‘डाइफ्राम’ च्यातिएकी टेकरानीलाई बचायो बीएन्डसीले

  प्रकाशित मिति
११ कार्तिक २०७५, आईतवार १९:२७


विर्तामोड । दुर्घटनामा परी कलेजो र फोक्सोलाई सुरक्षा दिने पेटभित्रको ‘डाइफ्राम’ च्यातिएकी पाँचथरकी ४९ वर्षीया टेकरानी आङ्बोलाई उपचार गरेर बचाइएको छ ।

गत असोज १४ गते फिदिमबाट घर जाँदै गर्दा टेम्पो दुर्घटनामा परेर भारपा–७ की टेकरानी गम्भीर घाइते भएकी थिइन् ।

घटनास्थलमै बेहोश भएकी उनलाई परिवारले उपचारका लागि विर्तामोडको वीएन्डसी टिचिङ हस्पिटल ल्याएको थियो ।

छातीको दुई वटा करङ समेत भाँचिएकी उनको कलेजो र फोक्सो ‘डाइफ्राम’भित्र घुसेको थियो ।

परिवारले समेत आश मारिसकेको अवस्थामा पुगेकी टेकरानीको बीएन्डसीका वरिष्ठ न्यूरो सर्जन डा. बासुदेव बाँस्कोटाको नेतृत्वमा चिकित्सकको टीमले शल्यक्रिया गरेको थियो ।

जटिल र दुर्लभ शल्यक्रिया पश्चात उनको उपचार सफल भएको छ । पुरै स्वस्थ अवस्थामा उनलाई आइतवार हस्पिटलले पत्रकारहरु सामू सार्वजनिक गर्यो ।

‘फिदिमबाट भारपा जाने टेम्पोमा चढेकी थिएँ भन्नेसम्म थाहा छ’, उपचारपछि स्वस्थ भएकी टेकरानीले आइतवार पत्रकार सम्मेलनमा भावुक हुँदै भनिन्–‘एक्कासी व्यूँझिदा बीएन्डसीको आइसीयुमा पो रहेछु ।’

उनले उपचारमा खटिएका डाक्टरहरुको टीम र हस्पिटल परिवारप्रति कृतज्ञता जनाइन् ।

उपचारमा बीएन्डसी हस्पिटलका सर्जरी विभागका डा. बासुदेव बाँस्कोटा, डा. अमितकुमार साह, डा. रविनरत्न बज्राचार्य र डा. सन्देश दाहाल संलग्न रहेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।

डा. बाँस्कोटाले ‘डाइफ्राम’ च्यातिएको विरामीको सफल उपचार विश्वमै दुर्लभ र मेडिकल साइन्सको महत्वपूर्ण उपलब्धिको रुपमा लिइने बताए ।

उनको पहिलो शल्यक्रियामा ३ घण्टा लागेको र ३ पटक शल्यक्रिया गर्नु परेको बाँस्कोटाले जनाए ।

डा. सन्देश दाहालले जर्मन जस्तो अत्याधुनिक सुविधासम्पन्न मुलुकको हस्पिटलमा समेत ८ वर्षमा १४ वटा यस्ता विरामीको उपचार भएको पाइएको जनाउँदै अब विश्वस्तरीय उपचार बीएन्डसी हस्पिटलमा सम्भव भएको बताए ।

विश्वमै दुर्लभ मानिएका उपचारहरु बीएन्डसीमा सफल हुनु मेची अञ्चलवासीका लागि खुशीको विषय भएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई बताउँछन् ।

सामान्य आर्थिक अवस्थाकी टेकरानी आङ्वोलाई उपचारका लागि वीएन्डसीमा ल्याइँदा परिवारले पैसा बोकेर आएका थिएनन् ।

‘डिपोजिट गर्ने पैसा साथमा नहुँदा समेत हस्पिटलले उहाँको उपचारमा कुनै कमी हुन दिएन’, हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरी भन्छन्–‘बीएन्डसी महँगो भयो भनेर बाहिर हल्ला चलाइएको छ, तर हामीले कतिपय अवस्थामा विना डिपोजिट समेत उपचार गरिरहेका छौँ ।’
………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: