्य सिर्जनामा प्रोत्साहित गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्यकार देवीचरण भण्डारीले सम्मानपत्र वाचन गरेका थिए भने कृष्णप्रसाद पौडेलले सम्मानित स्रष्टाको परिचय प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: