मेचीनगर । आम्दा मेची अस्पताल धुलाबारीका डाक्टरसहित ४ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
आम्दाका एकजना डाक्टर र धाइजनको आइसोलेसनमा बसेका मेचीनगर–१० का ६० र २४ वर्षीया महिला तथा एक जना १३ वर्षीय बालकको स्वाबको नमुनाको रिपोर्ट नेगेटिभ आएको हो ।
आइतबार धाइजनको आइसोलेसनमा बसेका तीनै जनालाई मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक नविन बरालले फुल दिएर घर पठाएका छन् ।
उनीहरुको भदौ ४ गते स्वाबको नमुना संकलन गरेर मेची प्रादेशिक अस्पातल भद्रपुर पठाइएको थियो ।
भद्रपुरबाट आज चारै जनाको रिपोर्ट नेगेटिभ आएको संयोजक बरालले जानकारी दिए ।
उनीहरुलाई १४ दिन घरैमा सुरक्षित भएर बस्न बरालले आग्रह गरे ।
यसअघि धाइजनको आइसोलेसनबाट ७ जना निको भएर घर फर्किएका थिए ।
योसँगै मेचीनगरमा अस्पतालबाट निको भएर घर फर्किनेको संख्या ९६ जना पुगेका छन् ।
हालसम्म मेचीनगरमा कोरोना संक्रमित १०६ जना छन् ।
।। अर्जुन कार्की ।।