मेचीनगर । जीवन विष्ट अपहरण काण्डका नामले चर्चित घटनाका सबै अभियुक्त अदालतको आदेशमा धरौटी राखी थुनामुक्त भएका छन् ।
दुई अभियुक्त पहिल्यै धरौटीमा रिहा भइसकेका थिए भने बुधवार रिहा हुनेहरुमा भूपू कान्छा भनिने अजय राई, राजु कुँवर, तेजेन्द्र न्यौपाने र प्रेम न्यौपाने रहेका छन् ।
२०७३ माघ १२ गते शनिश्चरेका जीवन बिष्टलाई बन्धक बनाई विर्तामोडको भद्रपुर रोडमा रहेको उनको १५ करोड मूल्यको जग्गा हडप्न जबर्जस्ती जग्गा पासको कागज बनाइएको उनीहरुमाथि अभियोग लागेको थियो ।
जीवन बिस्टको जग्गा प्रेम न्यौपानेको नाममा पास गराइएको थियो । यही आरोपमा उनीहरुलाई प्रहरीले २०७३ चैतमा पक्राउ गरी अपहरण र ठगीको मुद्दा झापा जिल्ला अदालतमा दर्ता गराएको थियो ।
इलामस्थित पुनरावेदन अदालतले एक आदेश जारी गरी चारै जनालाई धरौटीमा रिहा गरेको हो । चन्द्रगढी कारागारमा रहेका उनीहरुलाई बुधवार रिहा गरिएको थियो ।
रिहा भएपछि बुधवार अपरान्ह बाहुनडाँगीका अजय राई र राजु कुँवर काँकरभिट्टामा देखिएका थिए । रिहा भएपछि उनीहरुलाई लिन तरुण दलका विभिन्न कार्यकर्ता चन्द्रगढी कारागारसम्मै झुम्मिएका थिए ।
स्रोतका अनुसार अदालतले अपहरण मुद्दामा साधा तारिखमा र ठगी मुद्दामा जनही ५० लाखदेखि डेढ करोड रुपैयाँसम्म धरौटी लिई उनीहरुलाई थुनामुक्त गरेको हो ।
सोही मुद्दामा मुछिएका उत्तम कोइराला र रुद्र सापकोटा सुरुमै धरौटीमा मुक्त भइसकेका छन् ।
धरौटीमा थुनामुक्त भएकामध्ये तेजेन्द्र न्यौपाने जिल्ला प्रशासन कार्यालयका तत्कालीन खरिदार हुन् भने प्रेम न्यौपाने भद्रपुरका व्यवसायी हुन् । सापकोटा नापी कार्यालयका खरिदार हुन् ।
सोही मुद्दामा मुछिएका तत्कालीन एक मन्त्रीका निजी सहायक राजु आचार्य तथा तत्कालीन पत्रकारद्वय पुजन घिमिरे र शम्भु दाहाल हालसम्म फरार रहेका छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)