ठूलो सङ्ख्यामा मुस्लिम समुदाय नेपाल भित्रिए

  प्रकाशित मिति
४ फाल्गुन २०७६, आईतवार १४:४९


मेचीनगर । पैदलमार्ग भएर पूर्वीनाका हुँदै नेपाल प्रवेश गर्नेहरुमाथि स्थानीय प्रशासनले निगरानी बढाउनुका साथै चेकजाँचमा समेत कडाइ गरेको छ ।

शनिबारबाट सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा सुरु भएको मुस्लिम समुदायको धार्मिक इस्लामिक सम्मेलन ‘इज्तिमा’ मा सहभागी हुन भारतका विभिन्न ठाउँबाट ठूलो सङ्ख्यामा मुस्लिम समुदाय नेपाल आउन थालेपछि तेस्रो मुलुकबाट मुस्लिम समुदायका प्रतिनिधि प्रवेश हुने आशङ्कामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पार्नुको साथै चेकजाँचमा कडाइ गरेको हो ।

तीन दिने सम्मेलनमा सुरुमा नेपाल र भारतका मुस्लिम मात्रै सहभागिता हुने भनेर अनुमति लिइएकामा तेस्रो मुलुकका सहभागी पनि आएपछि वा अन्य मुलुकका सहभागी आउन थालेपछि गृहमन्त्रालयले विहीबार सम्मेलन रोक्न निर्देशन दिएको थियो ।

तेस्रो मुलुकका प्रतिनिधिलाई सहभागी नगराउने आयोजकले जनाएपछि धार्मिक इस्लामिक सम्मेलन इज्तिमा ले अनुमति पाएको थियो ।

धार्मिक सम्मेलनमा सहभागी हुन भारतको आसाम, कुचविहार लगायतका स्थानबाट आसामी र भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरी दैनिक हजारौं मुस्लिम समुदाय धमाधम नेपाल छिरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार शुक्रवार केही समयसम्म उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको भएपनि तेस्रो मुलुकबाहेक भारतका विभिन्न सहरबाट आउने मुस्लिम समुदायलाई उनीहरुको परिचय पत्र हेरेर प्रवेश गर्न दिएको छ ।

भारतबाट अरु मुलुकका सहभागीलाई पूर्वी नाकाबाटै फर्काउने तयारी स्थानीय प्रशासनको छ ।

शुक्रबारदेखि उनीहरु नेपाल आउन सुरु गरेको भएपनि शनिबार हजारौंको सङ्ख्यामा मुस्लिम समुदाय नेपाल प्रवेश गरेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार शनिबार मध्यान्हसम्म साना र ठुलागरी १५० वटा सवारी साधनमा करिव ६ हजारबढी मुस्लिम समुदाय नेपाल प्रवेश गरेका छन् ।

नेपाल छिर्नेमा बृद्धबृृद्धादेखि युवा युवतीसमेत छन् ।

पाकिस्तान, बङ्गलादेश लगायतका मुलुकबाट सहभागी आउन सक्ने सम्भावनाका कारण पूर्वीनाकामा प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलसहित सुरक्षा अधिकारीहरुको टोली सक्रिय छ ।

सशस्त्र र नेपाल प्रहरीको सुरक्षा दस्ता नाकामा बाक्लैरुपमा परिचालन गरिएको छ । काँकरभिट्टा नाका भएर धार्मिक सम्मेलनमा सहभागी हुन आउनेका लागि मेचीनगरको काँकरभिट्टा, धुलावारीमा बस्ने पिउने पानी खाजालगायतको व्यवस्था नेपाल मुस्लिम सङ्घ जिल्ला समिति झापाले मिलाएको समितिका उपाध्यक्ष एजाज अहमद अन्सारीले बताए ।

मेचीनगर–६ स्थित काँकरभिट्टाको हिकोला चोकमा आराम गर्नका लागि पाल टाँगेर राखिएको छ ।

काँकरभिट्टाबाट नेपाली नम्बर प्लेटका सवारी साधनमा राखेर उनीहरलाई कार्यक्रम स्थल सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरसम्म पुर्याउने व्यवस्था मिलाइएको उपाध्यक्ष अन्सारीले जानकारी दिए ।

धेरैले भन्सार दस्तुर तिरेर भारतीय तथा सामी नम्बर प्लेटका सवारी साधन लिएर सम्मेलन स्थल जान थालेको भन्सारले जनाएको छ ।

धार्मिक सम्मेलनमा धर्मगुरु मौलना मोहम्मद साद कान्थली लगायतले प्रवचन दिने उनको भनाइ छ ।

उक्त सम्मेलनमा नेपाल र भारतका २ लाख बढी सहभागी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: