डेरामा सुरक्षा चासो

  प्रकाशित मिति
१ श्रावण २०७३, शनिबार १२:३४


 

bhupendra dahalडा तिरेर सम्झौताबमोजिम बसिने घरलाई सामान्य अर्थमा डेरा भनिन्छ । आज भोलि आम मानिसको जीवन शैलीकै अभिन्न अङ्ग बनेको पाइन्छ डेरा । कामको खोजीमा विभिन्न ठाउँ पुग्नुपर्ने, विद्यार्थीले अध्ययनको लागि विभिन्न सहरमा वस्नुपर्ने , छोराछोरीलाई स्तरीय शिक्षा दिनका लागि गाउँबाट सहरमा बस्नुपर्ने आदि विभिन्न कारणले डेरा संस्कृतिलाई अझ व्यापक बनाएको पाइन्छ । अझ कतिपय अवस्थामा घरमा छोराछोरी बाबुआमासँग बस्न नसकेर वा नचाहेर यो वा त्यो बहाना बनाएर पनि डेरामा बस्ने चलन बढेको पाइन्छ ।

नेपालको जन गणना २०६८ को तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालको कुल जनसङ्ख्याको करिब १२.८१ प्रतिशत मानिसहरु डेरामा बस्छन् भने सहरमा करिब ४०.२२ प्रतिशत मानिस तथा काठमाडौँमा ५८.५५ प्रतिशत मानिस डेरामा बस्ने गरेको पाइन्छ । हुन त जन गणनामा डेरामा बस्ने मानिसको लगत देखाएमा डेरा भाडा बापतको कर तिर्नुपर्ने कारणले पनि यो तथ्याङ्क कम देखाइएको ÷दिइएको हुन सक्दछ । अर्कोतिर यसको मात्रा दैनिक बढिरहेको देखिन्छ । त्यसैले पनि अहिलेको समयमा डेरा एउटा ज्वलन्त र महत्वपूर्ण चासोको विषय बनेको छ । यसको मापदण्ड, स्तरीयता , सहज पहुँच तथा सुरक्षाको प्रत्याभूतिको बारेमा सरोकारवालाको चासो केन्द्रित हुनुपर्ने खाँचो देखिएको छ ।

गोदाम जस्तो घर, बाहिर हावा खाने, बालबच्चा खेल्ने आँगन नभएको, कम्पाउन्ड वाल नभएको, भूकम्प र अन्य जोखिमबाट सुरक्षित नरहेको, ट्वाइलेट, पानी, लुगा सुकाउने पर्याप्त व्यवस्था नभएको अझ पाउना आउन नहुने जस्ता समस्यामा जेलिएका अवस्थामा पाइन्छन् धेरै डेराहरु । सुरुमै घर मालिकको इच्छानुसार पैसा तिर्नुपर्ने र सुविधा अभावमा बसोवास गर्नुपर्ने अवस्थामा धेरै डेरावासीको व्यथा पाइन्छ । कति पैसा तिरे कुन ठाँउमा कस्तो डेरा पाउन सकिन्छ भन्न सक्ने कुनै निकाय छैन । न त सुरक्षा ग्यारेन्टी नै । बाध्यात्मक रुपमा बस्नुपर्ने अवस्थामा यति सारो बेवास्ताले वास्तवमा डेराबासीहरु पीडित हुन्छन् र हाम्रो स्थानमा भने नियति नै यस्तै यस्तै रहेको छ ।

हुन त डेरामा बस्नेले नि अर्काको घरमा बसेर आफूले निर्वाह गर्नुपर्ने भूमिका पुरा नगर्ने, अनावश्यक होहल्ला गर्ने, घरका सामग्रीको सुरक्षा नगर्ने जस्ता यावत् समस्या छन् । कतिपय घरधनीहरु यावत् सुविधा डेरावालालाई उपलब्ध गराउँदा गराउँदै तिनीहरुबाटै प्रताडित हुनुपरेको यथार्थ पनि हाम्रा सामु देखिएकै छन् । यद्यपि यसको नियामक निकाय नहुनु, समन्वयकारी निकायको अभाव हुनु यसका प्रमुख समस्याहरु हुन् ।

कतिपय अवस्थामा मानिसको डेरा छनौटको अवस्था सम्भव हुने तथा नबस्दा समेत हुने भए तापनि कतिपय अवस्थामा विकल्प रहित डेरामा बस्नुुपर्ने अवस्था रहेको पाइन्छ । यस्तो अवस्थामा प्रयोग गरिने कोठा अथवा फ्ल्याट वा घर सुरक्षित विश्वसनीय, सुविधायुक्त हुनुपर्दछ । यसको लागि नियामक निकाय हुनु पर्दछ ।

घरको लगत सँगसँगै स्थानीय निकायमा डेरा बस्ने मानिसको समेत सम्पूर्ण लगत लिइनुपर्ने, निजले लिएको डेराको बारेमा सम्बन्धित घरधनीले जानकारी गराउँनु पर्ने र डेरामा बस्न चाहनेले समेत स्थानीय निकायबाट सो सम्बन्धी विवरण पाउन सक्ने व्यवस्था भएमा डेराबासी तथा घरधनी मात्र सुरक्षित, विश्वसनीय तथा आनन्ददायी नभएर राज्यको करको दायरा बढ्ने, सही तथ्याङ्क प्राप्त हुने, आपराधिक व्रिmयाकलाप नियन्त्रणमा समेत मद्दत पुग्ने कुरामा दुई मत रहँदैन । त्यसैले यस्ता कुरामा सम्बन्धित सबै पक्षको चासो केन्द्रित हुनु आजको लागि अत्यावश्यक भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: