टोकलामा मजदुर हटाउने कार्य रोक्न सांसद्को आग्रह

  प्रकाशित मिति
२३ पुष २०७५, सोमबार १७:२३


धुलाबारी । नेकपाका सङ्घीय सांसद् राम कार्कीले टोकला चिया बगानमा कार्यरत् मजदूरहरुलाई व्यवस्थापन पक्षले विभिन्न बहानामा रोजगारीबाट वञ्चित गर्न लागिरहेको घटनाप्रति आपत्ति प्रकट गरेका छन् ।

समाजमा सबैभन्दा उपेक्षित भएर श्रम गरिरहेका मजदुर वर्गको रोजीरोटी खोस्ने र उनीहरुलाई अन्याय गर्ने कुनै पनि कार्य सह्य नहुने सांसद कार्कीले बताएका छन् ।

आइतबार बिहान लोकतन्त्र पोस्टसंग धुलावारीस्थित आफ्नै निवासमा कुराकानी गर्दै सांसद् कार्कीले टोकला मात्र नभएर नेपाल चिया विकास निगम अन्तर्गतका कुनै पनि चिया बगान र उद्योगमा कार्यरत श्रमिकलाई हटाउने र जालझेलपूर्वक सेवाबाट वञ्चित गर्ने कार्य तत्काल रोक्न निगमको व्यवस्थापन पक्षलाई आग्रह गरेका छन् ।

‘चिया मजदूरको पीडालाई मैले नजिकबाट नियालेको छु, उनीहरु न्यून ज्यालामा काम गर्न बाध्य छन्’, सांसद् कार्कीले भने–‘उनीहरुको सेवा सुविधा थप्ने र रोजगारीको ग्यारेन्टी गर्नुको साटो विभिन्न बहानामा हटाउने भनी प्रपञ्च भइरहेको भए त्यसलाई अविलम्ब रोक्न म व्यवस्थापन पक्षलाई आग्रह गर्दछु ।’

सांसद कार्कीले नेपाल चिया विकास निगमलाई लिजमा दिदा निजी कम्पनीसँग भएको सम्झौता सार्वजनिक गर्न समेत माग गरेका छन् ।

झापा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् कार्कीले मजदुरहरुका लागि अलग्गै बैङ्क, अलग्गै श्रम अदालत र अलग्गै अस्पताल बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

निजी कम्पनीलाई चिया मजदूरका सन्दर्भमा विवेकपूर्ण ढङ्गले दायित्व निर्वाह गर्न आग्रह गर्दै सांसद् कार्कीले श्रमिकका सवालमाथि खेलबाड गरे त्यो टिक्न नसक्ने ठोकुवा गरे ।

सरकारलाई समेत उनले निजी कम्पनी वा मजदूर कसको पक्षमा लाग्ने हो कित्ता क्लियर गर्न आग्रह गरेका छन् ।

पूर्वी नेपालमा ठूलो क्षेत्र ओगटेको चिया बगान मास्ने क्रम सुरु भएको प्रति चिन्ता प्रकट गर्दै उनले त्यसलाई निरुत्साहित गर्न र चियाको अक्सन हाउस धुलवारीमा बनाउन सरकारको ध्यानाकर्षण गराइएको समेत स्पस्ट पारे ।

………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: