विर्तामोड । सीटीइभीटीबाट अनुमति नलिई विर्तामोडमा डेन्टल कोर्सका विभिन्न कक्षा सञ्चालन गर्दै आएको विर्तामोड इन्स्टिच्यूट अफ डेन्टल साइन्स प्रालि (विर्तामोड डेन्टल हस्पिटल)का सञ्चालक पुरुषोत्तम भण्डारी ठगी आरोपमा पक्राउ परेका छन् ।
डेन्टल कोर्स सञ्चालनको नाममा हस्पिटलले ६० जना विद्यार्थीसँग ५० लाख रुपैयाँभन्दा बढी रकम असुलेको आरोप लागेको छ । हस्पिटलको दर्ता विर्तामोड–६ निवासी ५२ वर्षीय पुरुषोत्तम भण्डारीको नाममा भए पनि उनका छोराहरू डा. आशिष भण्डारी र डा. अमिन भण्डारीले हस्पिटलको सञ्चालन गर्दै आएका थिए ।
विर्तामोडको कृषिथोक जाने बाटोमा विष्णुप्रसाद उप्रेतीको घरको माथ्लो तलाको फ्ल्याट भाडामा लिएर भण्डारी परिवारले विगत दुई वर्षदेखि ‘विर्तामोड डेन्टल’ सञ्चालन गर्दै आएका थियो । उनीहरूले एसएलसीका विद्यार्थीलाई लक्षित गरेर निकालेको विज्ञापनमुखी पर्चामा ‘पूर्वाञ्चलमै पहिलोपल्ट सीटीइभीटीबाट मान्यता प्राप्त’ भन्ने विशेषता प्रयोग गरेका थिए ।
पढ्ने विद्यार्थीसँग ७२ हजारदेखि १ लाख ५ हजार रुपैयाँसम्म असुलेका हस्पिटल सञ्चालकले १५ महिना पढाएर सीटीइभीटीको प्रमाणपत्र दिन नसकेपछि सञ्चालकको ‘ठगी धन्धा’को खुलासा भएको थियो । त्यसपछि पीडितले हस्पिटल सञ्चालकविरुद्ध कार्वाहीको माग गर्दै झापा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा प्रशासनले दुईतर्फी कुरा बुझेर सञ्चालकलाई कार्वाही गर्न कडा निर्देशन दिएपछि भण्डारीलाई बुधवार विर्तामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी भीम दाहालले जानकारी दिए ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले सीटीइभीटीको अनुमति नलिई हस्पिटल सञ्चालन गरेको पाइएपछि कार्वाहीका लागि प्रहरीलाई निर्देशन दिइएको बताएका छन् ।
‘विद्यार्थीहरूको पैसा, समय र उर्जाको शोषण गरेको पाइएको कारण थुनेर कार्वाही गर्नु भनी प्रहरी कार्यालयमा मुद्दालाई पठाइदिएका छौँ’, सहायक प्रजिअ सापकोटाले भने–‘हामीले सीटीइभीटीमा पनि बुझ्यौँ, स्वीकृति लिएर काम गरेको पाइएन ।’
हस्पिटलले दुई व्याचका गरी ६० विद्यार्थीबाट मनपरी रकम असुलेको थियो । हस्पिटलबाट डेन्टल कोर्ष पूरा गरेका विद्यार्थीहरूले सीटीइभीटीको प्रमाणपत्र नपाएपछि मात्र आफुहरू ठगिएको पत्तो पाएको गोलधाप–३ घर भएकी पीडित विद्यार्थी सुनिता गुरुङ बताउँछिन् ।
नेपाल विद्यार्थी सङ्घ झापाका सभापति राजेन्द्र उप्रेती र अखिल व्रmान्तिकारी झापाका अध्यक्ष रवि बस्नेतले हस्पिटलको ‘ठगी धन्धा’प्रति ध्यानाकर्षण भएको विज्ञप्ति प्रकाशित गर्दै दोषीमाथि कडा कानूनी कार्वाही गर्न र पीडित विद्यार्थीलाई क्षतिपूर्तिसहित रकम फिर्ता गर्न माग गरेका छन् ।
विद्यार्थी सङ्गठनहरूले हस्पिटलको मूल गेटमा तालाबन्दी गरेका छन् । उनीहरूले दोषीमाथि कडा कार्वाही नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
यसैवीच, ‘सीटीइभीटीबाट सम्बन्धन प्राप्त’ लेखिएको हस्पिटलको साइनवोर्ड बुधवार राति अज्ञात समूहले च्यातेर फ्याँकेको छ । हस्पिटल सञ्चालकहरूले नै अपरिचित हुल पठाएर साइनवोर्ड च्यातेको हुनसक्ने विद्यार्थीहरूले आशङ्का गरेका छन् ।