ठेकेदारको लापरबाहीले भवन अलपत्र

  प्रकाशित मिति
३ चैत्र २०७२, बुधबार ०४:३६


Capture

धाइजन । ठेकेदार कम्पनीले काम छाडेर हिँडेपछि धाइजनको बलभद्र उच्च माविको निर्माणाधीन भवन अलपत्र परेको छ । भारतीय दुतावासको सहयोग रहेको भवनको निर्माण कार्य रोकिएपछि विद्यालय प्रशासन अलपत्र भवन हेरेर बस्न बाध्य छ  ।

चारवटा ब्लक अन्तरगत दुई तले भवन बनाउने जिम्मा तुलसीभक्त निर्माण सेवा कम्पनीले लिएको थियो । तर, निर्माण कम्पनीले बिचैमा सम्झौता तोडेपछि काम रोकिएको हो । निर्माण कम्पनीसँग दुई करोड ६६ लाख रुपैयाँमा भवन बनाउने सम्झौता भएको थियो ।

१५ महिनाभित्र २२ कोठे नयाँ भवन बनाउने सहमति भए पनि अहिलेसम्म २५ प्रतिशत मात्र काम भएको विद्यालयले जनाएको छ । कम्पनीले विभिन्न बहानामा काम रोकेपछि भवन अलपत्र परेको विद्यालय शिक्षक अभिभावक सङ्घका सदस्य नरेश बोहोराले बताए । ‘काम रोकिएको विषयमा सम्बन्धित निकायमा पुगेर जानकारी गरायौँ’, उनले भने, ‘तर, कतैबाट चित्त बुझ्दो जवाफ आएको छैन ।’

विद्यालयको पुरानो भवन जीर्ण बन्दै गएपछि नयाँ भवन निर्माणका लागि विद्यालले पहल थालेको थियो । भवन निर्माणका लागि विद्यालयले प्रपोजल पेश गरेपछि भारतीय दुतावासले भवन बनाइदिने भएको थियो । दुतावासले लगानी गरेपछि समयमै भवन बन्ने निश्चित भएपछि विद्यालयको पुरानो भवन भत्काइएको थियो ।

नयाँ भवनमा विद्यार्थी राखेर पढाउने योजना अधुरै रहेको विद्यालयका प्रधानाध्यापक गोबिन्दबहादुर डाँगीले बताए । पुराना भवन जीर्ण भएकाले वर्षातको समयमा पठनपाठनमा समस्या हुने गरेको उनले बताए  । ‘भवन कामै नलाग्ने भएका छन्’, डाँगीले भने, ‘पानी चुहिने समस्याले गर्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ ।’

दुई बिघा क्षेत्रफलमा रहेको विद्यालय हँडिया खोलाको किनारमा रहेको छ । बर्सेनि खोलामा आउने बाढीले विद्यालको भूभाग कटान गरिरहेको छ । तटबन्ध र भवन बनाउने सहमति भए पनि दुवै काम रोकिएपछि विद्यालय क्षेत्र नै कटानको जोखिममा परेको छ । ६२ लाख रुपैयाँमा तटबन्ध बनाउने सोही कम्पनीले विद्यालयसँग सम्झौता गरेको थियो । तर, तटबन्ध बनाउने काम हुन सकेको छैन ।

विद्यालयबाट ५० मिटरको दूरीमा पर्ने हँडिया खोलाले कटान गर्दा विद्यालयको एक बिघा जमिन बगरमा परिणत भएको छ । भवन र तटबन्धनको काम निर्माण कम्पनीले रोकेपछि विद्यालय प्रशासनले भारतीय राजदुतावासलाई ज्ञापनपत्र बुझाउने तयारीमा छ । काम रोकिएको विषयमा राजदुतावासलाई जानकारी गराउने पक्षमा पुगेको विद्यालय व्यवस्थापन समितिका सदस्य होमप्रसाद ढकालले बताए ।
सिमान्तकृत तथा लोपोन्मुख समुदायको बसोबार रहेको धाइजन क्षेत्रको बलभद्र जिल्लामा उत्कृष्ठ विद्यालयको रुपमा परिचित छ । विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । तर, भवन समयमै नबन्दा विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: