‘ठूला’ पम्पलाई ‘ठूलै’ भाग

  प्रकाशित मिति
१२ मंसिर २०७२, शनिबार ०६:२३


tal

विर्तामोड । मुलुकमा इन्धन सङ्कट चुलिएका बेला पूर्वमा आफ्नो अनुकूल हुने गरी पेट्रोयिलयम डिलर्स एसोसिएसनका पदाधिकारीले कोटा प्रणाली लागू गरेर आफ्नै भागमा धेरै इन्धन पारेका छन् ।

अभाव बढेका बेला सामान्यतया समानुपातिक वितरण प्रणाली अपनाउने गरिन्छ । तर मेचीका पम्पहरूले उपभोक्तालाई पेट्रोल र डिजेलको खुद्रा वितरण गर्दा समानुपातिक नीति लगाए पनि आफुले नेपाल आयल निगमबाट इन्धन लिँदा भने कोटा प्रणाली लागू गराएका छन् ।

मेची अञ्चलमा पेट्रोलियम पदार्थको विव्रmी गर्ने पम्प व्यवसायी(पम्प)हरूको सङ्ख्या ७० छ । भारतीय नाकाबन्दीपछि लागू गरिएको कोटा प्रणाली बमोजिम तेलको लगभग आधा भाग मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वत्र्तमान र पूर्व पदाधिकारी १० जनाले सञ्चालन गर्दै आएको ‘ठूला’ पम्पहरूले हत्याउने गरेका छन् ।

पेट्रोलियम पदार्थको कारोवारमा सङ्कटका बेलामा समेत ‘ठूला’ पम्पहरूको एकाधिकार भएकोमा ‘साना’ पम्प व्यवसायीहरू असन्तुष्ट छन् । भारतबाट आयल निगमले आयात गरेको तेल कुन पम्पलाई कति दिने भन्ने अधिकार आयल निगमको भए तापनि सङ्कटका बेला भन्दै अहिले यस्तो निर्णय निगम, जिल्ला प्रशासन र डिलर्स एसोसिएसनको सहकार्यमा हुन थालेको छ ।

साना पम्प व्यवसायीहरूका अनुसार ‘ठूला’ पम्पका सञ्चालकहरू नै डिलर्स एसोसिएसनको नेतृत्वमा रहेका कारण साना पम्प व्यवसायीको हितमा बोलिदिने कोही छैनन् ।

मेची पेट्रोलियम डिलर्स एसोसिएसनका पदाधिकारीहरूले सञ्चालन गरेको पम्पले नेपाल आयल निगमबाट गत असोज र कात्तिक महिनामा कोटामा पाएको पेट्रोल र डिजेलको मात्रा हेर्दा लगभग आधा भाग मुख्य १० जना पदाधिकारीको पम्पमा गएको प्रस्ट देखिएको छ ।

मुख्य पदाधिकारी १० जनाले कात्तिकमा ५० प्रतिशत र असोजमा ३९ प्रतिशत पेट्रोल आफ्नै पम्पमा पारेको देखिन्छ । डिजेलमा पनि उनीहरूकै हालीमुहाली छ । असोजमा ४५ प्रतिशत र कात्तिकमा ४२ प्रतिशत डिजेल उनीहरूकै ‘ठूला’ १० वटा पम्पमा गएको छ ।

मेची पेट्रोलियम डिलर्स एसोसिएसनका निवत्र्तमान अध्यक्ष चन्द्र डाँगीले विर्तामोडमा सञ्चालन गरेको सुगम आयल ट्र«ेडर्स र जय हनुमान ट्रेड कन्सर्न इन्धन धेरै हात पार्नेको पहिलो नम्बरमा परेको छ । डाँगी मेचीमा पेट्र«ोलियम पदार्थको कारोवारका हिसावले ‘तेलका राजा’ नै कहलिएका छन् ।

डाँगीको जय हनुमान ट्रेड कन्सर्नले असोज महिनामा सबैभन्दा बढी ७४ हजार लि.पेट्रोल निगमबाट पाएको छ । सोही पम्प कात्तिक महिनामा ३० हजार लि.लिएर धेरै पेट्रोल पाउनेको ‘टप टेन’ सूचीमा दोस्रो नम्वरमा छ ।

डाँगीको अर्को पम्प सुगमले असोजमा ३१ हजार र कात्तिकमा १३ हजार लि. निगमबाट अलग्गै पेट्रोल लिएको छ । सुगम पेट्रोलको ‘टप टेन’ सूचीमा असोजमा सातौँ र कात्तिकमा दशौँ स्थानमा रहेको छ ।

पेट्रोल र डिजेल पाउनेको ‘टप टेन’ सूचीमा एसोसिएसनका अध्यक्ष लयप्रसाद भण्डारीको जनकल्याण शिव स्टोर्स (बुधवारे), वरिष्ठ उपाध्यक्ष नविन कोइरालाको प्रनिक आयल स्टोर्स (मेचीनगर), उपाध्यक्ष टिकाराम पिठाकोटेको सगरमाथा आयल सेन्टर (दमक), महासचिव भूपाल कटुवालको माता पाथिभरा आयल सप्लायर्स (दमक) र सहकोषाध्यक्ष अमित सरियाको गणेश अटोमोवायल्स (विर्तामोड) अग्रपङ्तिमा रहेका छन् ।

एसोसिएसनका प्रभावशाली सदस्यहरू एकराज उप्रेतीको आस्मा ट्रेडर्स (चारपाने), विनोद चापागाइँको आर्या ट्रेड इन्टरनेसनल (चन्द्रगढी), विनोद बस्नेतको हनुमान पेट्रोलियम सप्लायर्स (विर्तामोड), श्रीप्रसाद मैनालीको मेट्रो ट्रेडिङ हाउस (चारआली), उत्तम श्रेष्ठको फिक्कल उत्तम स्टोर्स (फिक्कल) र प्रेमप्रसाद दाहालको मातृ आयल स्टोर्स (सुरुङ्गा) कोटा प्रणाली अन्तर्गत इन्धन पाउनेको ‘टप टेन’ सूचीमा परेका छन् ।

नेपाल आयल निगमको चारआलीस्थित शाखा कार्यालयको तथ्याङ्क अनुसार एसोसिएसनका निवत्र्तमान अध्यक्ष चन्द्र डाँगीको स्वामित्वमा रहेको सुगम आयल ट्रेडर्स गत असोज र कात्तिक दुबै महिनामा डिजल पाउनेको ‘टप टेन’ सूचीमा पहिलो नम्वरमा रहेको छ ।

सुगमले असोजमा १ लाख २८ हजार लि. र कात्तिकमा १ लाख ८ हजार लि. डिजेल निगमबाट पाएको छ । असोज महिनामा डिजेल पाउनेको ‘टप टेन’ सूचीमा एसोसिएसनका सल्लाहकार श्रीप्रसाद मैनालीको मेट्रो ट्रेडिङ हाउस दोस्रो नम्वरमा परेको छ । मेट्रोले असोजमा ७९ हजार लि. डिजेल निगमबाट लगेको छ । मेट्रो कात्तिक महिनामा डिजेलकै ‘टप टेन’ सूचीको सातौँ स्थानमा छ । उसले कात्तिकमा ५६ हजार लि. डिजेल पाएको थियो ।

डिजेलको ‘टप टेन’ सूचीको तेस्रो नम्वरमा एसोसिएसनका सहकोषाध्यक्ष अमित सरियाको गणेश अटो मोवायल्स परेको छ । कात्तिकमा गणेश पम्प डिजेलको वरियतामा दोस्रो नम्वरमा छ ।

सहकोषाध्यक्ष सरियाको सो पम्प पेट्रोलको ‘टप टेन’ सूचीमा असोजमा दोस्रो र कात्तिकमा तेस्रो स्थानमा परेको छ ।
एसोसिएसनका अध्यक्ष लयप्रसाद भण्डारीको जनकल्याण शिव स्टोर्स डिजेलको ‘टप टेन’ सूचीमा कात्तिकमा तेस्रो र असोजमा पाँचौ स्थानमा परेको छ भने पेट्रोलको ‘टप टेन’ सूचीमा कात्तिकमा छैठौँ र असोजमा आठौँ स्थानमा रहेको छ ।

उपाध्यक्ष टिकाराम पिठाकोठे (सगरमाथा आयल सेन्टर) गत कात्तिक महिनामा ‘तेलका राजा’ चन्द्र डाँगीलाई समेत उछिनेर ‘पेट्रोलका राजा’ बनेका छन् । उनले कात्तिक महिनामा सबैभन्दा बढी ३५ हजार लि. पेट्र«ोल हात पारेका थिए । जबकि सो महिना डाँगीको जय हनुमान पम्पले ३० हजार लि. मात्र पेट्रोल पाएको थियो ।

असोज महिनामा उपाध्यक्ष पिठाकोटेको पम्प पेट्रोलको ‘टप टेन’ सूचीमा तेस्रो स्थानमा छ भने डिजेलमा समेत उनको पम्प असोजमा सातौँ स्थानमा र कात्तिकमा छैठौँ स्थानमा सुरक्षित छ ।

वरिष्ठ उपाध्यक्ष नविन कोइरालाको प्रनिक आयल स्टोर्स डिजेलको ‘टप टेन’ सूचीमा असोजमा नवौँ स्थानमा, महासचिव भुपाल कटुवाल समेतको माता पाथिभरा आयल सप्लायर्स दशौँ स्थानमा रहेको छ ।

सल्लाहकार एकराज उप्रेतीको आस्मा ट्रेडर्स एन्ड सप्लायर्स डिजेलकै कात्तिकको ‘टप टेन’ सूचीमा छैठौँ स्थानमा रहेको छ भने पेट्रोलको असोज महिनाको ‘टप टेन’ सूचीमा नवौँ स्थानमा छ ।

कोषाध्यक्ष विनोद बस्नेतको हनुमान पेट्रोलियम सप्लायर्स पेट्रोलको कात्तिक महिनाको ‘टप टेन’ सूचीमा सातौँ स्थानमा र डिजेलको कात्तिक महिनाकै ‘टप टेन’ सूचीमा आठौँ स्थानमा परेको छ ।

एसोसिएसनका अध्यक्ष लयप्रसाद भण्डारी गत बर्षको असोज र कात्तिक महिनामा पम्पहरूले तेल खपत गरेको रेकर्डका आधारमा हाल त्यही अनुपातमा कोटा अनुसार वितरण गरिएको बताउँछन् ।

‘आफ्नै पम्पलाई धेरै पारिएको होइन’, कोटा प्रणालीको बचाउ गर्दै भण्डारी भन्छन्–‘गत बर्षको खपत अनुसार बाड्दा सबैले स्वीकार्नु प¥यो नि ।’ एसोसिएसनले लागू गरेको कोटा प्रणाली पारदर्शी पारदर्शी भएको भण्डारीको भनाई छ ।

कोटा वितरणमा सहभागी हुँदै आएका सहायक प्रजिअ डम्मरुप्रसाद निरौलाले कोटा प्रणालीबाट अन्याय भएको भन्दै साना व्यवसायी अहिलेसम्म नआएको र आएमा विचार गरिने बताएका छन् ।
एसोसिएसनमा साना व्यवसायीको कुरा सुनुवाई नहुने गुनासो गर्दै सङ्कटका बेला सबै पम्पले निगमबाट समानुपातिक रुपमा तेल पाउनु पर्ने एक जना साना पम्प सञ्चालक बताउँछन् ।
‘पोहोर कसले धेरै बेच्यो भन्ने आधार नै गलत हो’, ती साना पम्प व्यवसायी भन्छन्–‘अहिले जुनसुकै पम्पमा केही घण्टामै तेल बिकिसक्ने अवस्था छ ।’
आयल निगम समेत समानुपातिक तेल वितरणप्रति सकारात्मक छ । तर एसोसिएसनकै दवावमा कोटा प्रणाली लागिरहेको निगम स्रोत बताउँछ । मेची बाहेकका अरु डिपो तथा शाखामा कोटा प्रणाली लगाइएको छैन ।

उपभोक्ताहरू समेत समानुपातिक रुपमा सबै पम्पमा तेल बेच्ने व्यवस्था भए सहज हुने बताउँछन् । ‘एउटै पम्पमा घण्टौँ लाइन बस्नु पर्ने अवस्थाले गाह्रो भइसक्यो’, विर्तामोडको एक पम्पमा मोटरसाइकलमा पेट्रोल हाल्न लाइन बसेका शरणामतीका रामलाल राजबंशी भन्छन्–‘सबै पम्पमा पाएको भए सास्ती हुन्थेन ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: