‘डर्टी गेम’बाट दिक्क पूर्वमन्त्री भन्छन्–‘अब राजनीतिमा फर्किन्न’

  प्रकाशित मिति
१७ चैत्र २०७६, सोमबार १२:५७


मेचीनगर । पूर्व माओबादी नेता एवम् पूर्व मन्त्री लोकेन्द्रबहादुर विष्टले अब आफू राजनीतिमा नफर्किने पनि बताएका छन् ।

राजनीति छोड्नुको कारण राजनीतिमा फोहोरी काम हुने, षडयन्त्र बढी हुने र महँगो हुँदै गएको उनको टिप्पणी छ । उनले पछिल्लो समय राजनीतिमा अपराध हुन थालेको पनि बताए ।

आफू अब कृषकका रूपमा व्यवसाय सुरु गरेकोले बाँकी जीवन कृषिकर्ममा नै बिताउने उनले बताए ।

स्वच्छ छवि र लडाकु स्वाभावका उनी राजनीतिमा रहँदा प्रचण्डका निकट र विश्वासपात्र थिए । अहिले उनलाई प्रचण्डले नेकपामा आउन फकाइरहेका छन् । धेरैले उनी विप्लबसँग नजिक भएको अड्काल लगाएका थिए । तर उनी नेकपा र विप्लव कतै पनि गएका छैनन् ।

कुनै बेला बन्दुक बोकेका पूर्वमन्त्री विष्ट गर्छन् चाहिँ के ? उनको हातमा अहिले बिहान बेलुकै कुटो र कोदालो देखिन्छ । ५६ वर्षीय विष्ट गएको चार वर्षदेखि कृषि पेशामा रमाएका छन् । उनी बाँकी जिन्दगी किसान बनेर बिताउने बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ को मैरवा गाउँमा उनले गरेको ड्रागन फलको खेती देखेपछि त्यो बाटो भएर हिँड्ने सबै दङ्ग पर्छन् ।

माटोमै रातदिन खटिरहेका विष्टले वर्षौंदेखि खाली र उजाड जमिन अहिले हरियाली बनाएका छन् । जिल्लामै पहिलो पटक भित्रिएको ड्रागनको खेतीले छोटै समयमा उनलाई सफल कृषकका रूपमा पनि स्थापित गरेको छ ।

उनको ड्रागनबारी तुलसीपुर–घोराही सडक खण्डको छेउमा पर्छ । त्यसैले पनि तुलसीपुरबाट घोराही या जिल्लामा लामो तथा छोटो दुरीका यातायात साधनबाट यात्रा गर्ने हुन् वा निजी मोटर कार तथा मोटरसाइकलमा यात्रा गर्नेले पनि आफ्नो सवारी साधन रोकेरै ‘पूर्वमन्त्रीले गरेको खेती’ भनेर हेर्ने गरेको पाइन्छ ।

पूर्वमाओवादी नेता विष्टको राजनीतिक यात्रा चारदशक पछि आएर बिराम लागेको छ र यतिखेर उनको पहिचान पनि किसान भएको छ । विष्ट सांसद र दुईपटक मन्त्री समेत बनिसकेका छन् ।

उनले यहाँको ५६ कठ्ठा जमिन भाडामा लिएर ड्रागन फलको खेती गरेका छन् । सेतो र रातो जातका सात हजार विरुवा लगाइएको छ । निकै फस्टाएका ती विरुवाले आगामी साउनबाट फल दिनथाल्ने उनी बताउँछन् ।

भियतनामबाट सो विरुवा ल्याएर रोपेको बताउने विष्टले यहाँका जिल्लावासीलाई फलसमेत भियतनामबाटै ल्याएर चखाइसकेका छन् ।

स्थानीय बजारमा सो फल प्रतिकेजी ७ सय ५० देखि १ हजार ५०० रुपैयाँमा बिक्री हुने गर्दछ । ड्रागन फल सिउँडी जातको फल हो । नेपालमै उत्पादन सुरु भएको यो फल ठूला होटलहरूमा डेजट (खानापछिको फलफूल) का रूपमा प्रयोग गरिन्छ ।

यस फलबाट फेसवास, वाइन, जाम, चकलेट, बिस्कुट र पाउडर बनाउन पनि सकिने विष्टले बताए । उनका अनुसार यो फल फल्न थालेपछि लगातार वर्षमा ५ देखि ७ पटकसम्म फल्ने गर्दछ । यो रातको समयमा फल्ने भएकाले यसलाई ‘रातकी रानी’ भनेर पनि चिन्ने गरिन्छ ।

यसको बकोटबाट हाँगा काटेर पनि रोप्न सकिन्छ । त्यस्तै यसको बिरुवा बलियो नहुने भएकाले यसलाई अडाउन सिमेन्टको सानो पोल त्यसमाथि मोटरसाइकलका पुराना टायर राख्ने राखिन्छ । यसको खेती तराइदेखि भित्रिमधेस तथा एक हजार ५ सय मिटर अग्लो स्थानमा पनि गर्न सकिन्छ ।

यो फल अहिले नेपालमा विदेशबाट ९५ प्रतिशत आउने गरेको छ । विष्टसमेत तीन जनाले एक करोड रूपैयाँ लगानीमा यो फलको खेती सुरू गरेका हुन् ।

मन्त्री विष्टले यस फलको खेतीमा फाइदा देखेका छन् । भन्छन्, ‘करिब १५ वर्षमा हामी जनही चार करोड रुपैयाँ फाइदा बाँड्न सक्ने अवस्थामा पुग्ने हामीहरूको लक्ष्य छ ।’

नेपालमा कृषि कर्ममा नै राम्रो सम्भावना देखेको पूर्वमन्त्री विष्टको भनाई छ । त्यसमा पनि ड्रागन फलको खेती नेपालजस्तो देशका लागि कमाई हुने खेती हो उनले भन्नुभयो ।

यस्तो महँगो फलको खेती गरी विदेश निर्यात गर्न सकिएमा देशको गरिबी निवारणमा ठूलो सहयोग पुग्ने उनको सुझाव छ । ड्रागन खेती भित्री तराई–मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ ।

अहिले रोपेको विरुवाले २०÷२५ वर्षसम्म फल दिने गर्दछ । यसको एक बोटबाट ३ देखि ५ किलोसम्म फल लाग्छ र एक मौसममा करिब ५० क्वीन्टलसम्म फल्ने गर्दछ ।

यो फल करिब १८ वर्षअघि नेपालमा भित्रिएको जानकारी दिँदै उनले विश्वका अरु कैयौँ देशमा यो फलको माग बढी मात्रामा रहने गरेको अनुभव सुनाए । विष्ट भन्छन्, ‘अहिले संसार ड्रागन फ्रुटमय भएको छ, यो फलमा मानव शरीरमा रोगसँग लड्नसक्ने तत्व पाइने भएकाले पनि संसारमा यसको महत्व बढ्दै गएको उनले बताए ।

नेपालमा कृषि क्षेत्रलाई पर्यटनसँग जोड्नका लागि ठूला कृषि फर्महरू सञ्चालन गर्नुपर्ने विष्टको सुझाव छ । उनी भन्छन्, ‘कृषि आफैमा पर्यटकीय गन्तव्य भएकाले नेपालको बाँझो जमिनमा नयाँ–नयाँ खेती गर्नसके उत्पादकत्व बढ्ने मात्र नभएर पर्यटकीय गन्तव्यको पनि विकास हुने छ ।’

धितो राख्ने जमिन नहुँदा ऋण नपाएको बताउने उनले नेपालमा खेती एवम् कृषि कर्म गर्ने किसानलाई सरकारले विनाधितो सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने बताए ।

‘यसरी सरकारले विनाधितो ऋण प्रवाह गर्नसके सानोतिनो जागिरका लागि युवा खाडीमा पुगेर दुःख गर्नै पर्दैन,’ उनले भने । देशको अर्थतन्त्रलाई मजबुत बनाउन पनि सरकारले कृषि कर्मलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

(राससले प्रकाशित गरेको पुरानो समाचार सम्पादनसहित प्रकाशित गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: