डेढसय वर्ष अघि पनि देश बेचेको आरोप

  प्रकाशित मिति
१८ माघ २०७६, शनिबार १४:२३


मचीनगर । राजनीतिक वृत्तमा बेलाबेला देश बेचेको आरोप लगाइने गरेको छ । सत्तामा रहनेलाई लगाइने आरोपबाट प्रतिपक्षी पनि अछुतो छैनन् ।

तर ताज्जुवको तथ्य के भेटिएको छ भने आजभन्दा १६२ वर्ष अघि पनि देश बेचेको आरोप लाग्ने गरेको रहेछ । पत्रकार राजकुमार दिक्पालको ‘आदिबासी विद्रोहको इतिहास’ नामक भर्खरै प्रकाशित पुस्तकमा प्रथम सहिद लखन थापाले तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणालाई देश बेचुवाको आरोप लगाएका रहेछन् ।

किताको पृष्ठ ७१ मा क्याप्टेन लखन थापाको भनाई यस्तो भेटियो–
‘जङ्गेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राही त्राही पारिरहेको छ, जातपात, छुवाछुत झन् चर्काएको छ । जङ्गेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ । नेपालमा सत्य युग फिराऊ, मनकामना देवीले मलाई बरदान दिएकी छन् । भाइ हो । तयार होऔं ।’

म्लेच्छ भनेर थापाले अङ्ग्रेजलाई इङ्गित गरेका हुन् । वि.संं १९१४ तिर भारतमा भएको सिपाही विद्रोहलाई दमन गर्न नेपालबाट फौज लिएर स्वयम् जङ्गबहादुर राणा लखनउ गएका थिए । जङ्गबहादुरले विद्रोहलाई दवाए । त्यसपछि सिपाही विद्रोहीसँग सम्पर्क भएका क्याप्टेन लखन थापामा त्यस्तै विद्रोह गर्न पाए राणा शासन हटाउन सकिने सोच पलाएको थियो । उनले भित्रभित्रै सैन्य सङ्गठन निर्माण गरेर विद्रोहको तयारी गरिरहेका थिए । राणा शासकका सुराकीहरुले सुइँको पाएपछि थापाको हत्या भयो ।

नेपाली इतिहासको गर्भमा अनेकौं विद्रोह र आन्दोलनका घटना अप्रकाशित छन् । पत्रकार राजकुमार दिक्पालले लिम्बुवान विद्रोह लगायतका थुप्रै आदिवासी सङ्घर्षको गर्भबाट तिनै अप्रकाशित इतिहास खोजेर किताब बनाएका छन् । किताबको नाम नै ‘आदिबासी विद्रोहको इतिहास’ राखिएको छ ।

मञ्जरी प्रकाशनले छापेको सो किताब नेपालका जनजातिहरुले गरेको विद्रोहको सत्यतथ्य जान्न जिज्ञासु सबैका लागि अति उपयोगी छ । पुस्तकको मोल पनि धेरै छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: