मेचीनगर, २९ भदौ । कञ्चनपुरमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारीसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा तीव्र गतिका बलर भण्डारी र करण ठगुन्ना छन् ।
आइतबार बेलुकी ७ बजे शुक्लाफाँटा नगरपालिका–१० झलरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अमरबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको स्कुटर महेन्द्रनगरबाट पूर्वतर्फ जाँदै थियो । सोही बेला विपरीत दिशाबाट आएको से १ ख १३२४ नम्बरको मिनी ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो ।
डिएसपी थापाका अनुसार भण्डारीको हात, कम्मर र टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम भएको र ठगुन्नाको सामान्य रहेको उनले बताए ।
उनीहरु दुवैलाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पताल लगिएको छ ।
प्रहरीले स्कुटर र मिनी ट्रक नियन्त्रणमा लिएको छ । मिनी ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
(सेतोपाटी)