मेचीनगर । यूनाइटेड नेपाल ट्रान्सपोर्ट भलाई एन्ड इन्भेस्टमेन्टले काँकरभिट्टामा १८ औँ शाखा स्थापना गरेको छ ।
बुधबार यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समस्या समाधानका लागि निष्कर्षसहित एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी शाखाको उद्घाटन गरिएको हो ।
शाखाको उद्घाटन प्रदेश नम्बर १ का सांसद झलकसिंह दर्लामीले गरेका थिए । सवारी दुर्घटनाका कारण धनजनको व्यापक क्षतिबाट विस्थापित हुन पुगेका व्यवसायीहरुको हितका लागि काँकरभिट्टामा यूनाइटेडले शाखा स्थापना गरेको संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद तिवारीले बताए ।
उनका अनुसार यसअघि यस संस्थाले बिर्तामोड, दमक, इटहरी, पाँचथर, ताप्लेजुङ, विराटनगर, धनकुटा, सप्तरी, बर्दिवास, नारायणघाट, जनकपुर, हेटौँडा, खुर्कोट–सिन्धुली, बुटवल, विरगञ्ज, पोखरा, नागढुङ्गा र धुलिखेलमा शाखा विस्तार गरेर सेवा प्रदान गर्दै आएको छ ।
तिवारीले कार्यक्रममा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । वि.सं. २०७१ सालमा स्थापना भएको संस्थामा हालसम्मम ६ हजार ३ सय वटा सवारी साधनहरु दर्ता भएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले संस्थालाई राज्यको नियम र कानुन अनुसार चल्न अनुरोध गरेका थिए ।
कार्यक्रममा विभिन्न यातायातसँग सम्बन्ध व्यक्तिहरुले संस्थाले विगतमा गरेका काम र भविष्यमा गर्नुपर्ने कामका बारेमा सल्लाह सुझाव दिएका थिए ।
संस्थाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड शाखाका संयोजक विष्णु सिटौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नगरका विभिन्न सङघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन यातायात व्यवसायी केवलराम राई र सञ्चारकर्मी टिकाराम नेतिले गरेका थिए ।