डेङ्गु नियन्त्रण प्रयास ‘युद्धस्तरमा’

  प्रकाशित मिति
११ कार्तिक २०७३, बिहीबार ०८:३२


damak-1विर्तामोड, ११ कात्तिक । झापाको दमक क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढे पनि सरकारले नियन्त्रणको प्रयास अत्यन्त तदारुकताका साथ गरिरहेको छ ।

एक साता अघि सङ्क्रमितहरू अलि अलि गर्दै बढ्दै गएका हुन् । हाल झापामा सङ्क्रमितको कूल सङ्ख्या सय नाघेको छ ।
सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई दमक क्षेत्रमा एक सातादेखि निरन्तर परिचालन गरेर रोग नियन्त्रणको प्रयास जारी राखेको छ भने स्वास्थ्य मन्त्रालयबाटै आएको विशेषज्ञ टोली समेत खटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख देबराज कार्कीले नियन्त्रणको प्रयास युद्धस्तरमा भइरहेको जनाएका छन् । ‘हाम्रो ध्यान दमकमा छ’, कार्की भन्छन्–‘सङ्क्रमितको पहिचान, उपचार र लामखुट्टे नियन्त्रणमा सरकारी टोलीले युद्धस्तरमा कार्य गरिरहेको छ ।’

डेङ्गु रोग लामखुट्टेको टोकाइबाट फैलने भाइरसजन्य रोग हो । मान्छेबाट मान्छेमा यो नसर्ने तर सङ्क्रमित मान्छेलाई टोकेको लामखुट्टेले अर्को मान्छेमा भाइरस फैलाउने विज्ञहरूको भनाइ छ ।

धमाधम बिरामी बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले रोग प्रभावित क्षेत्रमा केन्द्रबाटै चिकित्सक र प्राविधिक टोली खटाउनु परेको जनाइएको छ ।
झापामा ३ वर्ष अघि पनि डेङ्गु सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको थियो । सन् २०१२ मा बढेका सङ्क्रमितहरू मेचीनगर क्षेत्रका थिए । अहिले दमकमा धेरै पाइएको छ ।

dengue-2स्वास्थ्य मन्त्रालयले दमकमा डेङ्गु जाँचका लागि आवश्यक कीटसहित डा. यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डबलबहादुर बीसीलाई खटाएको छ ।

उनीहरूले त्यहाँ पुगेर डेङ्गु नियन्त्रणका लागि काम गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

मङ्गलबार किट विशेषज्ञ पनि झापा आइपुगेका छन् । किट विशेषज्ञको सहायताले सङ्क्रमितको पहिचान जिल्लाबाटै सजिलै हुन थालेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार किटको सहायताले सामान्य रोगीको पहिचान भए पनि भाइरसको परीक्षण भने केन्द्रीय प्रयोगशाला टेकुमा मात्र हुन्छ ।

रोग प्रभावित क्षेत्रमा ‘सर्च एन्ड डिस्ट्रोएड’ अभियान पनि सञ्चालन गरिएको छ । टोलीले डेङ्गु फैलाउने लामखुट्टेका लार्भा नस्ट गर्ने कार्य गर्दछ ।

डेङ्गु रोक्नका लागि लामखुट्टे नियन्त्रण नै एकमात्र उपाय भएकाले त्यसका लागि आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालय झापाले सर्वसाधारण सबैलाई आह्वान गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख देबराज कार्कीले यस्तो बेलामा सबै सरोकारवाला निकाय र सर्वसाधारणको सहयोग जरुरी हुने र त्यसबाट प्रकोप नियन्त्रणमा सघाउ पुग्ने बताएका छन् ।

dengueदमकमा डेङ्गु रोगबाट बच्नका लागि सचेतना कार्यक्रमलाई जनस्वास्थ्य कार्यालयले तीब्र तुल्याएको जनाएको छ । सर्वसाधारणमा सचेतना बढेका कारण सबै विरामी सम्पर्कमा आएको हुनसक्ने र त्यसो हुँदा नियन्त्रण सजिलो नै हुने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

डेङ्गुले सन् २००६ मा नेपालमा पहिलोपल्ट महामारीको रूप लिएको थियो । अरू लामखुट्टे भन्दा फरक प्रकृतिको एडिज नामको लामखुट्टेको टोकाइबाट यो रोग फैलिने गर्छ ।

सफा र स्थिर पानीमा अन्डा पार्ने उक्त पोथी लामखुट्टेले आफ्नो अन्डाको विकासका लागि दिउँसोको समयमा मानिसको रगत चुस्ने गर्छ ।
श्रीलङ्कामा गरिएको पछिल्लो अनुसन्धानले यी लामखुट्टे विशेषगरी पानी सङ्कलन गर्ने कन्टेनर, फालिएका टायर, गमला, कुलो तथा पानी भरिएका खाल्डामा हुने गर्छन् । डेङ्गुको सङ्क्रमण भएमा ५ सय गुणा बढी डेङ्गु ‘हेमोरेजिक’ ज्वरो हुने पुष्टि भएको छ ।

डेङ्गु सङ्क्रमणले रगतमा असर पर्ने र प्लेटलेट्सको सङ्ख्या अत्यधिक कम हुँदा जटिलता बढ्छ । पछिल्लो समय नेपालमा डेङ्गु सार्ने सबै प्रकारका भाइरस पाइनु र सङ्क्रमण दर बढ्दै जानु चुनौती बनेको छ ।
सामान्य झुल हालेर वा लामो कपडा लगाएर लामखुट्टेबाट बच्न सकिन्छ ।

झापामा सङ्क्रमितको सङ्ख्या सय नाघे पनि यी एकैपटक विरामी भएका होइनन् । अहिलेसम्मका विरामीको सङ्ख्या त्यति पुगेको कारण अहिले नै सर्वसाधारणले आतङ्कित हुन नपर्ने जनस्वास्थ्य प्रमुख कार्कीको भनाई छ ।

सामान्य रोगीलाई चिकित्सकले ज्वरो रोक्ने सिटामोल औषधि खाँदै घरैमा बसेर प्रशस्त झोलिलो खानेकुरा खान सुझाव दिदै आएका छन् भने गम्भीर प्रकृतिका रोगीलाई मात्र हस्पिटलमा भर्ना गरेर उपचार गरिदै आएको छ ।

हाल दमक अस्पतालमा भर्ना गरेर केही विरामीको उपचार भइरहेको छ भने कतिपय रोगी विर्तामोडको वीएन्डसी, मनमोहन, दमकको लाइफलाइन, आम्दा लगायतका हस्पिटलमा उपचारार्थ भर्ना भएको पाइएको छ ।

(लोकतन्त्र पोस्टमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: